Tuesday, August 8, 2017

गाईजात्रा एक रमाइलो पर्व (सस्कृति) ।

चार जात छत्तिस बर्णका नेपालीहरुले परापूर्वकाल देखिनै आ आफ्नो रहन सहन,रितिरिवाज, संस्कृति, सामाजिक तथा धार्मिक मान्यता अनुसार बिभिन्न चाडपर्व मनाउदै आएका छन्। त्यसै मध्यको गाइजात्र एउटा रमाइलो जात्रा अथवा पर्व हो। 
बितेको वर्ष भित्र आफन्तजनको मृत्यु भई शोकाकूल परिवारका सदस्यहरुलाई मृतकको सम्झना र निकटताको कारण मनमष्तिस्कमा छाउने शोक तथा दुखलाई भुलाउन समाजमा बिध्यमान विसंगती, विकृती, कूरिती र आडम्बरहरुलाई समाजको प्रतिष्ठीत प्रख्यात अथवा कुख्यात व्यक्तित्वहरुसंग जोडेर त्यसमाथि व्यंग प्रहर गर्दै, गाई, जोगीको सृंगार गरी साथै बिभिन्न मुखुण्डोलगाएका नर्तक नर्तकीहरु लगायत झाँकी र थुप्रै रौनकहरु सहित साताभरि गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले चलाए देखि निरन्तर आजसम्म चलिआएको छ। गाईजात्राको अवसरमा गरिने बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला, प्रहर्सनको मध्यमबाट गरिने घोचपेच छेडखानी व्यंग जस्ता रमाइला क्रियाकलापले मृत्यू भएका आफन्तको संझनामा गरिने यस्ता रमाइलो र हाँस्य युक्त कार्यक्रमलाई बिचार गर्ने हो भने गाईजात्राले मृत्यूलाई एउटा सहज प्रक्रियाका रुपमा लिएर जीवनलाई पहिलेको जस्तै निरन्तर अगाडी बढाउन मृतकका
शोकसन्तप्त परिवारलाई आव्हान गरेको कुरालाई समेत बोध गराँउदछ ।

बिशेषगरी गाईजात्रा अर्थात यस दिनमा आमा र धर्तीलाई सम्मान गर्दै  हिन्दू संस्कारमा पूजनीय गाइको जात्रा हो । यस जात्राको सम्बन्धमा इतिहासलाई नियाल्दा र किंवदन्तिहरुलाई केलाउदा, गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले चलाएका हुन्। विक्रम संवत् १६४१ देखि १६६४ को समयमा राजा प्रताप मल्लको छोराको निधनले ठूलो वियोग परेको थियो। राजा प्रताप मल्लकी  रानीलाई पुत्र शोकको ठूलो आघात पर्यो।  धेरै समय बितिसक्दा पनि रानीले सामान्य जीवनयापन नगरी राजकाजको कार्यमा चासो नदिएर एक्लै टोलाएर बस्ने गरेकि थिइन । रानीको त्यस्तो अवस्था देखेर राजा प्रताप मल्लले, मृत्यू भनेको कसैको नियन्त्रणमा हुदैन भनेर जति सम्झाए पनि रानीका आँखा रसाउन नछोडेपछि राजा प्रताप मल्लले राज्यमा त्यस बर्षभरि मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाइसहित  दरवार अगाडीबाट  रानीले देख्ने गरि जात्रा निकाल्न भनेका थिए। त्यस दिन अहिलेको हनुमान ढोका परिसरमा अवस्थित बसन्तपुर दरवार क्षेत्रमा (अहिलेको काठमाडौ
दरवार स्क्वाएरमा) गाई तथा अनेक झाँकीहरु सहितको जात्रा निकालिएर प्रदर्शन गरिएको थियो। त्यस समयमा त्यसरी गरिएको नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । बितेको बर्ष भरि आफन्त बितेर जात्रा निकाल्ने परिवारको सदस्यहरु देखेपछि रानीले पनि मृत्यूको शोक आफूलाई मात्र नपरेको वरु आफ्ना जस्ता छोरा, आमा, वुवा लगायतका अन्य परिवारका सदस्य गुमाएको पीडा धेरैले सहन गरेको महसूस गरिन् । राजा प्रताप मल्लले त्यस जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न समेत प्रोत्साहित गरेका थिए।  जुन कुराहरु हेरेर रानीले सम्पूर्ण पीडा विसाएर धक फुकाएर हाँसेकी थिइन्
 भनिन्छ। त्यसरी जात्रामा आएका ब्यक्तिहरुले झाँकी ठट्टा र व्यंगहरुको  माध्यमबाट गण्यमान्य धनी व्यक्तिहरुले समाजमा भए गरेका आडम्बर, कुरिती, थिचोमिचोको बिरुद्धमा र गरिबका पीडालाई सांकेतिक रूपमा पनि प्रतिबिम्बित गरेर व्यंग गरेका थिए । यसरी त्यस बेलादेखि यो गाइजात्रा एउटा सामाजिक स्वरूपको समनतालार्इ वकालत गर्ने चाड पनि भएको छ ।  त्यस समयमा गाइजात्रामा शुरुवात गरिएको त्यस प्रकारको ब्यङ्गको चलन पुस्तौपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित गण्यमान्य ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई व्यंग हान्ने चलन निरन्तर चलिआएको छ र नेपालका ख्यातिप्राप्त कलाकारहरु सम्मिलित भएर हास्यव्यंग कार्यक्रमको रुपमा आजका दिन सम्म एक साता भारी मनाउदै आइरहेका छन्। यस्तो कार्यक्रमको माध्यमबाट गण्यमान्य व्यक्तिहरु जस्तै, मन्त्री,नेता, कर्मचरी, सिपाही प्रहरी, ब्यापारी तथा कुनै पनि व्यवसायीहरु लगाएत चियापसले देखि ठेला ब्यापारी सम्मलाई व्यंग गर्दै पेच हानिन्छ । समाजका विकृती, कुरिती, घटना, परिघटनाको हास्यास्पद साराशं पनि हो गाईजात्रा ।त्यस्तो कार्यक्रम हेर्न ठुलो समूहमा दर्शकहरु पनि लालायत भएका हुन्छन। यो गाईजात्रा कार्यक्रममा गरिएको व्यंग प्रति कसैले पनि रिसइवि र इख राख्न मिल्दैन ।  

धार्मिक प्रचलन अनुसार आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको हुदा यस दिनमा काठमाडौ उपत्यकाका बासिन्दाहरूले यम् (यमराज) अर्थात् मृत्यूका देवताको पूजा गर्दछन्र। गाइजात्रा निकाल्दा गाइलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गार्इ जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रंगीचंगी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाइजात्रा काठमाडौ उपत्यकाको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ तथा शहरहरुमा समेत यो गाइजात्रा मनाउदै आइएको देखिन्छ।  
त्यस्तै सामाजिक मान्यता अनुसार गाईजात्रा सुस्तरि कम हुँदै गएको वर्षा तथा नजिकदै आएको चाडपर्वहरुको सूचक पनि हो भन्ने भनाइ समेत प्रचलित छ। मौसममा समेत देखिने चहकिलो घाम तथा दिनहरु, त्यस्तै हल्का बहने सितल बतास र खेतमा रोपाँई सकिएको अवस्थामा भएको फुर्सदिलो दिनहरुमा ठट्टा गर्दै एकापसमा घोचपेच गरि जिस्कदै दिलखोलेर रमाइलो गर्ने र मुक्तकण्ठले हास्नलाई नै यो गाईजात्रा मनाउने चलन थालिएको हो र त्यहि नै आजका दिनसम्म पनि चलिआएको छ। 

No comments: