Wednesday, November 24, 2010

गोपाल भुटानी - अन्तिम इच्छा - नेपाली नागरिकताबन्ने इच्छा अधुरै छोड़ी अन्तिम सैयामा

नेपाली फिल्मका कलाकार गोपाल भुटानीको मंगलबार बौद्ध परम्पराअनुसार स्वयम्भुमा अन्तिम संस्कार गरिएको छ। द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले भुटानीलाई दागबत्ती दिएका थिए। भुटानीका नातेदार कोही नभएकाले उनका चेला खड्गीले दागबत्ती दिएका हुन्।
लामो समयदेखि अल्सरबाट पीडित भुटानी एक महिनाअघि भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएका थिए। कमजोर शरीरका कारण केमियोथेरापी गर्न नसकेकाले आराम गर्न उनलाई घर पठाइएको थियो। तर, उनको अवस्थामा सुधार आउन सकेको थिएन।

दुई वर्षअघि भुटानीको आन्द्रामा क्यान्सर भएको थियो। पछिल्लो समय उनलाई सुगरले समेत सताएको जनमैत्री अस्पतालका निर्देशक डाक्टर रवीन्द्रप्रसाद राजभण्डारीले जानकारी दिए।

'दुई दिनअघि उहाँलाई यहाँ ल्याइएको हो। अवस्था यति नाजुक थियो कि इन्डेसकोपी गर्न पनि सकिएन,' उनले भने।
दुईपटक उनको आन्द्राको शल्यक्रिया गरिएको थियो। स्वयम्भुको सुकुम्बासी बस्तीमा बस्दै आएका भुटानीलाई अन्तिम अवस्थामा छिमेकीहरूले हेरचाह गरेका थिए।

फिल्मका कलाकार, प्राविधिक, निर्माता र निर्देशक उनलाई अन्तिम श्रद्धाञ्जलि दिन स्वयम्भु पुगेका थिए। नागरिकता नदिएर भुटानीको अन्तिम इच्छा पूरा नगरेकोमा धेरैले सरकारको आलोचना गरे।
गृहमन्त्रालयका पदाधिकारीले नागरिकताको आश्वासन दिए पनि कार्यान्वयनमा ध्यान नदिएको आरोप द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले लगाए। 'हिजोमात्र म काम कहाँ पुग्यो भनेर बुझ्न गृह मन्त्रालय गएको थिएँ। गृहमन्त्रीले सही गर्न बाँकी छ भनेर फर्काइदिए,' उनले नागरिकसँग भने, 'विकास बोर्डदेखि प्रधानमन्त्रीलाई बिन्ती गर्दा पनि काम भएन।'
नेपालको इलाममा जन्मिएका भुटानी भारतको मुम्बई हुँदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उनलाई निर्देशक स्वर्गीय प्रकाश थापाले फिल्म 'मनको बाँध'का लागि नेपाल ल्याएका थिए। करिब ४० वर्षअघि नेपाल आएका भुटानी भारत फर्किएनन्। 'मनको बाँध'बाट अभिनय थालेका भुटानीले प्रकाश थापाकै निर्देशन रहेको फिल्म 'जीवनरेखा'बाट द्वन्द्व निर्देशन सुरु गरेका थिए। नेपाली फिल्ममा फाइट राख्ने परम्पराको श्रेय भुटानीलाई दिइन्छ।
फिल्ममा कला निर्देशन र इन्डोर सुटिङको परम्परा पनि उनैले सुरु गरेका थिए। उनको सहायक भएर काम गरेका राजेन्द्र खड्गी फाइट निर्देशनमा अग्रपंक्तिमा पर्छन्। उनले भुटानीलाई गुरु एवं प्रेरणाको स्रोत मान्दै आएका छन्।
भुटानीले अभिनय एवं कला निर्देशन गरेको फिल्म 'गोर्खापल्टन' चलिरहेको छ भने 'जलजला'को पोस्ट प्रोडक्सन भइरहेको छ।

No comments: