Friday, September 22, 2017

स्वास्थ्य रहन औषधि र भिटामिन भन्दा खानेकुरामा विचार गरौँ ।

बिभिन्न अंगहरुले गर्ने काम तथा प्रकृतिको आधारमा हाम्रो शरीरलाई बिभिन्न भिटामिनहरुको आवश्यकता पर्दछ। त्यसरी शरीरलाई आवश्यक पर्ने सबै भिटामिनहरु हामीले दैनिक उपभोग गर्ने तथा खाने भोजन अनि खानेकुराहरुबाट नै उपलब्ध हुन्छ। यो कुरा सबैलाई थाहा भएपनि हामी नै अनुसरण गर्दैनौ। साथै हाम्रो स्वास्थ्यलाई हानी पर्याउने रेडिमेड तथा जंक फुडहरु बढी खान रुचाउदछौँ। यस्ता खानेकुरहरु मिठो र सर्वसुलभ भएपनि
स्वास्थ्यलाई भने बढी हानी पुर्याउछ। त्यस्तै हामीले दैनिक उपभोग गर्ने भोजन तथा खानेकुराहरुमा पौष्टिक तत्वयुक्त आहारहरुलाई  मिलाएर खाएनौ भने हाम्रो शरीरले अत्यावश्यक भिटामिनहरु प्राप्त गर्न सक्दैन र बिभिन्न रोगहरुले हामीलाई दुख दिन थाल्छ। त्यसैले हामीले आफ्नो खानपानमा बिशेष ध्यान दिनुपर्छ। यिनै कारणहरुलाई मध्यनजरमा राख्दै कुन खानेकुरा के को लागि उपयुक्त हुन्छ र त्यसमा के कस्ता भिटामिनहरु पाइन्छ र के कस्तो अवस्थामा हामीले के कस्तो खानेकुरा खादा उपयुक्त हुन्छ त्यस सम्बन्धमा छोटो जानकारी प्रस्तुत गरिएको छ जुन सबैको लागि उपयोगि हुनेछ ।  
  

खुट्टाको मसल्स दुख्ने वा तन्किएमा 

हाम्रो खुट्टाको मसल्स तन्किएर वा फर्किएर अथवा बौडिएर दुखेको प्रायः सबैले सुनेको देखेको वा भोगेको
हुनु पर्छ। त्यस्तो शरीरमा क्याल्सियम तथा पोटासियमको कमीले गर्दा हुन्छ। हामीले दैनिक उपभोग गर्ने केरा, बदाम, फर्सी, स्याउ तथा हरियो तरकारीहरुमा प्रसस्त मात्रामा क्याल्सियम तथा पोटासियम पाइन्छ।  त्यसैले भोजनमा यी खानेकुरा एवम् फलको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ।

ओठ फुट्न थालेमा 

जाडोको मौसम वा धुलो उड्ने समयमा प्रायः ओठ फुट्ने समस्यले सबैलाई सताएको हुन्छ।  त्यसरी ओठ फुट्ने कारण जाडो तथा धुलोले भन्दापनि हाम्रो शरीरमा आइरन, जिंक र भिटामिन B-12 को कमी भएर हो । यो कुरा सबैलाई थाहा नहुन सक्छ । यदि तपाईहरुको पनि समय समयमा ओठ फुटी रहन्छ भने हुन् सक्छ तपाईहरुमा पनि आइरन, जिंक र भिटामिन B-12 को कमी भएको हुनसक्छ। अतः त्यसको समाधानको लागि आइरन, जिंक र भिटामिन B-12 तत्व प्रसस्त पाइने खानेकुराहरु जस्तै: अण्डा, भेडे खुर्सानी, बन्दाकोबी र दलहरु प्रसस्त मात्रामा उपभोग गर्ने गर्नु पर्दछ। 

अनुहार चौरी परेमा 

भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएमा हाम्रो अनुहारको छाला पहेलो देखिने, फुस्रो हुने, चाया पोतो देखापर्ने र छालामा बिभिन्न खराबीहरु समेत देखा पर्न सक्छ। अतः यस्तो लक्षण तपाइको अनुहारमा देखिएको छ भने बुझ्नुहोस् तपाईको शरीरमा भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएको छ र त्यसकोलागी तपाईले आफ्नो भोजनमा उसिनेको अण्डा, बन्दाकोबी, Dry Fruits, सुन्तला र केराहरु प्रसस्त मात्रामा समावेश गर्नु पर्ने हुन्छ । 
टाउको दुख्ने, थाक्ने समस्य भएमा  

आलश्य वा थाकेको जस्तो हुने, टाउको दुख्ने समस्या प्रायः हामीले देखेका सुनेका छौ र तपाईलाई पनि
त्यस्तो अल्छि लाग्ने, थाकेको जस्तो हुने तथा टाउको दुख्ने समस्याले सताई रहन्छ भने कतै भिटामिन 'B', म्याग्नेसियमको कमी भएको छैन ? समयमै विचार गर्नुहोला। किनकी हाम्रो शरीरमा भिटामिन 'B' र म्याग्नेसियमको कमी भयो भने शरीर थाक्ने तथा टाउको दुख्ने हुन्छ। अतः भिटामिन 'B' र म्याग्नेसियम प्रसस्त मात्रामा हुने केरा, पालुंगो, बदाम, सिमी, जस्ता फल तथा तरकारीहरू आफ्नो खानामा समावेश गर्ने गर्नुहोस। 

हात खुट्टा सुन्निने समस्या छ भने  

शरीरमा भिटामिन 'B-6, B-9 र B-12 को कमी भएमा नर्वस सिस्टममा असर गर्छ र त्यसले हाम्रो हात खुट्टा सुन्निन्छ। यदि तपाईमा पनि यस्तो समस्या छ भने त्यसको समाधानको लागि आफ्नो भोजनमा पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरलाई दैनिक रुपमा समावेश गर्न थाल्नुहोस। किनकी पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरमा प्रसस्त मात्रामा भिटामिन 'B-6, B-9 र B-12 पाइन्छ। 

कपाल झर्छ भने 

यदी तपाईको कपाल झर्न थालेको छ, मुलायम र चम्किलो पनि देखिदैन भने होस् गर्नुहोस, तपाईको शरीरमा  भिटामिन 'B-7', जिंक र प्रोटिनको कमी भएको कारण यस्तो भएको हुनसक्छ । यस्तो भएको खण्डमा भिटामिन 'B-7', जिंक र प्रोटिन प्राप्त गर्न आफ्नो खानाको साथमा अण्डा, गेडागुडी, दाल, बदाम, चना, Dry Fruits (नट्स) तथा फर्सीको बियाँ आदीको समेत प्रयोग गर्नुहोस। किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'B-7', जिंक र प्रोटिन पाइन्छ। 
वजन घट्नु 
बिना कारण तपाईको तौल धेरै नै घटीरहेको छ र ढाड, कम्मर, हात खुट्टाको जोर्नीहरू दुख्छ भने तपाईको शरीरमा भिटामिन 'D' को कमी भएको हुनसक्छ। यदि त्यसो हो भने तपाई आफ्नो खानोको साथमा माछा, अण्डा, चीज, च्याउ आदी समेत खान थाल्नुहोस।  किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'D' पाइन्छ र साथै सुर्यको किरणबाट समेत हामी भिटामिन 'D' प्राप्त गर्न सक्छौ। घाम  अझै बिहानी पाखाको पहेलो घाम भिटामिन 'D' को प्रमुख प्राकृतिक श्रोत हो। 
तेसैले विचार गर्नुहोला आफुमा के कस्तो लक्षण देखापरेको छ, माथि लेखिए अनुसारका लक्षण देखियो भने घरैमा एकपटक आफ्नो आहारमा ध्यान पुर्याउदा समेत ठुलो फाइदा पुग्न सक्छ। साथै रोग लागेर उपाय अपनाउनु भन्दा प्रत्यक दिन आफ्नो खानामा उपरोक्त अनुसारका खानेकुराहरु समावेस गरेर भोजन गर्दा रोगबाट सदा सुरक्षित रहन सकिन्छ।  विचार गरौँ। 
स्वास्थ्य खाना खाऔँ, अनि स्वास्थ्य रहौं।   


Sunday, September 10, 2017

लाटीको छोरो ! एउटा उत्कृष्ठ नाटक ।

(नाटक समिक्षा)
धेरै लामो अन्तरल पछि रंगमंचमा गएर नाटक हेर्ने मौका जुरेकोले मण्डला थिएटर अनामनगरमा गएर शनीवार नाटक हेरियो। । श्याम शाहको मुख्य कथालाई सुलक्षण भारतीले नाट्य लेखन(रुपान्तर) तथा निर्देशन गरेर एउटा सुन्दर अनि नाटक प्रेमी दर्शकहरुको हरर्र भएको आँतलाई तृप्त पार्ने गरी नाटक लाटीको छोरो लाई पस्केका छन् भन्दा अत्युक्ति नहोला ।
एउटा पिछडिएको समाजमा बस्ने सोझा बोल्न नसक्ने निरही नगरिकहरु र त्यहि समाजमा बस्ने गन्यमान्य उच्च घराना तथा ठुला ब्यापारी र नेताहरु बिचको विभेद अझ यसलाई समाजमा रहेका उच्च स्तर र निम्न स्तरका मानिसहरु बिचको विभेद, साथै समाजमा बस्ने त्यस्ता तल्लो स्तरका समूदाय माथि समाजका माथिल्लो बर्गले हेर्ने दृष्टिकोण र उनलाई गर्ने असमान व्यवहारलाई प्रस्तुत गरिएको छ नाटक लाटीको छोरोमा ।
नाटकको पृष्ठ भूमिमा देखाईएको परापूर्व काल देखिको एउटा डोम बस्ती जसलाई पछि सुन्दरपुर नामाकरण गरिन्छ। नाम परिवर्तनगरी सुन्दरपुर राखिए पनि त्यस बस्तीमा असुन्दर रहनसहन, असहाय गरिब निमुखा र तल्लो जाती माथि हुने थिचोमिचो अनि सामाजिक, राजनैतिक तथा प्रशासनीक चलखेल नै नाटकको प्रमुख बिषय हो। कथा अनुसार डोम बस्तीबाट पछि बनेको सुन्दरपुर बस्तीमा सुष्तमनस्थिती भएकी लाटी बलात्कारको शिकार हुन्छिन् । कसले बलात्कार गर्यो ? (थाहा पाउन अवश्य नाटक हेर्नुहोला),
लाटी गर्भवती हुन्छे। त्यसपछि प्रशासनिक र राजनैतिक चलखेल पनि सुरुहुन थाल्छ। एक अर्कालाई शंकाको नजरले हेर्न थालिन्छ। समय बित्दै जादा बिस्तारै बलात्कार कसले गर्यो भन्ने रहश्य पनि खुल्दै जान्छ । समय पुगेपछि लाटीले छोरो जन्माउछिन् । छोरो ठ्याक्कै, …. सँग अनुहार मिल्छ । को सँग मिल्छ ? (नाटक हेर्नु पर्छ थाहा पाउन), यसरी लाटी लाई कसले बलात्कार गर्यो ? वास्तविक दोषि को हो ? रहस्य खुलेपछि के हुन्छ ? थाहा पाउन उत्सुक हुनुहुन्छ भने मण्डला थिएटरमा गएर अवश्य हेर्नुहोला, नाटक लाटीको छोरो .नाटक निकै राम्रोसँग उनिएको छ, साथै रोचक प्रस्तुतिले नाटक अवधिभरी दर्शकहरुको ओठमा मन्दमुस्कन रोकिन पाउदैन 
नाटकमा सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ । निर्देशकले पनि समाजको एउटा साधारण तर गम्भिर बिषयलाई हलुका हास्य रसमा घोलेर उत्कृष्ट नाटक
दर्शक माझ पस्किएको कुरा कुनै कन्चुस्याई नगरी स्विकार्न सकिन्छ ।
नाटकको अर्को आकर्षक पक्ष हो बरिष्ठ कलाकार टिका पहारीको यसै नाटक मार्फत ३०औ बर्ष पछि रंगमंचमा Comeback हुनु पनि हो । नाटक लाटीको छोरो मा बरिष्ठ कलाकार टिका पहारीले एउटा प्रमुख अनि महत्वपूर्ण भूमिकामा उत्कृष्ठ अभिनय गर्नु भएको छ । साथै  अन्य कलाकारहरुमा हुनु हुन्छ,  पशुपति राई, रामप्रसाद शर्मा, सन्दिप पौडेल, कुन्दन थारु, कुशल पाण्डे, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले लगायतको भूमिका रहेको छ। नाटक ’लाटीको छोरो’ असोज
८ गते सम्म हरेक दिन साझ ५ः३० बजे मञ्चन भैरहेको छ (प्रत्यक सोमबार बाहेक)  

Friday, September 8, 2017

जो चोर उसैको ठुलो स्वर !

दशैं अफरको सहुलियत तथा ठुलो छुट दिने भन्दै प्रचार गर्ने तर उपभोक्तालाई भने अत्याधिक मूल्य लिएर राजधानीका अधिकांश पसलहरुले वास्तविक मुल्य भन्दा अत्यधिक मुल्य वृद्धि गरेर पछि ठुलो छुट दिएर Sale को नाममा सामानहरु बिक्रि गर्ने गरेको छ ।यसरी ठुलो चाड पर्वहरुमा व्यापारीहरुले अत्याधिक छुट दिईने प्रचार गरेर समान बिक्रि गरेर सर्व साधारणलाई धेरै पहिले देखिनै ठगी गर्दै आइरहेका छन्।   
यस्तै राजधानीको दरवार मार्गमा अवस्थित केहि ठुला ब्रान्डेड तथा अन्तराष्ट्रिय
ब्राण्डका सामानहरु मात्रै बिक्रि गर्ने पसलहरुले छुट तथा Sale को नाममा उपभोक्ताहरुलाई ठगी गरेको आरोप विगतमा पनि लग्ने गरेको थियो र त्यो तेसै सेलाएर जान्थ्यो । तर अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले त्यस्तो कालोबजारी गरिरहेको सूचना पाएको आधारमा आफ्नो नेतृत्वमा आकस्मिक अनुगमन गरेर उपभोक्ता ठगी गरेको प्रमाण भेटिएका पसलहरुलाई शिलबन्दी गरेका थिए। त्यसरी सामानहरुको वास्तविक मुल्य
भन्दा अत्यधिक बढी मुल्य असुलेर ठगी गर्नेमा राजधानीको दरवारमार्गमा खुलेका अन्तरराष्ट्रिय ब्राण्डका सामानहरु बेच्ने पसलहरु स्टोर-वान, ब्रेन्टली, पुमा र नाइके सिहितका पसलहरु हुन्। ति पसलहरुमा मन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता ठगी गरेको प्रमाण सहित फेला पारेपछि  शिलबन्दी गरेका थिए।
कुनै पनि सामानको वास्तविक खरिद मूल्यमा २० प्रतिशत सम्म नाफा लिएर समान
बिक्रि गर्न पाइने कानूनी व्यवस्था रहेको भएता पनि ती पसलहरुले वास्तविक मूल्यको ११ औँ गुणा भन्दा बढी मूल्य लिएर समान बिक्रि गरेको भेटिएको, अनुगमन टोलीका अनुसार ती पसलहरुमा बिल बीजक नभएको, वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको हो । ती पसलले ४ हजार ७ सय रुपैँयामा खरिद गरेको जुत्ता २६ हजार ९ सय ९० रुपैँयामा बिक्री गरेको र दुई हजार ६ सयको सामान २६ हजारमा बिक्री
गरेको फेला पारेको थियो ।ले आपूर्ति मन्त्रि मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले शिलबन्दी गरेको थियो। ती पसलहरुले रु.४७००/ पर्ने जुत्ताको रु. २६९९०/ मूल्य राखेर बेचेको भेटिएको थियो।  
त्यसरी छापा मारेको विरोधमा दरबारमार्गको ब्यापारीहरुको संघ दरबारमार्ग बिकाश समिति बोर्डले दशैंको मुखमा पसल बन्द गरेर सरकारको कार्यको विरोध गरेका  छन् । अझ यसलाई बिरोध भन्दा पनि ठग्न पाउनु पर्छ, ठग्नु हाम्रो अधिकार हो भन्ने कुरा सरकारलाई सुझाउन खोजेका होलान। यस्तै हो भने त् संबिधान मै ब्यापारीले उपभोक्ताहरुलाई ठग्न पाउने कुराको व्यवस्था गर्दा सबै भन्दा उचित हुन्थ्यो। कि कसो ?   
हामी नेपालीहरुको कस्तो बिडम्वना, ठगी गर्ने, भ्रष्टाचार गर्ने, चोरी गर्ने, लुटपाट गर्ने कुरा मौलिक अधिकार जस्तै ठान्छन, त्यस्ता कुकृत गर्ने व्यक्ति, अझ टोलीहरू भन्दा बेश होला। के यो सहि हो त्? के ब्यापारीहरुले आम उपभोक्ताहरुलाई ठग्न पाउनु पर्ने नै हो त्? 
आम नागरिक तथा उपभोक्ताहरु यस कुरालाई स्विकार्छन त्? आपूर्ति मन्त्रि ज्युले गर्नुभएको कार्य सहि हो कि होइन त् ? सरकारले अब के गर्नु पर्यो त् ? कि ब्यापारीलाई त्यसरी नै ठग्न दिनु पर्यो त्?
पाठक बृन्दहरुले पनि यस सम्बन्धमा आफ्नो अमुल्य विचार उल्लेख गरिदिनु होला? 


Friday, August 11, 2017

एउटा गम्भिर प्रश्न ?

डाक्टर गोविन्द के.सी. अहिले सम्म ११ औँ पटक आमरण अनसन बसिसके, किन? बिगत देखिनै जनस्वास्थ्य संग सम्बन्धित बिभिन्न मागहरु राखेर उनि अनसन बस्दै आएका छन्। त्यस्तै सरकारले पनि सोहि अनुसार माग पुरा गरिदिने बचन दिदै उनको अनसनलाई तोड्दै आएको छ। अहिले सम्मको ११ औँ पटकको अनसनमा पुगिसक्दा सरकारले जनस्वास्थ्यको क्षेत्रमा के कति सुधार गर्यो त् ? डाक्टर गोबिन्द के.सी.को माग पुरा गर्नबाट सरकार किन पछि हट्छ? किन आफुले कमिटमेन्ट गरेको कुरा पुरा गर्दैन ?
के उनले अनसन बसेर बिश्व रेकर्ड राख्दै गिनिज बुकमा नेपालको तर्फबाट आमरण अनसन बस्ने पहिलो व्यक्ति भनेर नाम लेखाउनको लागि यसरी अनसन बसेका हुन् त् ? कि डाक्टर के.सी. ले आफ्नो कुनै व्यक्तिगत स्वार्थपूर्ति गर्न त्यसरी आमरण अनसन बसेका हुन् ? होइन भने के कारणले डाक्टर के.सी. यसरी बारम्बार आमरण अनसन बस्न बाध्य भएका छन त् ? अनि किन सरकार डाक्टर के.सी.को माग पुरा गर्न हच्किन्छ त् ?
डाक्टर के.सी.को प्रमुख माग के हो त् ? उनको प्रमुख माग हो, -चिकित्सा शिक्षाको सुधार र स्वास्थ्य सेवामा सर्वसाधारणको भरपर्दो सरल र प्रभावशाली पहुँच हुनुपर्छ भन्ने छ। त्यस्तै अर्को उनको मागको सार छ, -ठुलो धनरासी बुझाएको भर तथा राजनैतिक पहुँचको भरमा नभई योग्यताको आधारमा बिध्यार्थिले MBBS (डाक्टरी) मा अध्ययन गर्न पाउनुपर्छ। त्यस्तै, -चिकित्सा शिक्षाको शुल्क सरकारले तय गर्नुपर्यो, न की निजी शिक्षण संस्थाले र यो कुरा सबैमा कडाईका साथ् लागुहुनु पर्यो। तोकिएको भन्दा धेरै शुल्क निजी मेडिकल कलेजहरुले लिनु भएन। ठुलो धनरासी बुझाएर मात्रै कोही स्तरिय चिकित्सक बन्दैनन्। त्यसकोलागी प्रमुख कुरा योग्यतानै हो। फेरी त्यसरी ठुलो धनरासी खर्चेर बनेका चिकित्सकहरुको पहिलो उद्देश्य आफ्नो लगानी उठाउने हुन्छ, नकी रोगीको सेवा गर्ने।  अतः त्यस्ता
डाक्टरहरुबाट के अपेक्षा गर्न सकिन्छ त् ? त्यसैले चिकित्सा शिक्षा नियमानुसार Affordable (सस्तो) हुनुपर्यो। मेडिकल कलेजहरुमा पर्याप्त योग्य शिक्षक तथा अावश्यक भौतिक पूर्वाधार पुगेको हुनुपर्यो। फेरी बिध्यार्थीहरु को प्रयोगात्मक शिक्षा(अभ्यास)को लागि मेडिकल कलेजहरुमा बिरामीहरुको संख्या पनि पर्याप्त हुनुपर्यो।नागरिकहरुलाई राम्रो र सर्वसुलभ स्वास्थ्य सेवा दिन मेडिकल शिक्षाको गुणस्तर पनि राम्रो हुनुपर्यो भन्ने डाक्टर केसीको प्रमुख मागको सारांश हुन्। 
त्यस्तै, मेडिकल कलेजहरु सबै नाफामुखी भएर देशको प्रमुख शहरहरु र राजधानीमा मात्रै खुल्न थाले। त्यसैले पिछडिएका क्षेत्र तथा जिल्लाहरुका गरीब र निमुखा जनताहरुले पनि स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन् नपरोस भनेर अब राजधानी र मुख्य सहरहरुमा नयाँ मेडिकल कलेज खोल्न रोक्ने र जहाँ अावश्यक छ, त्यस क्षेत्रमा खोल्न प्रोत्साहित गरौं भन्ने पनि डाक्टर के.सी.को माग रहेको छ। त्यसको लागि सरकार अाफैंले प्रत्येक प्रदेशमा एकएक वटा पूर्णरुपमा सरकारी स्वामित्व भएको मेडिकल कलेज खोलोस् भन्ने राय समेत डाक्टर के.सी.को छ भने, के यो नाजायज माग हो त् ? यदि डाक्टर के.सी.को माग जायज हो भने किन माग पूरा हुदैन त् ? कानुन बनाउने ठाउँमा पुगेका नेताहरुले जायज माग किन बुझ्दैनन् वा किन बुझ पचाउँछन्? डाक्टर केसीले जनहितका यस्ता माग पूरा गराउन एघारौं पटक सम्म अनसन बस्दा पनि किन माग पुरा हुदैन त् ? कुरो गम्भिर नभए पनि गम्भिर बनाउदै लागिएको छ।  किन यसो भयो त् ? किन भने प्रायः सबै प्रमुख राजनैतिक दलका नेताहरु स्वयम् मेडिकल शिक्षाको नाफाखोरी व्यापारमा संलग्न छन्। यो व्यवसायमा संलग्न अन्य ब्यापारीहरुको पनि ठुला दलका ठुला नेताहरुसंगको सिधा पहुँच भएको  उनीहरुसँगभएको पैसाको शक्ति नै प्रमुख कारण हो। किनकि राजनीति र राजनीतिक दलहरुका लागि हिजो आज र भोली त्यस्ता ब्यापारीहरुले लगानी गरेका छन् र उनीहरुको पैसा चाहिरहन्छ भन्ने नेताहरुलाई पनि अनुभव छ। डा. केसीका माग र मेडिकल शिक्षाको सुधारका लागि संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक यिनै कारणले अड्किँरहेको छ र त्यसैलाई लागुगर्नु पर्यो भन्ने माग डाक्टर के.सी.को रहेको छ। तर सबै प्रमुख ठुला दलका 
प्रमुख नेताहरुको स्वार्थ समेत यसमा जोडिएको कारण नै डाक्टर के.सी.को जायज मागहरु पुरा भएका छैनन।कसरी जोडिएको, किन जोडिए तिर नलागौँ किनकी त्यस सम्बन्धमा धेरै कुराहरु पत्र पत्रिकामा छापिईसकेक छन्। तर हस्पिटलहरुमा उपचारको क्रममा अहिले देखिएका, भेटिएका र सुनिएका घटना, दुर्घटनाहरु किन हुन्छन, अनि एकै प्रकृतिका दुर्घटनाहरु किन दोहरी रहन्छन त् ? किनकी त्यो सबै चिकित्सकहरु दक्ष नभएर नै हो, त्यो पनि सजिलैसँग पुष्टि हुन्छ। कसरी भन्ने प्रश्न ठडिन सक्छ, त्यसको सही उत्तरको लागि यताउता नगरी MBBS उतिर्ण गरेर चिकित्सक पेशामा लाग्नलाई आवश्यक लाईसन परिक्षाको नतिजाले नै प्रष्ट पारिदिन्छ, डाक्टर सापहरुले कसरी आफ्नो अध्ययन पुरा गरेका रहेछन भन्ने। अनि हस्पिटल, त्यो पनि राजधानीमा अवस्थित ठुला ठुला हस्पिटलहरुमा सानोतिनो रोग लागेर जचाउन मात्र आएका साधारण रोगीको समेत ज्यान नगए कसको जान्छ त् ? फेरी यस्ता दुर्घटना एक दुई पटक आक्कल झुक्कल मात्रै नभएर बारम्बार दोहरी रहेको छ, अनि यसैले पुष्टि गर्छ, डाक्टर सापले कसरी र कुन तरीकाबाट आफ्नो अध्ययन पुरा गर्नु भयो भनेर। यस्तो डाक्टर उत्पादन गर्ने Teaching Hospital जस्तो हस्पिटल भविष्यमा पुनः कसैले नखोलुन भनेर डाक्टर के.सी.ले अनसन बसेका हुन् के यो नाजायज हो त् ?
कसैलाई हृदयघात भएर हस्पिटल उपचार गराउन लग्दा चिकित्सकले Streptokinase इन्जेक्शन ल्याऊ भनेर लेखिदिन्छ, एक हजार देखि एघार सय वास्तविक मूल्य भएको औषधिको चौध हजार तिर्नु पर्छ। के यो जायज हो ?
आफ्नो बालबच्चालाई टाईफाईड़ भएर उपचार गराउन हस्पिटल/नर्सिङ्गहोम पुग्नुभयो भने Monocef इन्जेक्शन लेखिदिन्छ, चालीस रुपैया पर्ने इन्जेक्शनलाई पचासी रुपैयामा किन्नु पर्छ। के यो जायज हो?
किड्नी फेल भएर Dialysis गर्नु पर्ने रोगीले डायलाईसिस गरेपछि एउटा इन्जेक्शन लगाउनु पर्छ,जसको वास्तविक मूल्य आठ सय रुपैया मात्रै हो, तपाइले किन्न खोज्नु भयो भने कही पाउन सक्नुहुन्न,तर २९००/ रुपैया डाक्टरलाई तिर्नासाथ तुरुन्त त्यैको त्यहि आफ्नो अस्पतालमा उपलब्ध गराउछन् डाक्टरहरुले। के यो जायज हो?
कारणबस बच्चालाई इन्फेक्सन भएर उपचार गराउन जानुभयो भने डाक्टरले एन्टीवायोटिक्स लेखिदिन्छ। त्यो औषधिको वास्तविक मुल्य कम्पनि अनुसार ७५ देखि २४० रुपैया पर्छ। तर औषधि पसलमा ८७० रुपैया भन्दा घटीमा पाइदैन, यो होइन भन्यो भने अर्को छैन भन्छन र त्यहि महँगो औषधि किन्न बाध्य बनाइन्छ। के यो जायज हो?
यसरी गम्भिर प्रकृतिको रोगको उपचारमा प्रयोग हुने औषधिको मूल्य त्यसको महत्व अनुसार निर्धारण गरिन्छ, औषधि व्यवशायी, हस्पिटल/नर्सिङ्घहोम र डाक्टर मिलेर। के यो जायज हो?
माथि उल्लेखित त्यस्ता मागहरु पुरा गराउन आफ्नो ज्यानको आहुति दिन अघिबढेका डाक्टर गोबिन्द के.सी. जायज कि नाजायज ? यो नै अहिलेको गम्भिर प्रश्न हो सम्बन्धित सबै र आम देशभक्त नेपालीहरुकालागि


Tuesday, August 8, 2017

गाईजात्रा एक रमाइलो पर्व (सस्कृति) ।

चार जात छत्तिस बर्णका नेपालीहरुले परापूर्वकाल देखिनै आ आफ्नो रहन सहन,रितिरिवाज, संस्कृति, सामाजिक तथा धार्मिक मान्यता अनुसार बिभिन्न चाडपर्व मनाउदै आएका छन्। त्यसै मध्यको गाइजात्र एउटा रमाइलो जात्रा अथवा पर्व हो। 
बितेको वर्ष भित्र आफन्तजनको मृत्यु भई शोकाकूल परिवारका सदस्यहरुलाई मृतकको सम्झना र निकटताको कारण मनमष्तिस्कमा छाउने शोक तथा दुखलाई भुलाउन समाजमा बिध्यमान विसंगती, विकृती, कूरिती र आडम्बरहरुलाई समाजको प्रतिष्ठीत प्रख्यात अथवा कुख्यात व्यक्तित्वहरुसंग जोडेर त्यसमाथि व्यंग प्रहर गर्दै, गाई, जोगीको सृंगार गरी साथै बिभिन्न मुखुण्डोलगाएका नर्तक नर्तकीहरु लगायत झाँकी र थुप्रै रौनकहरु सहित साताभरि गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले चलाए देखि निरन्तर आजसम्म चलिआएको छ। गाईजात्राको अवसरमा गरिने बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला, प्रहर्सनको मध्यमबाट गरिने घोचपेच छेडखानी व्यंग जस्ता रमाइला क्रियाकलापले मृत्यू भएका आफन्तको संझनामा गरिने यस्ता रमाइलो र हाँस्य युक्त कार्यक्रमलाई बिचार गर्ने हो भने गाईजात्राले मृत्यूलाई एउटा सहज प्रक्रियाका रुपमा लिएर जीवनलाई पहिलेको जस्तै निरन्तर अगाडी बढाउन मृतकका
शोकसन्तप्त परिवारलाई आव्हान गरेको कुरालाई समेत बोध गराँउदछ ।

बिशेषगरी गाईजात्रा अर्थात यस दिनमा आमा र धर्तीलाई सम्मान गर्दै  हिन्दू संस्कारमा पूजनीय गाइको जात्रा हो । यस जात्राको सम्बन्धमा इतिहासलाई नियाल्दा र किंवदन्तिहरुलाई केलाउदा, गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले चलाएका हुन्। विक्रम संवत् १६४१ देखि १६६४ को समयमा राजा प्रताप मल्लको छोराको निधनले ठूलो वियोग परेको थियो। राजा प्रताप मल्लकी  रानीलाई पुत्र शोकको ठूलो आघात पर्यो।  धेरै समय बितिसक्दा पनि रानीले सामान्य जीवनयापन नगरी राजकाजको कार्यमा चासो नदिएर एक्लै टोलाएर बस्ने गरेकि थिइन । रानीको त्यस्तो अवस्था देखेर राजा प्रताप मल्लले, मृत्यू भनेको कसैको नियन्त्रणमा हुदैन भनेर जति सम्झाए पनि रानीका आँखा रसाउन नछोडेपछि राजा प्रताप मल्लले राज्यमा त्यस बर्षभरि मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाइसहित  दरवार अगाडीबाट  रानीले देख्ने गरि जात्रा निकाल्न भनेका थिए। त्यस दिन अहिलेको हनुमान ढोका परिसरमा अवस्थित बसन्तपुर दरवार क्षेत्रमा (अहिलेको काठमाडौ
दरवार स्क्वाएरमा) गाई तथा अनेक झाँकीहरु सहितको जात्रा निकालिएर प्रदर्शन गरिएको थियो। त्यस समयमा त्यसरी गरिएको नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । बितेको बर्ष भरि आफन्त बितेर जात्रा निकाल्ने परिवारको सदस्यहरु देखेपछि रानीले पनि मृत्यूको शोक आफूलाई मात्र नपरेको वरु आफ्ना जस्ता छोरा, आमा, वुवा लगायतका अन्य परिवारका सदस्य गुमाएको पीडा धेरैले सहन गरेको महसूस गरिन् । राजा प्रताप मल्लले त्यस जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न समेत प्रोत्साहित गरेका थिए।  जुन कुराहरु हेरेर रानीले सम्पूर्ण पीडा विसाएर धक फुकाएर हाँसेकी थिइन्
 भनिन्छ। त्यसरी जात्रामा आएका ब्यक्तिहरुले झाँकी ठट्टा र व्यंगहरुको  माध्यमबाट गण्यमान्य धनी व्यक्तिहरुले समाजमा भए गरेका आडम्बर, कुरिती, थिचोमिचोको बिरुद्धमा र गरिबका पीडालाई सांकेतिक रूपमा पनि प्रतिबिम्बित गरेर व्यंग गरेका थिए । यसरी त्यस बेलादेखि यो गाइजात्रा एउटा सामाजिक स्वरूपको समनतालार्इ वकालत गर्ने चाड पनि भएको छ ।  त्यस समयमा गाइजात्रामा शुरुवात गरिएको त्यस प्रकारको ब्यङ्गको चलन पुस्तौपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित गण्यमान्य ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई व्यंग हान्ने चलन निरन्तर चलिआएको छ र नेपालका ख्यातिप्राप्त कलाकारहरु सम्मिलित भएर हास्यव्यंग कार्यक्रमको रुपमा आजका दिन सम्म एक साता भारी मनाउदै आइरहेका छन्। यस्तो कार्यक्रमको माध्यमबाट गण्यमान्य व्यक्तिहरु जस्तै, मन्त्री,नेता, कर्मचरी, सिपाही प्रहरी, ब्यापारी तथा कुनै पनि व्यवसायीहरु लगाएत चियापसले देखि ठेला ब्यापारी सम्मलाई व्यंग गर्दै पेच हानिन्छ । समाजका विकृती, कुरिती, घटना, परिघटनाको हास्यास्पद साराशं पनि हो गाईजात्रा ।त्यस्तो कार्यक्रम हेर्न ठुलो समूहमा दर्शकहरु पनि लालायत भएका हुन्छन। यो गाईजात्रा कार्यक्रममा गरिएको व्यंग प्रति कसैले पनि रिसइवि र इख राख्न मिल्दैन ।  

धार्मिक प्रचलन अनुसार आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको हुदा यस दिनमा काठमाडौ उपत्यकाका बासिन्दाहरूले यम् (यमराज) अर्थात् मृत्यूका देवताको पूजा गर्दछन्र। गाइजात्रा निकाल्दा गाइलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गार्इ जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रंगीचंगी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाइजात्रा काठमाडौ उपत्यकाको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ तथा शहरहरुमा समेत यो गाइजात्रा मनाउदै आइएको देखिन्छ।  
त्यस्तै सामाजिक मान्यता अनुसार गाईजात्रा सुस्तरि कम हुँदै गएको वर्षा तथा नजिकदै आएको चाडपर्वहरुको सूचक पनि हो भन्ने भनाइ समेत प्रचलित छ। मौसममा समेत देखिने चहकिलो घाम तथा दिनहरु, त्यस्तै हल्का बहने सितल बतास र खेतमा रोपाँई सकिएको अवस्थामा भएको फुर्सदिलो दिनहरुमा ठट्टा गर्दै एकापसमा घोचपेच गरि जिस्कदै दिलखोलेर रमाइलो गर्ने र मुक्तकण्ठले हास्नलाई नै यो गाईजात्रा मनाउने चलन थालिएको हो र त्यहि नै आजका दिनसम्म पनि चलिआएको छ। 

Tuesday, August 1, 2017

म त् लाज पचेको, नकचरो !

(धन्यवाद ! त्यस साथीलाई जसले मलाई कबि बनाएर यो कविता फुरायो) 
                                          (कविता) 
साथीभाईले आफु उभिएको
धरातललाई पनि बिर्सिदिंदा,
म त यस्तै हुँ  भन्दै आफ्नो
अतितलाई समेत भुलिदिंदा,
अनि अहिलेको अवस्थामा
कसरी र के गरी पुगेँ भन्ने
वास्तविकतालाई पनि बिर्सिदिंदा,
साथै खादा पाउँदा आफुले
सबै थोक उचित र सहि देख्ने,
तर त्यही अवस्थामा कतै केहि
कमि भए आफुलाई,
अनि सबै कुरा बैरी र गलत देख्ने
र मनको तुस पोख्दै केही बढाई चडाई
त्यसैलाई सम्प्रेसण गरिदिने,
फेरी केहि नबुझी आफुले
हो मा हो मिलाउदै गाली गलौच गर्दै     
न्वारन समेत गरिदिने प्रवृतिले,
बुद्धिमान र समझदार सम्झिएको
मानिस त समय संगै आफै
विवेकहीन तथा अबुझ भइदिने,
कस्तो प्रवृति हो मान्छेको?
कोहि बेला आफैलाई बैरी देख्ने !
कसले के गर्यो कसो गर्यो
भनि नसोध्नु साथी,
कतै तिम्रै नाम
गरिदिउल उच्चारण,
किनकी,
म त् लाज पचेको, नकचरो पो हुँ।    
  

Thursday, July 27, 2017

आत्महत्या ? बैदेशिक रोजगारमा !

अहिले हाम्रो देशका धेरै  जसो नागरिकहरु रोजगारीको लागि विदेश नै ताक्छन। थोरै समयमा धेरै कमाइने सोच लिएर प्रतिदिन जसो सयौँको संख्यामा बिदेशिरहेका छन् नेपालीहरु कामको खोजीमा, त्यस्तै हजारौँको संख्यामा बैदेशिक रोजगारिको लागि विभिन्न म्यानपावरको अफिस धाइरहेका हुन्छन।
त्यसरी रोजगारिको लागि बिदेशी मुलुक जानेहरु ऋण लिएर, भएको घरबारी बेचबिखन गरेर वा चर्को ब्याजमा बन्धकी राखि ऋण लिएर दलाल तथा म्यानपावर कम्पनीलाई पैसा जिम्मा लगाएर काम गर्न हिडेका हुन्छन।
काम गर्न विदेश पुगेकाहरु कति त् स्वदेशमा गरिएको सम्झौता अनुसारकै काम गर्न पुग्छन, कति स्वदेशमा

दलाल तथा म्यानपावर कम्पनिसंग गरेको सम्झौता भन्दा फरक प्रकृतिको काम गर्न बाध्य भएर पाएको काम गरिरहेका हुन्छन।
काम गर्न विदेश पुगेकाहरु कतिको धेरै पैसा कमाएर जग्गा जमीन जोर्ने, एउटा राम्रो घर बनाउने, आफ्नो बालबच्चालाई पनि अरुको जस्तै राम्रो स्तरीय स्कूलमा पढाउने र परिवारिसंगै बाँकी जीवन आनन्द सँग बिताउने तथा आफुलगायत आफ्ना सन्तति र परिवारको भविष्य सुनिश्चित पार्ने उद्देश्य सहित कामगर्न बिदेशिएका हुन्छन। कतिको त् यस्ता सपनाहरु दुख गरे अनुसार पुरा पनि भएको हुन्छ भने कतिको सपना मात्रै सपनामा सिमित रहन्छन। ऋण काटेर, घरबारी बेचेर, चर्को ब्याजमा ऋण लिएर
त्यसरी बिदेशिने कति त् बिभिन्न कारणले मृत्यु वरण गर्न पुग्छन, भने कति आत्महत्या जस्तो कायरतापूर्ण जघन्य कार्य गर्न पुग्छन। त्यसरी बिदेशमा गएर विभिन्न कारणले मर्ने वा आत्महत्या गरि आफ्नो जीवन समाप्त गर्नेहरुको स्वदेशमा रहेका परिवारलाई समेत ठुलो समस्याको भुमरीमा डुबाएर जान्छन। बिभिन्न कारणले मर्नेहरुको त् कुरा अर्कै भयो, तर परिस्थिति अनि समस्यासंग तर्सिएर त्यसरी आत्महत्या गर्नेहरुले के सोचेर त्यस्तो गरेका हुन् त्? के आत्महत्या गर्नासाथ
सबै समस्या समाधान हुन्छ त् ? त्यसरी आत्महत्या गरेपछि परिवारको के हाल हुन्छ? सारा घरखेत बेचेर, चर्को ब्याजमा ऋण लिएर यसरी बिदेशमा आएर आत्महत्या गर्दा, घरपरिवारको के गति हुन्छ, के अलिकति
पनि दिमागमा आउदैन होला त्? कतिका ससाना बालबच्चा होलान, कतिका बुढा बुढी भैसकेका बाबुआमा मात्रै होलान। उनीहरुको हेरविचार कसले गरिदिने ? कसले ति ससाना केटाकेटीलाई पढाई दिने ? यस्तो कुरा अलिकतिपनि दिमागमा आउदैन त् ? आउदैन भनेत सारै निष्ठुरी र मतलबी रहेछ भन्ने बुझ्नु पर्छ। आफ्नो सिवाय अरुको वास्तै नभएको मान्छेले के नै गर्छ र ?
काम गर्न गएकाहरुले त्यसरी के
कारणले आत्महत्या गर्छन त् ? खोजीको बिषय हो।  अब कसले खोजी गर्ने र किन त्यो पनि सम्बन्धित निकायले गम्भीरताको साथ् खोजि गर्नु पर्छ र त्यस्ता कार्यलाई निरुत्साहित पार्नु पर्छ ।
हिजोआज दैनिक १६००को हाराहारीमा रोजगारीको खोजीमा बिदेशी रहेका छन् नेपालीहरु। त्यस्तै दैनिक २५ वटाको हाराहारीमा आफु ठगीएको उजुरी समेत पर्न आएको देखिन्छ। बिदेशमा मृत्यु हुनेको संख्यामा समेत अहिले बृद्धि हुदै गैरहेको छ भने त्यस्तै बिदेशमा कामगर्न गएकाहरु मध्ये आत्महत्या गर्नेहरुको संख्या समेत वृद्धि हुदै गएको छ।
त्यस्तै बिभिन्न माध्यम तथा कार्यक्रमबाट दक्षिण कोरियामा काम गर्न जानेहरुको संख्या पनि निकै
भइसकेको छ। भरखरै प्रकाशित भएको कोरियाली भाषा परीक्षा EPS को नतिजा प्रकाशित भएको छ। जस अनुसार यो पटक १२००० जना उतिर्ण भएका छन् र चाडै नै यो संख्या पनि थपिने छ दक्षिण कोरियामा काम गर्न जानेको संख्यामा। दक्षिण कोरिया बैदेशिक रोजगारको लागि राम्रो राष्ट्र हो । त्यसैले नेपालीहरु बैदेशिक रोजगारीको शिलशिलामा त्यस राष्ट्रमा जानेको संख्यामा वृद्धि भए संगै अहिले त्यहाँ काम गर्न गएका
नेपालीहरुको बिभिन्न कारणले मृत्यु हुने र आत्महत्या गर्ने क्रम समेत वृद्धि भैरहेको छ। गएको जुन महिनाको १५ दिनमा ५ जना नेपाली कामदारहरुको आत्महत्या तथा दुर्घटनामा परि मृत्यु भएको तथ्यले समेत त्यस कुरालाई पुष्टि गर्दछ। प्रत्येक महिनामा कोरियाको कुनै शहरमा कुनै न कुनै नेपालीले आत्महत्या गरेको खबर आउन थालेको छ हिजोआज। यसरी कोरियामा कामगर्न  जाने नेपालीहरुको संख्या वृद्धि भए संगै आत्महत्या गर्नेको संख्यामा समेत वृद्धि हुन् थालेको छ।
कोरियामा त्यसरी नेपाली कामदारहरुले  लगातारको कठिन काम, भाषाको समस्या, बसाई तथा घरयासि कारणले गर्दा डिप्रेसनमा परी आत्महत्या गर्ने क्रम बढेको छ। यस सन्दर्भमा नेपाली राजदुतावासले गम्भिरताको साथ् चासो लिएको देखिदैन।  तर दक्षिण कोरियाको प्रेसिडेन्ट Moon Jae-in स्वयंले बिदेशी कामदारहरुको मानवाधिकारको महत्वलाई जोड दिदै सम्बन्धित निकाय तथा कोरियन प्रहरीलाई यस सम्बन्धमा कारण तथा त्यसलाई रोकथाम गर्न अवाहन गरेका छन्। त्यस्तै दक्षिण कोरियन प्रहरी

(Hwaseong West Police) ले फारान शहरमा केहिदिन अगाडी पहिलो पटक नेपाली समुदाय माझ आत्महत्या रोकथाम तथा तनाव व्यवस्थापन सम्बन्धमा एउटा बिशेष प्रशिक्षण कार्यक्रम (गोष्ठी)को आयोजना  गरेर मानिसले तनावलाई के कसरी नियन्त्रण गर्ने ? कसरी तनाव मुक्त हुने सकिन्छ ? र मानवाधिकार रक्षा सम्बन्धमा समेत प्रशिक्षण दिइएको थियो। जुन कार्यक्रममा ठुलो संख्यामा कोरियामा कामगर्ने नेपालीहरुको उपस्थित भएका थिए। उपस्थित सबैले कार्यक्रमलाई खुबै मनपराएका थिए र त्यस्तो कार्यक्रमबाट अफुलगायत अरु ठुलो संख्यामा नेपालीहरु समेत लावानभित हुने कुरा कार्यक्रममा सहभागीहरुले उल्लेख गरेका थिए। साथै यस्तो कार्यक्रम आयोजना गरिदिएकोमा कोरियन सरकारलाई समेत धन्यवाद दिएका थिए। 
(प्रस्तुत लेख हाल कोरियामा कार्यरत नेपाली, दिपक बन्जाराबाट प्राप्त रिपोर्टको आधारमा तयार गरिएको। ) 



Monday, July 17, 2017

Fit & फाइन तथा स्वास्थ्य रहन !

हामी जो कोहि पनि आफुलाई अरुले महत्व दिएको खुवै मनापरौंछौँ। आफ्नो बारेमा तारिफ गरेको सुन्न हाम्रो कान हरदम लालायित रहन्छ। झन् अहिलेको यो सामाजिक संजालमा आफ्नो आकर्षक फोटो तथा कृयाकलापहरु अपलोड गर्ने होडले गर्दा र आफुले अपलोड गरेको फोटो कतिले लाइक गरे, क-कसले कस्तो कमेन्ट गरे भन्ने कुरोले गर्दा हिजोआज के पुरुष के महिला, युवा युवतीको त् कुरै छोडौ, तीन चार बच्चा बच्चीको आमा बाले समेत अहिले आफुलाई वा आफ्नो शरीरलाई आकर्षक र फिट बनाउन हरप्रयश कोशिश गर्ने गर्छन। यसको लागि उनीहरु जस्तोसुकै उपय गर्न तयार रहन्छन।पुर्पुरो सेक्ने घाम लाग्दा सम्म ओछ्यानमा गुडुल्कीनेहरु हिजोआज एका बिहानै एरोबिक गर्न पुग्छन, कहिले सिन्को नउचालेकाहरु फलाम उचाल्न जिमखाना धाउछन्, TV र Net मा अल्झिएर बस्नेहरु अनि मिल्ने भए जहाँ बस्यो त्यही आची गर्ने खालका अधबैसे उमेर समेत कटाई सकेका Ex-युवा युवतीहरु अहिले बिहानै मर्निङ्ग वाक गर्न निस्कन्छन। फेरी सुन्दर र आकर्षक देखिन येती लालायित हुन्छन की जो कोहिले जे भनेपनि एकचोटी प्रयोग गरिहल्छन
र कुरो बिग्रेपछि फेरी अर्कै सुभचिन्तको रायसल्लाह लिन पुग्छन। यसरी आकर्षक बन्ने प्रयासमा आफुले आफ्नै स्वास्थ्य तथा शरीरको हानीनोक्सानी गर्दै गएको धेरै भेटिएका देखिएका हुदाँ, र त्यसरी दुख पाएका र फिट एण्ड फाइन बन्नको लागि कोशिश गर्दा गर्दा थाकी सकेका तर फिट एण्ड फाइन बन्न नसकेका तर इच्छुकहरुको लागि यहाँ केहि सरल घरेलु उपायहरु प्रस्तुत गर्दै छु। यहाँ उल्लेख गरिएका सबै घरेलु उपायहरु अन्य स्तरीय तथा प्रशिद्ध स्वास्थ्य संग सम्बन्धित पत्रपत्रिकाहरुबाट साभार गरिएको हो। यहा उल्लेख गरिएका सबै उपाय तथा सामाग्रीहरु हाम्रो घरको भान्छामा उपलब्ध हुन्छन। धेरै कोशिश गर्दा गर्दा थाकी सक्नु भएको भए एकपटक कोशिश गर्नुहोस। कुनै हानी नोक्सानी हुनेछैन, तर फाइदा अवश्य हुन्छ। त्यसैले एकपटक अवश्य प्रयास गर्न सक्नुहुन्छ। 

१. लसुनः
लसुनमा  प्राकृतिक एन्टी बायोटिक गुण हुन्छ र यसले सुगरलाई नियन्त्रिण गर्ने काम गर्दछ । लसुनले शरिरमा बोसो जम्मा हुन् नदिने हर्मोनलाई सक्रिय गराउछ जसले गर्दा अनावश्यक बोसो जम्मा हुन दिँदैन । तेसैले आफ्नो खानामा लसुनलाई अवश्य समावेश गर्नुहोस, त्यसले तपाइको अनावश्यक तौल घटाउन मदत गर्ने छ ।
२. ग्रीन टीः   
अहिले ग्रिन टी को बिषयमा यहाँ केहि उल्लेख गरिरहनु पर्दैन यो निकै लोकप्रिय भइसकेको छ र स्वास्थ्यका लागि ग्रीन टी पिउनेको ठुलो जमात भैसकेको छ । त्यसैले तपाई पनि दैनिक एक देखि दुई कप ग्रीन टी पिउने गर्नुहोस। किनकी ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।
३. केराः  
अनावश्यक रुपमा तौल बढाउनमा जंक फूड तथा फास्ट फूडको ठुलो भूमिका हुन्छ। त्यसैले तपाई जंक फुड तथा फास्ट फूड नखाई बस्न सक्नु हुन्न तर आफ्नो शरीरको अनावाश्यक बढेको तौल देखि उदेक लागेको छ तर छोड्न कोशिश गर्दा पनि जंक तथा फास्ट फूड खान छोड्न सकिरहनु भएको छैन भने आफ्नो आहारमा आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।
४. पुदीनाः
एक कप मनतातो पानीमा पुदीना (जसलाई बाबरीको नामले समेत चिन्दछौँ) को केही पात राख्नुहोस र तपाईंलाई मनपर्छ भने त्यसमा केही मह समेत मिसाउन सक्नुहुन्छ । यो पेय दैनिक सेवन गर्नुहोस यसले पेटमा लागेको बोसो कम गर्छ र यो निकै प्रभाबकारी समेत हुन्छ ।
५. दालचीनीः
तुरुन्त तौल घटाउनका लागि एक कप पानीमा एक चम्चा दालचीनीको पाउडर घोल्नुहोस र बिहानको नास्ता भन्दा पहिले र सुत्नु भन्दा पहिले दैनिक दुई पटक यो पेयलाई पिउँदा केही दिनमा नै असर देखिनेछ, यो बिधि निकै नै फाइदाजनक छ र यसको साइड इफेक्ट पनि केहि हुदैन। 
६. स्याउः
स्याउमा पोटासियम प्रचुर मात्रामा हुन्छ र त्यसको उपभोगले धेरै बेर सम्म भोक नलाग्ने भएकोले आफ्नो आहारमा दैनिक स्याउको समेत प्रयोग गर्दा हामीलाई धेरै खाना खान मनलाग्दैन र त्यसले अनावश्यक रुपमा तौल बढ्न पाउदैन। त्यसैले दैनिक एउटा स्याउ खाएर आफ्नो शरीरबाट बोसो घटाउन सकिन्छ र यसरी हामी शरीरको अनावश्यक तौल घटाउन सक्छौ। भनाइ नै छ नि, "An apple a day, keep the Doctor away." । 
७. ओमेगा थ्रीले भरपुर खानेकुराः
तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतका खानेकुरामा ओमेगा थ्री तत्व पाइन्छन् र ओमेगा थ्रीले शरिरमा जमेको अनावश्यक तथा अतिरिक्त बोसोलाई घटाउन मदत गर्छ, हाम्रो शरीरको तौल नियन्त्रण गर्दछ, रगतमा भएको अनावश्यक चिल्लो पदार्थलाई हटाउन मदत गर्छ र साथै ओमेगा ३ ले हाम्रो शरीरलाई अन्य धेरै फाइदा गर्दछ । अतः हामीले हाम्रो खानामा प्रयाप्त मात्रामा ओमेगा थ्री प्राप्त हुने खाध्य पदार्थहरुको प्रयोग गर्ने गरौ।  
८. आरु:
आरुमा ८० प्रतिशत पानी र फाइबरको मात्रा धेरै हुन्छ भने क्यालोरीको कम हुन्छ । आरुमा पाइने फाइबरले पेट र कलेजोबाट टक्सिन (बिषालु पदार्थ)लाई  हटाउन सहयोग गर्नुका साथै यसले शरीरमा अतिरिक्त बोसो जम्मा हुन् दिदैन जसले गर्दा शरीरको तौल समेत अनावश्यक बढ्न पाउदैन। यो स्वादिलो पनि त्यतिकै हुने भएकोले अन्य फलफुल जस्तै आरु पनि हाम्रो खानामा दैनिक रुपले प्रयोग गर्न सके स्वास्थ्यकोलागी धेरै फाइदा हुने छ।   
९. मकैको उपभोग:
शरिरमा जमेको अतिरिक्त बोसो तथा कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो दैनिक मकै खानु । अहिले मकै सबै ठाउमा पाइन्छ त्यसैले यसको सेवन गरेर तपाईं तौल घटाउनुका साथै अन्य रोगलाई पनि टाढा राख्न सक्नुहुन्छ। 

माथि सबै पढिसकेपछि, एकछिन सोच्नुहोस, अनि जे गर्दा तपाइलाई सहि जस्तो लाग्छ त्यो अवश्य गर्नुहोला र जसले जे भन्यो त्यसको पछि नलाग्नुहोस। स्वास्थ्य को लागि मात्र ३० देखि ६० मिनेट दैनिक साधारण Exercise गर्नुहोस।त्यो नै काफी हुनेछ। ध्यानमा राख्नुहोला ज्यान छ त जहान छ, स्वास्थ्य र तन्दुरुस्त शरिर भएपछि दुनियाको जेसुकै कुरापनि गर्न सकिन्छ। Health is Wealth.