Wednesday, November 24, 2010

दरबार हत्याकाण्ड

कोपनहेगन (डेनमार्क), मंसिर ८ - युवराज दीपेन्द्र र उनकी प्रेमिका भनिएकी देवयानीबीच प्रेमालाप भइरहेको थियो । यी दुईबीचको प्रेम रानी ऐश्वर्यालाई चित्त बुझ्दैन । उनी देवयानी त्याग्न दीपेन्द्रलाई आग्रह गर्छिन् । त्यसलाई अस्वीकार गर्दै दीपेन्द्रले भन्छन्, 'म उनलाई माया गर्छु र उनीसँगै बिहे गर्छु ।' यत्तिकैमा देवयानी बाहिरिन्छिन् । अर्कोतिर दरबारमा सौहार्दपूर्ण वातावरणमा राजपरिवारको जमघट भइरहेको छ । राजा वीरेन्द्र, ऐश्वर्या, दीपेन्द्र, नीराजन, श्रुति, पारसलगायत त्यहाँ छन् । त्यहाँ दीपेन्द्र र देवयानीको विवाह हुन नसक्ने कुरा हुन्छ । यसबाट निराश दीपेन्द्र भित्रबाहिर गरिरहन्छन् । त्यसपछि के भयो, त्यो इतिहासमा अंकित छ ।
नेपाली दरबारको यो विध्वंसक विगत कोपनहेगनमा शनिबार मञ्चन गरियो । जेष्ठ १९, २०५८ ('जुन १, २००१') मेलो ड्रामालाई मञ्चमा प्रस्तुत गरेका थिए कमेडिया अन्तर्राष्ट्रिय नाट्य विद्यालयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सात देशका रंगकर्मीले । ११ कलाकारको अभिनय हेर्न विभिन्न देशका करिब तीन सय दर्शक जुटेका थिए ।   
देवयानीको भूमिकामा डेनमार्ककी क्याटि्रना प्रेमी थिइन् भने कोलम्बियाका आरोन स्याम्चेस दीपेन्द्र बनेका थिए । पारसलाई घिमिरे युवराजले जीवन्त तुल्याएका थिए । आइसल्यान्डकी हाप्ला रातो साडीमा सजिएर ऐश्वर्या बनेकी थिइन् । पोर्चुगलकी सिसेलिया, आइसल्यान्डकै योन माग्नेस, डेनमार्कका थोमससमेत नेपाली कथामा उत्रेका थिए ।   
'तीन महिनाको रिहर्सल थियो,' युवराजले भने  । आफ्नो देशको ठूलो सत्य घटनाबारे नाटक प्रदर्शन गर्नुपर्ने कमेडियाको प्रचलनअनुसार आफूले दरबार हत्याकाण्डलाई रोजेको उनले बताए ।

No comments: