
अम्बरले नौलाख तारा उदाए जस्ता कालजयी गीतका साथै रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो भन्दै राष्ट्रिय जागरणको गीत समेत गाउनुभयो । प्रणय भावले ओतप्रोत गीत…. उकाली चढ्दा पसिना पुछ्ने, तिमी नभए अरू को होला…. गएर स्रोतहरु माझ जनमजनम भर छाउनुभयो । फेरी गणतान्त्रिक नेपालको राष्ट्रिय गानमा पनि संगीत भरेर नेपाली संगीतको स्तम्भ बन्नुभयो ।

पुर्ख्यौली घरगोरखाको रिसिङ भए पनि भारतीय सेनामा काम गर्ने शिलशिलामा हजुरबुबा भारत गएका र पछि आफ्नो बुवाले पनि सोहि बाटो अपनाएको कारण भारतमै स्थाई बसोबास गर्नु परेकोले उनको बि. सं. १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा जन्म भएको थियो।
बीस वर्षको उमेरमा उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता दुई गीत सार्वजनिक गरेका थिए। उनले रेकर्ड गरेको पहिलो गीत भने साहित्यकार अगमसिंह गिरीको गीत ‘नौलाख तारा उदाए’ हो । यो गीत रेकर्डगर्नु पूर्व नै दार्जिलिङमा प्रख्यात भैसकेको थियो। राजा महेन्द्रले यो गीतको धून सुनेर २०२५ सालमा आफ्नो जन्मोत्सव मनाउन अम्बर गुरुङ्ग सहित गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल लगायतका सांगीतिक कलाकार टोली दार्जिलिङबाट बोलाए थिए । तर यहि गीतलाई भारतमा भने प्रतिबन्ध लगाएको थियो।
हजारभन्दा बढी गीतमा संगीत भरेका अम्बरका कतिपय गीत त अझै पनि रेकर्ड भएका छैनन् । तथापि जति छन्, त्यसैले पनि उनको उचाइलाई आकार दिएको छ । पूर्वीय संगीतमा पश्चिमा शैलीलाई ‘फ्युजन’ उनले नेपाली संगीतलाई नयाँ मार्गमा हिँडाइदिए । उनले विभिन्न साहित्यकारका गीति नाटकमा पनि संगीत दिएका छन्। साथै थुप्रै नेपाली चलचित्रहरुमा समेत संगीत दिएका छन्। त्यसो त उनी गायन, संगीत र गीत लेखनका साथै साहित्य लेखनमा पनि सक्रिय थिए । उनको ‘कहाँ गए ती दिनहरू’ नामक संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित छ । जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, गोरखा दक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी पुरस्कारलगायत प्राप्त गरेका उनलाई हङकङमा बस्ने नेपालीहरूले आयोजना गरेको कार्यक्रममा ‘महासंगीतकार’समेत घोषणा गरिएको थियो ।
No comments:
Post a Comment