Tuesday, November 23, 2010

CNN HERO - ANURADHA KOIRALA


मंसिर ५ – ‘तपाईहरुको यो सहयोग मेरा कामका लागि थप जिम्मेवारी हो’ आँशु पुछिन् र उनले भनिन्, ‘यो जघन्य अपराधलाई हामीले अन्त्य गर्नु पर्छ, आउनुस् हात मिलाउँ……….युवाहरुलाई सम्मान गरौं । जो नयाँ पुस्ताको निर्माण गर्दै छन् । धेरै धेरै धन्यवाद ।’ ... यो यौन दासी बनाउनका लागि हुने महिला तथा बालिकाहरुको तस्करी रोकथाम तथा उद्दारमा गरेको योगदानका लागि ‘सीएनएन हिरो २०१०’ घोषणा गरिंदा अनुराधा कोइरालाले दिएको मन्तव्य हो ।
सीएनएनले छानेका विश्वभारका दश जना उत्कृष्ट कर्मबीरहरु मध्ये उनी वायाँतिरको छेउमा उभिएकी थिइन् । सबैको हातमा हिरो (नायक) लेखिएको कार्ड थियो । कस्ले त्यो कार्ड उचाल्न पाउने हो, ति दशलाई मात्र होइन, उपस्थित ५ हजार दर्शकलाई मात्र पनि शनिबार राती त्यतिनै कौतुहल थियो । सीएनएनका एण्डरसन कपरले जव सन् २०१० को सीएनएन हिरोको नाम उच्चारण गर्न लाग्दै थियो, खचाखच हजारौ दर्शकले भरिएको अमेरिकाको लसएञ्जलसस्थित त्यो हलमा करिव करिव सन्नट्टा छायो ।
‘यस बर्षको सीएनएन हिरो अनुराधा कोइराला’ एण्डरसनले भूमिका नबाँधिकनै घोषणा गरे । तालीको गड्गडाहड बीचमा अनुराधाले हातको कार्ड उचालिन् । तर, उनको अनुहारमा खच्मचियो । उनका आँखाबाट आँसु झरे । सायद उनले त्यो सम्मान ग्रहण गर्दा बेचिएका नेपाली चेलीहरु सम्झिइन् । उनी बिस्तारै संहालिइन् र ड्यासतर्फ अघि बढिन्, छोटो मन्तव्य दिइन् र फेरी आँसु पुछिन् । एण्डरसनले कार्यक्रममै उनलाई एक लाख डलर (करिव 72 लाख रुपैयाँ) अनुदानको घोषणा गरे । यो रकम अरु ९ जनाले पनि पाउने २५ हजार डलर (करिव १७ लाख ५० हजार रुपैयाँ) बाहेकको हो ।
सीएनएनले कोइरालाले करिव १२ हजार महिला तथा बालिकाहरुलाई यौन दासताबाट उद्दार गरेको अनलाइनमा उल्लेख गरेको छ । आठ सातासम्म अनलाइनमा भोटका लागि राखिएको १० जना मध्ये सबैभन्दा धेरै मत पाएका अनुराधा यस वर्षको ‘सीएनएन हिरो’ घोषित बनिन् । करिव २० लाखले मत हालेका थिए ।
अनुराधा माइती नेपालकी संस्थापक हुन् । उनले करिव २० बर्षदेखि मानव बेचबिखनका विरुद्ध अनवरत संघर्ष गर्दै आएकी छन् । खास गरेर भारतीय बेश्यालयहरुमा बेचिएकी महिला तथा बालिकाहरुको उद्दार तथा बेचिनबाट रोक्नु माइती नेपालको प्रमुख काम रहँदै आएको छ । माइती नेपालले उद्दार मात्र होइन, उनीहरुको लागि अवास तथा पुनस्थापनाको व्यवस्था गर्दै आएको छ ।

No comments: