Sunday, December 24, 2017

...... ! यसलाई यसो भन्दा, कसो होला?

लडाई अथवा युद्ध, परापूर्व काल देखि चल्दै आएको एउटा प्रकृतिको बिभिन्न प्रकृया मध्ये एउटा प्रकृया मात्रै हो भन्दा केही फरक पर्ला र ? हामी नेपाली र हाम्रो नेपाल कहिल्यै अन्य मुलुकको अधिनमा बस्नु परेन। आफ्नो मौलिक पहिचान सहित प्राचीन अनि परम्परागत  धर्म, कला संस्कृति, रहन शाहन, विशिष्ट शिपका धनी आफ्नो बहादुरीले विश्वमा नेपाल अनि नेपालीको विशिष्ट पहिचान तथा परिचय दिदैं आज सम्म हामी स्वाभिमानका साथ स्वाधिन भएर बस्यौ। विश्वका प्रायः सबै मुलुकहरु कुनै न कुनै शक्तिशाली राष्ट्रको अधिनमा उनीहरुको दासत्व स्वीकारेर लामो समय बिताउनु परेको कुराको इतिहास साँक्षी छ। तर हामी कहिल्यै पराधिन भएनौ, कहिल्यै दासत्व स्विकरेनौ। आफ्नो स्वाभिमानले शिर सदा उठाएर स्वाधिन बाएर नै बस्यौ।
यस्तो मुलुकको हामी स्वाभिमानी नेपाली नागरिक र राष्ट्र अहिले त्यही बिश्वमा चिनिएको आफ्नो प्रशिद्ध
मौलिक पहिचान सहित परम्परागत  प्राचीन धर्म, कला संस्कृति, रहन शाहनलाई बिर्सदै छौ। हामी विश्वका अनेक राष्ट्रहरुले समेत रुचाईएको आफ्नो अमुल्य परम्परागत रहन सहन, धर्म तथा कला संस्कृतिलाई पाखण्डीको संज्ञा दिदै Date Expire भयो, रुडीबाढी चलन भन्दै आफ्नो लोक परम्परागत चानल, चाडपर्व, धर्म, कला संस्कृति, नाचगान, भेषभुषा, बाजागाजा सहित आफ्नो अस्तित्व र पहिचानलाई बिर्सिएर पश्चिमा संस्कृतिमा रुमल्लिएर त्यसैलाई अङ्गाल्दै छौँ।
हामी शहरका शिक्षित नागरिक, भविष्यका कर्णधार युवाहरु हिजोआजका प्रायः सबै जो कोही क्रिसमस Eve र क्रिसमस Day मनाउछौं। यसरी कुनै पनि चाड पर्व सबै मिलेर रमाइलो भेटघाट गरेर मनाउनु धेरै राम्रो कुरा हो।तर सम्पूर्ण नेपालीहरुले परापूर्वकाल देखि  नेपालको राष्ट्रिय चाडको रुपमा मनाउदै आएको दशैँलाई केही बर्ष अगाडीबाट यो जति उजातिको चाड भनेर, केही जाती समुदायले मनाउन समेत छोडिदिएका छन्। त्यस्तै इस्वी सम्वत् को नया बर्ष भब्यताको साथ बिभिन्न कार्यक्रमहरु आयोजना गरेर झन्डै सबै युवाहरु सहभागी भएर मनाउछन। तर नेपाली नया बर्षमा केही हल्काफुल्का रुपमा कतै कतै मात्रै मनाइन्छ। यो त् केही प्रमुख उदाहरण मात्रै हुन्। त्यस्ता धेरै नेपाली मौलिक कुराहरु छन् जसलाई हामी नेपालीहरुले तिरस्कृत गरिरहेका छौ। कति प्राचीन नेपाली परम्परागत चलिआएको कला संस्कृतिकहरु छन्, जसले पौराणिक कालको नेपालसँग हामी लगाएत हाम्रा सन्तति अनि विश्वलाई समेत परिचित गराउछ, जसले विश्वलाई नेपाल चिनाउछ, हामी आफ्नो मौलिक परिचयलाई लत्याएर पराइ संस्कृतिलाई अङ्कमाल गरेर भित्र्याउदै छौँ। के यसले हामी नेपाली र नेपाललाई चिनाउने काम गर्छ की अरुलाई ?
अहिलेको यही अवस्था अनुसार हुदै गर्दै जाने हो भने हाम्रा सन्ततिलाई नेपाल र नेपालीको मौलिकता के हो
भनी प्रश्न गर्दा, उत्तरमा, क्रिसमस,इस्वी सम्वत् को नया बर्षमा मानाउने कार्यक्रम, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे लाई मात्रै सम्झियो भने आश्चर्य नमान्दा हुन्छ। किनकी, हाम्रो मौलिक कला संस्कृतिलाई बाह्य संस्कृतिले आक्रमण गरेर अहिले घाइते बनाई सकेको छ। दुखको कुरा, यसरी हाम्रो मौलिक कला संस्कृतिलाई घाइते पार्न हामी र हाम्रै शिक्षित जनसमुदाय र राष्ट्रका कर्णधार युवा पुस्ता नै लागि परेका छौँ।
यस सम्बन्धमा हामी सबै नेपाली स्वयम् स्वविवेकले समयमै नसच्चिने हो भने, इन्टरनेटमा मात्रै नेपालको मौलिक कला संस्कृतिको बिषयमा पढ्न र हेर्न पाइनेछ हो, यस कुरालाई समयमै हामीले सच्याउन सकेनौ भने हामीले हम्रो प्राचीन तथा परम्परागत चनल, चाडपर्व, धर्म, कला संस्कृति, नाचगान, भेषभुषा, खाना र बाजागाजाहरु देखिने छन्, भेटिने छन् अनि हेर्न र पढ्न पाइने छन् भन्दा केही फरक नपर्ला।
अहिले जुन गतिमा हाम्रो परम्परागत मौलिक कला संस्कृति माथि बाह्य संस्कृतिले अतिक्रमण गरिरहेको छ यो क्रमलाई रोक्ने प्रयास गरेनौ भने हाम्रा सन्ततिले भविष्यमा नेपालको र नेपालीको अझ आफ्नै अस्तित्वको समेत परिचय दिन नसक्ने हुन्छन।
कुनै पनि चाड पर्व कसैले पनि हार्दिकताका साथ रमाइलो गरेर मनाउन सकिन्छ। तर आफ्नो कला संस्कृतिलाई उत्तिकै प्राथमिकताको साथ मनाउन पनि सक्नु पर्छ। नत्र परम्परागत नेपाली मौलिक कला संस्कृतिलाई बाह्य संस्कृतिले आक्रमण गरि परास्त गरेर हामी स्वाभिमानी, स्वाधिन नेपाल अनि नेपालीले बाह्य संस्कृतिबाट  लादिएको कलासंस्कृतिलाई बाध्यता पूर्वक मनाउनु पर्ने दिन समेत नआउला भन्न सकिदैन भनेर भन्दा कसो होला ?   …कि यसलाई यसो भन्दा, कसो होला ?

Wednesday, December 20, 2017

रायोको साग ! बहुउपयोगी फाइदाहरु ।

रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। यसको बारेमा प्रायः हामी सबैलाई थाहा नै छ, सबैले चिनेको तथा खाएको तरकारी हरियो साग पात मध्ये एउटा प्रमुख तरकारीको नाम हो रायोको साग। 
हामी जसले हरियो सागपात रुचाउछौ उनीहरुलाई रायोको सागको बारेमा अवश्य थाहा छ र खाएका पनि छौ। हामीले रायोको साग चिनेको तथा खाएको भएपनि यो सागबाट हुने फाइदाहरुको बारेमा पूर्ण जानकारी सबैलाई नहुन पनि सक्छ। अतः यहाँ हामीले खाने रायोको सागबाट के कति र कस्ता फाइदाहरु हुन्छन्।
अनि हाम्रो स्वास्थ्यलाई कतीको उपयोगी छ रायोको साग, त्यस सम्बन्धमा केहि जानकारी दिने उद्देश्य सहित आफ्नो खानामा रायोको सागलाई अनिवार्य रुपमा समावेश गरौ भनी यो लेख प्रस्तुत गरेको छु। 
रायोको सागले हामीलाई स्वस्थ रहन र विभिन्न रोगबाट बचाउन धेरै नै महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसको तरकारी नियमित रुपमा खाँदा अनेकौ रोग तथा स्वास्थ्य समस्याबाट समेत मुक्ति पाउन सकिन्छ ।
जोर्नी तथा हड्डीको समस्याबाट सुरक्षित राख्छ 
रायोको सागमा भिटामिन K प्रशस्त मात्रा पाइन्छ। यसबाट हड्डीलाई आवश्यक पर्ने खनिज पदार्थ उपलब्ध हुन्छ। भिटामिन K ले रगत जम्ने र शरिरको अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रमलाई पनि रोक्न सहयोग गर्दछ। रायोको सागमा पाइने क्याल्सियमले हड्डी खिइन दिदैन र त्यस्तो समस्या भएका व्यक्तिहरूलाई फाइदा दिनुका साथै हड्डीलाई मजबुत बनाउन समेत धेरै नै लाभकारी हुन्छ।
महिलालाई महिनावारीमा हुने समस्याबाट राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन K ले महिलाहरुलाई महिनावारी हुँदाको समयमा पेट/जीउ दुख्ने समस्याबाट समेत राहत दिन्छ ।
शरीरका विकार फाल्न  मदत गर्छ 
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निस्कासन गर्न सहयोग गर्दछ। 
स्मरणशक्ति बढाउँछ
प्रकृतिले नै मानिसको उमेर बढे संगै स्मरण शक्तिमा ह्रास आउदै जान्छ। तर बिभिन्न समयमा गरिएको अनुसन्धानबाट प्राप्त नतिजा अनुसार हामीले प्रतिदिन रायोको साग खानामा प्रयोग गरी खाने हो भने ४० प्रतिशत सम्म स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई घटाउन सकिन्छ। अतः दैनिक खानामा रायोको साग समावेश गर्ने गरौँ। 
आँखा स्वास्थ्य र तेजिलो बनाउँछ
रायोको सागमा प्रसस्त मात्रामा भिटामिन A पाइन्छ। स्वास्थ्य आँखाको भिटामिन A अपरिहार्य तत्व हो। साथै यसले रतन्धो लगायत आँखाको सबै समस्याहरुबाट समेत छुटकारा दिलाउद छ। 
मुटु स्वास्थ्य र बलियो बनाउँछ
हाम्रो स्वास्थ्य मुटुको लागि समेत रायोको साग उपयोगी छ। यसले मुटु सम्बन्धि बिभिन्न समस्याहरु र कुनै पनि प्रकारको रोगहरु लाग्नबाट बचाउन हामीले हाम्रो दैनिक खानामा अनिवार्यरुपमा रायोको सागलाई सामेल गराउनु पर्छ। 
क्यान्सर जस्तो रोगबाट बचाउछ
रायोको सागमा बिभिन्न भिटामिन तथा हाम्रो स्वास्थ्यको लागि अत्यावश्यक तत्वहरु समेत पाइन्छ। त्यस्तै रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
डन्डीफोर आउन दिदैन   
रायोको सागमा पाइने भिटामिन तथा तत्वहरुले छालालाई इन्फेक्सनबाट जोगाउने तन्तु (सेल)लाई बलियो बनाउँछ। साथै डन्डीफोरको समस्यालाई समाधान गर्न पनि यसले सहयोग गर्दछ। 
गर्भवतीलाई  महिलालाई फाइदा 
प्रायः गर्भवती भएको बेलामा महिलाहरुलाई वाकवाकी आउने, टाउको दुख्ने आदि जस्ता समस्याहरु देखा पर्छन। शरीरमा भिटामिन K को कमी भएक महिलाहरुमा यस्ता लक्षणहरु देखिन्छन। अतः भिटामिन K रायोको सागमा प्रसस्त मात्रामा पाइने भएकोले गर्भवती महिलाहरुले पनि आफ्नो दैनिक आहारमा रायोको साग प्रसस्त उपभोग गर्दा लाभदायी हुन्छ। 

रुघाखोकी लाग्नबाट जोगाउँछ
रायोको सागमा भिटामिन C प्रसस्त मात्रामा पाइन्छ। त्यसैले रुघाखोकी लागिरहने मानिसले रायोको साग दैनिक खादा राम्रो हुन्छ। भिटामिन C ले रुघाखोकी, निमोनिया तथा फोक्सोको इन्फेक्सन आदिबाट समेत जोगाउने भएकोले दैनिक रुपमा खानामा रायोको सागको प्रयोग गर्नु उपयुक्त हुन्छ। 
पत्थरी हुन दिँदैन
रायोको साग दैनिक उपभोग गर्ने मानिसलाई पिसाबनलीमा पत्थरी हुने जोखिम कम गराउछ भने पथरी भइसकेकालाई पनि यसले फाइदा नै गर्दछ। 
बाथका रोगीलाई फाइदा 
रायोको सागमा प्रसस्त मात्रामा पाइने अर्को तत्व कापर पनि हो। यो कपरले बाथको रोगबाट हुने पीडालाई कम गर्न सहयोग गर्दछ।

   साभार: विभिन्न अनलाइन

Friday, December 15, 2017

फिल्म, Short Film र TV कार्यक्रम किन स्तरीय बन्दैन ?

नेपालमा ठुला ठुला मल्टीप्लेक्स संचालनमा आए संगै हिजोआज नेपाली चलचित्र निर्माताहरुले पनि थुप्रै चलचित्रहरु निर्माण गर्न तथा हलहरुमा प्रदर्शन हुन थालेका छन्। अहिले केहि नेपाली चलचित्रहरु हेर्न लायक र राम्रा बन्न थालेको कुरा ठुलो बजेटमा बनेका हिन्दि फिल्मलाई समेत मात दिएको र नेपाली चलचित्र प्रेमी अत्यधिक दर्शकहरुले रुचाएको समेत देखिएको छ। तर यस्ता नेपाली फिल्महरु नगन्य नै छन्। धेरै जसो फिल्महरु कहिले बन्यो, कहिले प्रदर्शन भयो र कहिले प्रदर्शन सकियो भन्ने नै पत्तो पाइदैन। यसरी निर्माण भएका अत्यधिक फिल्महरु नाराम्र तथा स्तरहीन नै हुनेगरेको छ। नेपाली दर्शकहरुको रुची नबुझेको, बिषयगत अध्ययनको कमी, चलचित्र निर्माणमा योग्य जनशक्तिको अभाव र सबै भन्दा महत्वपूर्ण कुरो हो, चलचित्र कर्मीहरु व्यवशायिक हुन नसक्नुले पनि नेपाली फिल्म निर्माणले अझै शाही बाटो समाउन सकेको छैन। 
 त्यस्तै अहिले ठुलो लगानीमा फिल्म निर्माण गर्न नसक्ने तर राम्रा चलचित्र बनाउन खोज्ने व्यक्तिहरुले लघु चलचित्रहरु (Short Film) निर्माण गर्न थालेका छन् र कति नेपालीहरुले निर्माण गरेको Short Filmहरु विश्व स्तरका समेत छन्। यो कुरा हामी अहिले इन्टरनेट त्यस्ता Short Filmहरु हेरेर त्यस्तै बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरुमा Short film को उलेख्य प्रदर्शन भैरहेको कुराहरुबाट समेत थाहा पाइन्छ।  त्यस्तै अन्तराष्ट्रिय स्तरमा भएक प्रतियोगिता तथा कार्यक्रमहरुमा नेपालीहरुले निर्माण गरेका Short film हरुले पाएको सफलताबाट समेत यी कुरा पुष्टि हुन्छन। नेपालीले निर्माण गरेका कति Short filmहरुले अन्तराष्ट्रिय स्तरमा भएको प्रतियोगितामा समेत बिजयी हुने र सम्मान पाइरहेको कुरा सुनिरहेको पढिरहेका नै छौ। तर कति इन्टरनेटमा राखिएक अत्यधिक Short Filmहरु स्तरहीन तथा अश्लिल छन्।  
त्यस्तै अहिले नेपालमा TV च्यानलहरु पनि थुप्रै स्थापना भए संगै राम्रा, स्तरिय कार्यक्रमहरुको कमी महसूस गरिएको छ। बिशेष दर्शकहरुको रुचिअनुसारका  बिषय बस्तुको कार्यक्रमहरु निर्माण हुन नसक्नु कारण पनि नेपाली दर्शकहरुले भारतीय तथा अन्य बिदेशी TV च्यानलहरुबाट प्रदर्शित कार्यक्रमहरु बढी हेर्ने गरेका छन्। केहि नेपाली टिभी कार्यक्रमहरु छन् जसलाई नेपाली दर्शकहरुले खुबै रुचाउछन्, तर त्यस्ता कार्यक्रमहरु थोरै मात्रै छन् र एक दुई  TV च्यानलहरुबाट मात्रै त्यस्ता स्तरीय टिभी कार्यक्रमहरु प्रदर्शित हुन्छन। फेरी निर्माण गरिएका कति टिभी कार्यक्रमहरु स्तरहीन तथा समय परिस्थिति अनुकुल हुदैनन्। यसरी अत्याधिक नेपालीहरुले नेपाली टिभी च्यानलबाट प्रशारण हुने कार्यक्रमहरु हेर्दैनन्। 
माथि उल्लेख गरिएका सबैको कारण हो, सम्बन्धित क्षेत्रको विज्ञको अभाव, सक्षम जनशक्तिको अभाव, आफुले निर्माण गर्न लागेको फिल्म, Short Film वा कार्यक्रमको सम्बन्धमा बिषयगत उचित तथा पूर्ण जानकारीको कमीले  गर्दा नै स्तरीय र दर्शनिय नभएका तथा अत्यधिक दर्शकहरुले निर्माण भएका फिल्म, Short Film वा टिभी कार्यक्रमहरु नरुचाएका हुन्। अतः यिनै तथ्यलाई मनन गरेर SINAJ Entertainment & Event Management ले  फिल्म Short Film र TV कार्यक्रम निर्माण गर्ने तथा त्यसरी आफुले निर्माण गर्ने फिल्म, Short Film र TV कार्यक्रमको लागि आवश्यक कलाकार प्राविधिकहरुलाई सम्बन्धि बिषयमा प्रशिक्षण दिने र आवश्यक जनशक्ति तयार गरी कार्यक्रम निर्माण गर्न लागिपरेको छ। त्यसरी प्रशिक्षित कलाकार प्राविधिकहरुले भविष्यमा आफै स्तरीय कार्यक्रम निर्माण गर्न सक्ने र आफु जस्तै सक्षम जनशक्ति समेत तयार गर्न सक्षम हुने छन् भन्ने उद्देश्य लिएर अगाडी आएको छ: 
SINAJ Entertainment & Event Management ।  

Friday, December 8, 2017

निर्वाचन ! कार्यकर्ता अनि नतिजा !

(कथा)                                                                                -किशोर खत्री 
नेता, कार्यकर्ता र हामी जस्ता सर्वसाधारणहरुको बिभिन्न अड्कलबाजी तथा व्यक्त अव्यक्त विचारहरुका बाबजुद हाम्रो देश नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएपछि पहिलोपटक  प्रतिनिधि सभा र प्रदेश सभाको ऐतिहासिक रुपमा सम्पन्न भएको निर्वाचनमा आफुले पनि आफ्नो अमुल्य मत खसाले। त्यसरी मतदान गरेपछि आफुले आफुलाई नै गर्विलो महशूस पनि गरें। मतदान गरिसके पछि अब खुबै खुल्दुली हुन् थाल्यो, कसले जित्ने हो भनेर। त्यसैले यसो नेता कार्यकर्ताहरु जम्मा भएर कुराकानी गरिरहेको स्थानमा पुगेर उनीहरुको गफ सुनेर कुरा बुझ्ने प्रयत्न गरें। सबै आ आफ्नै तर्क खुबै अनुभवका साथ सुनाउदै थिए। कोहि कुन पार्टीका नेताले जित्छ भन्थे भने कोहि अर्कै पार्टीका नेताले जित्ने ठोकुवा गर्थे। आफ्नो एकलौटी अनुसन्धानको डाटा सम्म केलाएर फलानो पार्टी र तिनका नेताले जित्ने कुरा ठोकेरै भन्दै थिए। सबै तिर डुलेर सबैको कुरा सुनी सकेपछि पनि मन शान्त नभएकोले म आफ्नो घर नजिकैको राजनीतिक चौतारोमा गए। 
राजनैतिक चौतारो, यहाँ प्राय सबै राजनैतिक कार्यकर्ता लगाएतका सानातिना नेताहरु जमघट हुन्छन्  र ठुला ठुला राजनैतिक गफ ठोक्छन। यो राजनैतिक चौतारोमा देश विदेशका राजनैतिक देखि ठुला ठुला विकास र देश निर्माण लगाएत व्यापार व्यवसाय देखि देशको प्रशासनिक, शिक्षा स्वास्थ्य लगायत सबै बिषयमा एकआपसमा गहन छलफल हुने गर्छ एकापसमा। आफुले सुनेका पढेका र देखेका कुराहरु एकआपसमा सुनाइन्छ। त्यसैले त्यहाँ अवश्य केहि कुरा थाहा पाइन्छ जस्तो लगेर त्यतैतिर लागे। त्यहाँ आफुले आफुलाई राजनीतिका प्रकाण्ड ज्ञाता सम्झने सुर्य प्रसाद ज्यू आफ्नो वरिपरि केहि अनुयायीहरुलाई चुनावको विश्लेषण गरेर नतिजाको भविष्यवाणी गर्दै थिए। "उसको भोट उसले काट्छ, उसको भोट उसले तान्छ, हाम्रो भोट सबै हामीलाई आउछ, यो हिसाबले हाम्रो पार्टीले कम्तिमा पनि २० / २५ हजार भोट ल्याएर बिजयी हुन्छ।" त्यसै समयमा सुर्य
प्रसादको फोनको घण्टी बज्न थाल्छ। फोन हेरेर, "हाई कमाण्डबाट, हाम्रो नेता ज्युको फोन रहेछ" भन्दै, फोनमा कुरा गर्न थाल्छ। "एकदम राम्रो भएको छ हजुर, अब तिनीहरुको भोट भनेको सबै त्यहि क्षेत्रको हो, त्यहाको भोट सबै तराजुमा गयो, फेरी असन्तुष्ट समेत उठेको छ, खसेको ६७ प्रतिशत भोटमा हाम्रो गठबन्धनका उम्मेदवारलाई आधी झर्छ, बाँकी रहेको आधीमा १५ देखि २० प्रतिशत तराजुमा खस्छ, अनि बाँकि रहेको रुख बहादुर लाई जान्छ।  त्यसैले हाम्रो नेताज्यूले १५ देखि २० हजार भोटले जित्नु हुन्छ हजुर। यो कुरो एकदम कन्फर्म हो। …! उताबाट के जवाफ आयो कुन्नी सुर्य प्रसादले हाँस्दै बोलीमा चिप्लो घस्दै नेतालाई फोनमा भन्न थाल्यो,"हजुर, केटाहरु खुबै खटेका थिए, यसो केही खाने कुरो गर्दै थिए। के गर्ने हजुर, पछिलाई पनि चाहिन्छ।" त्यसपछि नेताको कुरो सुनेर दंग पर्दै हस हस भनेर फोन खल्तीमा राखेर ट्वाल्ल परेर आफैलाई हेरिरहेका आफ्ना अनुयायीहरुलाई भन्न थाल्यो, "ल साथीहो येसो स्टेशन तिर लागौ, जलपान गर्न।" सुर्य प्रसादको कुरा सुनेर सबै अनुयायीहरु दंग पर्दै सुर्य प्रसादको पछि लगेर गए स्टेशन तिर, स्टेशन,याने यिनै कार्यकर्ता देखि छोटे नेताहरुले जांड खाने रेष्टुरेन्ट।

उनीहरु स्टेशन लागेपछि मलाई कता लागौ भयो, किनकी सुर्य प्रसादको कुरा सुनेर मलाई झनै उत्सुकता जागेर आएको थियो। त्यसैले राजनैतिक चौतारोकै अर्को छेउमा आफ्ना चेलाचपेटाहरुका बिचमा उभिएर खुबै दंग परेर भर्खरै सकिएको निर्वाचनको विश्लेषण गरेर सुनाउदै गरेको रुख बहादुर तिर लागे।  
रुख बहादुर जोशिएर दंग पर्दै चेलाचपेटालाई सुनाउदै थियो, "घामको राप रुखले पर्ने भयो सखाप, … त्यो तराजुले भोट काट्छ रे, तराजुले जित्छ रे, …!" त्यसै बेला फोनको घन्टी बज्न थाल्यो, … "ये ये, दाइको फोन आयो, एकै छिन है त्,… जय नेपाल दाई," दाईले के सोध्यो कुन्नी, रुख बहादुरले आफ्नो सुकेको छाती फुकाउदै आफुले गरेको चुनावको काल्पनिक नतिजा सुनाउन थाल्यो "हजुर ढुक्क भए हुन्छ, हाम्रो छेत्रमा जम्मा ६७ प्रतिशत मत खस्यो दाई, त्यसमा तराजुले त्यही ५ / ६ हजार मत ल्याउछ। ७/८ हजार गठबन्धनले ल्याउछ। यसरी अब थोरैमा पनि दाईले १५ हजार भोटले जित्ने निश्चित नै छ दाई। …, होइन होइन दाई, यसमा कुनै यताउता छैन, यो मेरो सबै मतदातालाई व्यक्तिगत भेटेर गरेको विश्लेषण हो दाई, तेसैले यो एकदम निश्चित नै हो।  दाई को जित निश्चित छ" …., हाँसेर, " यो मेरो मात्रै होइन दाई, सबै साथीभाईको मेहनतले यो सम्भब भएको हो दाई।" दाईले के भन्यो, कुरा सुनेर फेरी हाँस्दै भन्न थाल्यो," दाई, हाम्रा भाईहरुले खुबै मेहनत गरेका थिए आज, जिउ दुखेर खुबै थाकेका छन् रे, यसो थकाई मर्नु पर्यो भन्दै थिए,… के गरौँ दाई?"….हाँस्दै,"हस्, हस्, भैहाल्छानी" भन्दै फोन राख्छ र चेलाचपेटालाई सुनाउदै भन्न थाल्यो, "ल, साथी हो, अब लागौ स्टेशन तिर।"
रुख बहादुर पनि आफ्ना चेलाचपेटा सहित स्टेशन तिर लाग्छ। मलाई झन् कौतुहल बढ्छ। सुर्य प्रसाद र रुख बहादुरको कुरा सुनेर।  अझ तराजु वालाको कुरा त् झन् के होला ? दुई थरिको आ आफ्नै विश्लेषण सुनेर झन् कौतुहल बढेर आयो।  दुवै टोली स्टेशनमा गएका छन्।  पक्कै त्यहाँ राम्रै कुरा पत्ता लाग्न सक्छ जस्तो लगेर मैले आफुलाई रोक्नै सकिन स्टेशन भित्र छिर्नबाट। 
अहा ! स्टेशन त् गजबको रहेछ, राम्रा राम्रा भर्खरका चिटिक्क परेका तरुनी केटीहरुले खानेकुराहरु र रक्सी बाढी रहेका थिए। एउटा कुनामा सजिएको स्टेजमा कट्टु मात्रै लगाएर हिन्दी सिनेमाको गीतमा आफ्नो स्तन निचोरेर नाच्दै थिइन् एउटा सुन्दरी। अनि त्यही नाच हेरेर दंग पर्दै बेलाबेलामा आफु बसेको कुर्सीबाट उठेर खुट्टा ठटाएर हात हल्लाउदै नाच्ने प्रयास गर्दै थिए बेलाबेलामा सुर्य प्रसाद र रुख बहादुर, बाहिर अघी कर्के आँखाले पनि एकापसलाई नहेर्नेहरु अहिले एकापसमा अंकमाल गरेर बेलाबेलामा नाच्थे पनि सुर्य प्रसाद र रुख बहादुर। म यो सबै देखेर झन् अलमल्लमा परें। निर्वाचनको नतिजा जान्न आएको, यस्तो दृश्यले त् झन् अकमक्क भए। के गरौ के गरौ भयो। फर्कुकी जस्तो पनि नालाग्य होइन, तर आफ्नो कौतुहलले गर्दा अझै केहि बेर बसेर केहि कुरा बुझ्ने विचार गरें।  सुर्य प्रसाद र रुख बहादुर नाचेर केहि छिनमा एउटा खाली टेबलमा बस्न गए। अनि म पनि उनीहरुको कुरा राम्ररी सुन्ने ठाउमा गएर बंसे। दुवैजना रक्सीले धुत भएर एकआपसलाई अंकमाल गर्दै कुरा गरिरहेका थिए। सुर्य प्रसाद भन्दै थियो,"यार, रुख कस्तो छ तिम्रो अनुमान, कसले जित्छ जस्तो लाग्छ त् ?" रुख बहादुर पनि लारबराउदै भन्दै थियो,"खै कसले जित्छ कसले, जसलाई सोध्यो उसले भोट तपाईलाई नै हाले भन्छन। यहाँ आफुले चाही रुख रुख भन्दा भन्दै तराजुमा पो भोट हलेछु भन्या, हेर न सुर्य।" …,  रुख बहादुरको कुरा सुनेर सुर्य प्रसादले पनि दिल खोलेर हास्दै भन्यो,"त्यही त् भन्या हेरन, मैले पनि तरजुमै भोट हालिदिएछु भन्या।" दुवै जना दिलखोलेर हास्न थाल्छन। म उनीहरुको कुरा सुनेर झन् रनभुल्लमा पर्छु। अघि आफ्ना अनुयायी र चेलाचपेटाहरु संग गरेको एकथरी कुरो अनि पछि नेताहरु संग गरेको कुरा र अहिले रक्सीले मात्तिएर एकापसमा गरेका कुरा सुनेर म चुनावको नतिजा के हुन्छ भनेर बुझ्न हिडेको मान्छे यस्ता कुरा सुनेर अक्क न बक्क भए, फेरी सम्झिए रक्सीले मातेका मानिसहरु सत्य नै बोल्छन। अनि बुझ्ने प्रयास गरे यस्ता कार्यकर्ता भएका नेताहरुको नतिजा अब कस्तो होला? म मनन गर्दै घर जान उनीहरुको स्टेशन बाट निस्किए।  

Wednesday, November 22, 2017

होसियार ! आफ्नो अमुल्य मत दिदै हुनुहुन्छ !

अहिले देश चुनावी माहोलमा रुमल्लिरहेको छ। साना ठुला सबै प्रमुख राजनैतिक दलहरु र उम्मेद्वार लगायत नेताहरु आ-आफ्नो प्रदेश, क्षेत्रहरुमा जनताको घरदैलोमा गई विभन्न बिकाशका कार्यहरु गर्ने बाटो बनाउने शिक्षा स्वास्थ्य सर्वसुलभ बनाउने जस्ता योजनाहरुको प्रलोभन देखाएर आफु र आफ्नो पार्टीबाट उठेका नेताहरुका लागि भोट मागिरहेका छन्।
त्यसरी भोट माग्ने प्रवृत्ति त् परम्परागत चलिआएको राजनैतिक रितिथिति नै भैसक्यो। त्यसरी भोट मागेर जितेका प्रायः सबै नेताहरुले बिकासको नाममा सायद सिन्को भाँचेका छैनन् होला। पहिलेको पंचायती कालको कुरालाई बिर्सिएर २०४७ सालमा प्रजातन्त्र प्राप्ति पछिको
बिभिन्न समयमा भएको चुनावको मात्रै कुरा गर्ने हो भनेपनि नेताहरु भोट माग्न देखि कुनै समय आफ्नो जिल्ल, प्रदेश वा चुनावी क्षेत्रमा जाने त् कुरानै नगरौ सम्झिन सम्म पनि सम्झेको देखिदैन।  तर जब जब देशमा चुनावको चहलपहल चल्न थाल्छन अनि नेताहरुमा देश बिकाशका कुराहरु फुर्न थाल्छन। बिकाशका बिभिन्न योजनाहरु बन्न थाल्छन। घर दैलो कार्यक्रम देखि जुनसुकै स्थानमा हुने राजनैतिक जमघटमा अति दुर्गम क्षेत्रमा समेत बिभिन्न बिकाशका योजनाहरु बन्छन, पिचरोड बन्छन, ठुला ठुला कलकारखाना बन्छन, अस्पताल बन्छ, ठुला राम्रा स्तरीय स्कुल कलेज बन्छन, तर त्यसको लागि पहिले जिताउनु पर्छ सोझा निमुखा नागरिकहरुले आफ्नो अमुल्य मत दिएर उही नेताहरुलाई। अनि चुनावमा त्यसरी जितेको भोलिपल्टबाट त्यस्ता नेताहरुको नाकमुख देखिदैन, अर्को चुनाव नआए सम्म।
हो यही क्रम अहिले सम्म पनि चलिरहेको छ।  अब दुर्गम गाउँघर को त कुरानै छोडौ, यही राजधानिको कुरा सम्झने हो भने पनि स्थानिय चुनावमा कति मेयर, वडा अध्यक्षहरुले आफुले गरेको भनेको कुराहरु एउटा गरेका छैनन्।  जनताको समस्याहरु केहि नबुझ्ने, अनि समाधान गर्ने त् कुरै नगरौ। तर आफ्नो सुबिधा सर्वप्रथम पुरा गर्ने, त्यो पनि उही निर्धो सोझा जनताहरु बाट देश बिकाश गर्न उठाएको कर तथा अन्य शुल्कबाट।  अब त्यस्ता नेताहरुले के गर्लान भन्ने अपेक्षा राख्ने, अनि कुन पार्टीका नेतालाई आफ्नो अमुल्य मत दिएर छनौट गर्ने ? जनताहरु अहिले यही समस्यामा अल्झिरहेका छन्। भने नेताहरु कसरी कुन के कस्ता प्रलोभन बाढेर भोट बटुल्ने भन्ने शुरमा छन्।
अब पहिलेको जस्तो समय यो होइन, पाँच बर्षका लागि उनीहरुलाई हामीले देश बिकाश र बिभिन्न काम गर्न
हाम्रो प्रतिनिधि छानेर पठाएका हौ। त्यसैले त्यस्ता प्रतिनिधि चुन्नु पर्छ हामीले जसले कमसेकम देश र जनताका समस्याहरु बुझेर केहि गर्ने जमर्को गरोस। पार्टीको घोषणा पत्र र आफ्नो भाषणमा हुनै नसक्ने असम्भव खोक्रा र चिप्ला आकर्षक कुराहरु भन्दा केहि गर्ने र गर्छु भन्ने परिचित नेतालाई चिन्ने प्रयास गरौ। अनि त्यस्ता नेता छनौट गरौ जो देश र जनताका लागि आवश्यक योजनाहरु बनाउने मात्रै नभई त्यसमा अमल गर्ने प्रतिनिधि छनौट गरौँ।
केहि दिनमा चुनाव हुदैछ, अतः सबै सचेत हुनु पर्ने समय भएको छ। नेतालाई चिनेर आफ्नो मताधिकार प्रयोग गर्नु पर्ने समय भएको छ। कसलाई र कस्तो नेता छान्ने त्यो हामीमै निर्भर गर्दछ, तर त्यसकोलागी हामीले चुनावमा हाम्रो घरदैलोमा आएर भोट माग्ने अनि चुनाव सकिए पछि बिर्सिएर पनि नफर्कने नेतालाई तिरस्कार गर्नै पर्छ। त्यस्तै कहिले नदेखिएका, बिदेशमा बसोबास गर्ने तर विदेशीकै सल्लाहमा देश भित्रिएर अफ्नो कला संस्कृति तथा राष्ट्रिय पहिचानलाई समेत बेच्न पछि नहट्ने प्रवृत्तिका नेताहरुलाई समेत अहिले देखा परेका छन्। तेसैले त्यस्तालाई समेत हामीले खुट्याउनु परेको छ। किनकी चोर फटाह,गुण्डा अनि देशलाई बिदेशी गुलाम बनाउने नेताहरुलाई पहिचान गरि देशभक्त स्वाभिमानी नेपालीलाई चिनेर आफ्नो प्रतिनिधि छनौट गरि आफ्नो मताधिकारको प्रयोग गरौ नकी केहि रकम, केहिदिन मिठो मसिनो खान दिएको र मिठो सपना मात्रै बाडेर अर्को चुनाव सम्म हराउने नेतालाई चिन्नु पर्छ।
यसरी अब कसलाई किन आफ्नो अमुल्य भोट दिएर बिजयी बनाउने समय मै सोचौ सचेत होऔं, किनकि हामी धेरै पटक झुक्कियी सक्यौ, धेरै चोटी ठगीई सक्यौ। तेसैले अब हाम्रो पालो आएको छ। होस् गरेर सही व्यक्ति नै छनौट गरौ।  सावधान। अब फेरी दुख पाउनु छैन। आफ्नो अमुल्य मत प्रयोग गर्नु पुर्व राम्रोसँग विचार गरौँ। अनि मात्रै आफ्नो अमुल्य मत प्रयोग गर्नुहोस। फेर एकपटक सावधान। तपाई कसलाई आफ्नो मत दिदै हुनुहुन्छ?

Sunday, November 12, 2017

नेपालले क्रिकेट खेलमा भारतलाई पराजित गर्दै इतिहास रच्यो ।

एसियन क्रिकेट परिषद (ACC) को आयोजनामा शुक्रबार, १० नोभेम्बर २०१७ बाट मलेसियामा संचालन भैरहेको यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा जम्मा ८ राष्ट्रका टोलीहरुको सभागिता रहेको छ। जसमा पाँचवटा टेष्ट मान्यता प्राप्त राष्ट्र संगै दुई क्षेत्रीय विजेता राष्ट्र तथा एक आयोजक राष्ट्र सम्मिलित छन्। जसमा नेपाल पूर्वीय क्षेत्र बिजेताको हैसियतमा प्रतियोगितामा प्रतिष्पर्धा सहभागी भएको छ।
नेपाल  भारत लगाएत  बंगलादेश तथा आयोजक राष्ट्र मलेसिया रहेको समूह A मा छ। त्यस्तै यस समूहमा

रहेको भारत गत बर्षको बिजेता राष्ट्र हो र यो सालको प्रतियोगिताको समेत प्रवल दावेदार राष्ट्र भारत नै हो। त्यस्तै बंगलादेश टेष्ट मान्यता प्राप्त राष्ट्र हो र यसले ठुला प्रतियोगितामा क्रिकेटमा शक्तिशाली राष्ट्रहरुलाई समेत हराउदै आएको छ। मलेसिया आयोजक राष्ट्र हो। क्रिकेट नेपालले विगतदेखि हराउदै आएको मध्ये एउटा राष्ट्र हो।
नेपालले आफ्नो पहिलो खेल शनीवार बंगलादेश संग खेलेको थियो र बर्षाले प्रभावित भएको उक्त खेलमा नेपाल सम्मान जनक रुपमा दुई विकेटले हारेको थियो। बंगलादेशले प्रतियोगिता जित्नलाई अन्तिम बल सम्म कडा प्रतिष्पर्धा गर्नु परेको थियो।
त्यस्तै आज नेपालले आफ्नो दोश्रो खेल भारत संग खेलेको थियो। टस जितेको भारतले नेपाललाई पहिलो ब्याटिंग गर्ने निम्तो दिएको थियो र नेपालले पहिलो ब्याटिंग गर्दै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोड्यो। १८६ रनको विजय लक्ष लिएर खेल्न आएको भारतीय U19 क्रिकेट टीम ४८. १ ओभरमा आफ्नो सम्पूर्ण खेलाडी गुमाएर मात्र १६६ रन जोड्न सफल भयो।
यसरी क्रिकेट खेलको महारथी भारतलाई अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक पराजित गर्दै नेपालले क्रिकेट खेलमा इतिहास रचेको छ।

बधाई छ U 19 नेपाली क्रिकेट टीम !     

Sunday, October 29, 2017

भ्रष्टाचार तथा चरम लापरवाहीको नमुना।

गये राती देशको राजधानी लगायत बिभिन्न स्थानमा असिनाको साथै  भएको भिषण बर्षाले ठाउँ ठाउमा ठुलो नोक्सानी समेत पुर्याएको छ। कति ठाउमा काट्न तयार अवस्थाको धान बालीलाई समेत क्षति पुर्याको खबर छ।
त्यस्तै काठमाडौँको गौशालामा अवस्थित भण्डारखालको पश्चिम पट्टि सडक संगै दुई महिना अगाडी मात्रै निर्माण सम्पन्न गरिएको पर्खाल पनि सोहि बर्षाले भत्किएको खबर आएको छ। भत्किएको पर्खालमा एउटा ट्याक्सी तथा दुइवटा सुमो जीप पुरिएका छन्। त्यो पर्खाल भत्किएको ठाउमा गएर अवलोकन गर्ने हो भने त्यो दुर्घटना कम्जोर तथा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरि मापडण्ड बिपरित निर्माण सम्पन्न गरिएको कारण नै भत्किएको कुरा प्रष्टैसँग बुझ्न सकिन्छ। तर पर्खाल भत्किनुको कारक बन्यो अघिल्लो दिनको असिना सहित परेको भिषण वर्षा।  
पशुपति बिकाश कोषको हातामा रहेको सार्वजनिक जग्गामा पार्क बनाउन भिरालो तथा ढिस्कोलाई जग्गालाई सम्याएर त्यसलाई सुरक्षित पारी छेक्ने कार्यको लागि ठेकेदारलाई बनाउने जिम्मा दिएकोमा दुई महिना अगाडी निर्माण सम्पन्न गरिएको त्यो पर्खाल गएराती परेको असिना पानीले भत्किएको खबर बिभिन्न पत्र पत्रिकामा समेत छापिएका छन्।  यसरी मापडण्ड बिपरित निर्माण सम्पन्न गरिएको दुई महिना नपुग्दै भत्किएको पर्खाल र त्यसबाट भएको क्षतिको जिम्मेवारी कसले लिने ? गाडीको त् इन्सुरेन्स कम्पनीले ब्यहोर्ला, तर निर्माण कार्य लगाएत त्यको सुपरभिजनमा सम्बन्धित निकाय तथा
अधिकारीहरुबाट भएको चरम लापरवाही तथा कमिशनको खेलले गर्दा भएको आर्थिक क्षतिको जिम्मेवारी कसको हो त् ? सरकारी लगानीमा हुने निर्माण कार्यमा हुने लापरवाहीको उदाहरण यो मात्र एउटा होइन। तर भएका त्यस्ता लापरवाही तथा भ्रष्टाचारको घटनामा दोषीमाथि कारवाही नभएकै कारण बारम्बार यस्ता घटनाहरु दोहरिरहने भएकोले समयमै दोषीलाई कडा भन्दा कडा उचित कारवाही तथा दण्ड सजाय हुनुपर्छ, होइन भने भविष्यमा यस्ता घटना तथा दुर्घटना हरु बारम्बार दोहरिरहने छन्।  

Monday, October 9, 2017

नेपाली चलचित्रको इतिहास र छक्क पन्जा २ !

- किशोर खत्री 
नेपाली फिल्मको इतिहास खोतल्दा, खास्सै भन्ने हो भने भारतीय नेपालीहरुले बनाएको नेपाली चलचित्र सत्य हरिशचन्द्र (प्रथम प्रदर्शन १४ सेप्टेम्बर १९५१ मा कोलकत्तामा भएको थियो) लाई छोड्ने हो भने, आमा (प्रथम प्रदर्शन ७ अक्टोबर १९६४) लाई पहिलो नेपाली चलचित्र मान्न सकिन्छ। यो चलचित्रमा कलाकार देखि प्राविधिकहरु सबै प्रायः नेपाली नै थिए। त्यसको झन्डै २ बर्ष पछि (१९६६को अन्त तिर) भारतमा बस्ने नेपालीहरुको  निजी लगानीमा निर्माण भएको बि.एस. थापा द्वारा निर्देशित चलचित्रमाइतीघर  लाई नै पहिलो निजी लगानिमा निर्माण भएको नेपाली चलचित्र मानिन्छ।
यस चलचित्रमा कलाकार लगाएत प्राविधिकहरु समेत प्रायः भारतीयहरु नै थिए। जुन चलचित्र व्यवशायिक रुपमा समेत खुबै सफल भएको थियो। १९७१ मा चलचित्र बिकाश बोर्ड (तत्कालिन शाही नेपाल चलचित्र संस्थान) को स्थापना पश्चात सरकारी लगानिमा सूचना बिभाग, नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) ले स्व. हीरा सिंह खत्रीको निर्देशनमा निर्माण गरेको नेपाली चलचित्र मनको बाँध  १९७३ मा प्रदर्शन भयो। त्यस्तै १९७८ मा नेपाली चलचित्र   कुमारी  को प्रदर्शन भयो। कुमारी नेपाली चलचित्रको इतिहासमा पहिलो रंगीन चलचित्र थियो। त्यस भन्दा अगाडी निर्माण भएका सबै चलचित्रहरु श्याम स्वेत (Black & White) थिए। यसरी नेपाली चलचित्रको इतिहास केलाउदा, सन् १९५१ देखि १९७० सम्म २ दशकमा जम्मा जम्मी ८ वटा मात्रै नेपाली चलचित्रहरु  निर्माण भएको भेटिन्छ।
नेपाली चलचित्रको बिकाशको क्रममा १९८० को दशकलाई नेपाली चलचित्रको स्वर्णिम युग मानिन्छ। त्यस दश बर्षको अवधिमा २२ वटा नेपाली चलचित्रहरु निर्माण भएका थिए र प्रायः सबै चलचित्रहरुलाई नेपाली दर्शकहरुले खुबै मनपराएका पनि थिए। त्यस बेला निर्माण भएका चलचित्रहरुको गीतसंगीत आजको दिनसम्म पनि त्यतिकै लोकप्रिय छन्, भने त्यस समयको नेपाली समाजमा देखिएका घटना परिघटना नै चलचित्रका प्रमुख बिषय भएकोले पनि चलचित्रहरुलाई दर्शकहरुले खुबै रुचाएको कारण  नै  सबै  व्यवसायिक रुपमा पनि सफल भएका हुन् । फरक यति मात्रै थियो, कुनै चलचित्रले अधिक मुनाफा आर्जन गरे, कुनैले केहि कम मुनाफा कमाए। नेपाली चलचित्रको यस अवधिमा निजी निर्माण कम्पनीहरु पनि धमाधम थपिएका थिए, नेपाली चलचित्र उद्ध्योगमा र राम्रा चलचित्रहरु निर्माण गरे।
यसरी नै १९९०को दशकमा राजनैतिक अस्थिरताले गर्दा चलचित्र निर्माण तथा प्रदर्शनमा केहि अप्ठ्याराहरु र समस्याहरुका बाबजुद थुप्रै नेपाली चलचित्रहरु निर्माण तथा प्रदर्शन भएका थिए । साथै यस अवधिमा निर्माण भएका अधिकांस चलचित्रहरु व्यवशायिक रुपमा  असफल पनि भएका थिए। त्यस अवधिमा १७० वटा जति नेपाली चलचित्र निर्माण भएको देखिन्छ।
त्यस्तै सन् २००० को दशकमा पनि अघिल्लो दशकमा जस्तै थुप्रै नेपाली चलचित्रहरु निर्माण भएका थिए भने केहि चलचित्रलाई छोडी प्रायः सबै चलचित्रहरु असफल भएका थिए। सस्ता र C ग्रेडका अश्लिल भारतीय चलचित्रहरुको नक्कल गर्दै थुप्रै नेपाली चलचित्रहरु निर्माण भए, जसले नेपाली चलचित्र प्रेमी दर्शकहरुमा नेपाली चलचित्र प्रति बितृष्णा नै ल्याइदियो। यसले नेपाली
चलचित्र हेर्ने दर्शकहरु स्वाट्टै घटाईदियो  । यहि समयमा ठुला ठुला सपिङ्ग मलहरु निर्माण हुने क्रम बढे संगै स्तरिय लग्जरियस मल्टिप्लेक्स सिनेमा हलहरु थपिदै गए पनि नेपाली चलचित्र हेर्ने दर्शक बढ्न सकेन। तिनै हलहरुमा कुनैपनि भारतीय चलचित्र हेर्ने दर्शकहरुको ठुलो भिड जम्म नहुनेपानी होइन। तर नेपाली चलचित्रहरुले दर्शकहरुलाई आकर्षण गर्नै सकेन। समय समयमा एकाध स्तरिय नेपाली  चलचित्र निर्माण भै प्रदर्शन हुदाँ दर्शकहरुको भीड जम्मा नहुने पनि होइनन। त्यस्ता चलचित्रहरुले व्यवशायिक सफलताका साथै ठुलै मुनाफा पनि  नकामयेका होइनन् । तर त्यस अवधिमा बनेका अधिकांस
चलचित्रहरु स्तरहीन र भारतीय C ग्रेड चलचित्रको फोटो कपी नै जस्तोगरी निर्माण गरेका चलचित्रहरुको कारण हराएका दर्शकहरुलाई नेपाली चलचित्र निर्माता, निर्देशक, प्रमुख कलाकारहरु समेतले नेपाली भएर नेपाली चलचित्र भन्दा भारतीय चलचित्र हेर्छन भन्ने जस्ता कुराहरु फैलाएर नेपालमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाउनु पर्ने जस्ता कुराहरु समेत नल्याएका होइनन्। साथै केहि चलचित्र निर्माता निर्देशकहरुले नेपाली चलचित्र हेरिदिन हारगुहार नगरेका पनि होइनन्। तर नेपाली दर्शकहरु राम्रा र स्तरिय चलचित्र नभई हलमा आउदै आउदैनन थिए। यस्ता कुराहरुले नेपाली चलचित्रसँग सम्बन्धितहरुको मानसिकता कति कम्जोर रहेछ भनेर समेत प्रष्ट्याइ दिएको थियो।
सन् २०१० पछि बिस्तारै नेपाली चलचित्र निर्माणमा चलचित्र सम्बन्धि अध्ययन गरेका प्रतिभाशाली निर्देशक, कलाकार तथा प्राविधिकहरुको प्रवेश हुनाका साथै अत्याधुनिक प्रविधिहरु पनि भित्रिन थाल्यो। त्यसपछि नेपाली चलचित्रको धार पनि बिस्तारै परिवर्तन हुदै यथार्थवादी चलचित्रहरु बन्ने क्रम बढ्न थाले। त्यस पश्चात बनेका केहि चलचित्रहरुले ठुलो सफलताका साथै मुनाफा समेत आर्जन गरे ।
यसरी नेपाली चलचित्र निर्माण बिस्तारै अहिलेको अवस्थामा आइपुगेको छ।  अहिले पनि राम्रा नराम्रा नेपाली चलचित्रहरु निर्माण भैरहेका छन्। नेपालका चलचित्र भवनहरुमा अहिले छक्क पन्जा २ लगाएत अन्य केहि चलचित्रहरु चलिरहेका छन्।
नेपाली चलचित्रको लागी खुसीको कुरा हो अहिले पुनः नेपाली चलचित्र हेर्ने दर्शकहरु ठुलो संख्यामा ह्वात्तै वृद्धि भएको छ। अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्रछक्क पन्जा २ सँग सम्बन्धित सबैलाई हार्दिक बधाई तथा धन्यवाद राम्रो चलचित्र निर्माण गरेको र ठुलो संख्यामा नेपाली दर्शकहरुलाई नेपाली चलचित्र हेर्न हलमा ल्याउनु भएकोमा र चलचित्र निर्माण पक्षमा सर्वसम्पन्न भारतीय चलचित्रलाई समेत व्यवशायिक चुनौती दिदै सफलता हासिल गरेकोमा। यसरी राम्रो र स्तरिय चलचित्र निर्माण हुने हो भने कसैले कसैलाई दोष पनि थुपार्नु पर्दैन र कसैले कसैलाई चलचित्र हेर्न हारगुहार पनि गर्नु पर्दैन।  त्यस्ता राम्रा चलचित्र हेर्न दर्शकहरु आपसे आप हलमा धाउछन् भन्ने कुरा राम्रा नेपाली चलचित्र प्रदर्शन भएको समयमा हामीले देखिरहेका छौं। बरु ध्यान दिनु पर्यो कि यो क्रमलाई निरन्तरता दिन अझ राम्रो र स्तरिय नेपाली चलचित्र निर्माण गरेर निरन्तर अगाडी बढ्न। अनि भोलिको दिनमा अवश्य नेपाली चलचित्रले बिश्व चलचित्र बजारमा पनि धाक जमाउने छ।
अहिले त्यस्ता चलचित्रहरु समेत निर्माण हुन् थालेका छन्, जसले ठुलो बजेट, अत्याधुनिक प्रविधि र विश्व चलचित्र बजारमा आधिपत्य जमाएको भारतीय चलचित्र सँग मुकाविला गरेर व्यापार युद्धमा समेत सफल भएका छन्।  यस्तो चलचित्रको पंक्तिमा अहिले प्रदर्शन भैरहेको नेपाली चलचित्र छक्क पन्जा २ लगाएतका केही नेपाली चलचित्रहरु निर्माण भई प्रदर्शन समेत भैसकेका छन्। अब बस यो क्रमले निरन्तरता पाउनु पर्यो।
        

Friday, September 22, 2017

स्वास्थ्य रहन औषधि र भिटामिन भन्दा खानेकुरामा विचार गरौँ ।

बिभिन्न अंगहरुले गर्ने काम तथा प्रकृतिको आधारमा हाम्रो शरीरलाई बिभिन्न भिटामिनहरुको आवश्यकता पर्दछ। त्यसरी शरीरलाई आवश्यक पर्ने सबै भिटामिनहरु हामीले दैनिक उपभोग गर्ने तथा खाने भोजन अनि खानेकुराहरुबाट नै उपलब्ध हुन्छ। यो कुरा सबैलाई थाहा भएपनि हामी नै अनुसरण गर्दैनौ। साथै हाम्रो स्वास्थ्यलाई हानी पर्याउने रेडिमेड तथा जंक फुडहरु बढी खान रुचाउदछौँ। यस्ता खानेकुरहरु मिठो र सर्वसुलभ भएपनि
स्वास्थ्यलाई भने बढी हानी पुर्याउछ। त्यस्तै हामीले दैनिक उपभोग गर्ने भोजन तथा खानेकुराहरुमा पौष्टिक तत्वयुक्त आहारहरुलाई  मिलाएर खाएनौ भने हाम्रो शरीरले अत्यावश्यक भिटामिनहरु प्राप्त गर्न सक्दैन र बिभिन्न रोगहरुले हामीलाई दुख दिन थाल्छ। त्यसैले हामीले आफ्नो खानपानमा बिशेष ध्यान दिनुपर्छ। यिनै कारणहरुलाई मध्यनजरमा राख्दै कुन खानेकुरा के को लागि उपयुक्त हुन्छ र त्यसमा के कस्ता भिटामिनहरु पाइन्छ र के कस्तो अवस्थामा हामीले के कस्तो खानेकुरा खादा उपयुक्त हुन्छ त्यस सम्बन्धमा छोटो जानकारी प्रस्तुत गरिएको छ जुन सबैको लागि उपयोगि हुनेछ ।  
  

खुट्टाको मसल्स दुख्ने वा तन्किएमा 

हाम्रो खुट्टाको मसल्स तन्किएर वा फर्किएर अथवा बौडिएर दुखेको प्रायः सबैले सुनेको देखेको वा भोगेको
हुनु पर्छ। त्यस्तो शरीरमा क्याल्सियम तथा पोटासियमको कमीले गर्दा हुन्छ। हामीले दैनिक उपभोग गर्ने केरा, बदाम, फर्सी, स्याउ तथा हरियो तरकारीहरुमा प्रसस्त मात्रामा क्याल्सियम तथा पोटासियम पाइन्छ।  त्यसैले भोजनमा यी खानेकुरा एवम् फलको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ।

ओठ फुट्न थालेमा 

जाडोको मौसम वा धुलो उड्ने समयमा प्रायः ओठ फुट्ने समस्यले सबैलाई सताएको हुन्छ।  त्यसरी ओठ फुट्ने कारण जाडो तथा धुलोले भन्दापनि हाम्रो शरीरमा आइरन, जिंक र भिटामिन B-12 को कमी भएर हो । यो कुरा सबैलाई थाहा नहुन सक्छ । यदि तपाईहरुको पनि समय समयमा ओठ फुटी रहन्छ भने हुन् सक्छ तपाईहरुमा पनि आइरन, जिंक र भिटामिन B-12 को कमी भएको हुनसक्छ। अतः त्यसको समाधानको लागि आइरन, जिंक र भिटामिन B-12 तत्व प्रसस्त पाइने खानेकुराहरु जस्तै: अण्डा, भेडे खुर्सानी, बन्दाकोबी र दलहरु प्रसस्त मात्रामा उपभोग गर्ने गर्नु पर्दछ। 

अनुहार चौरी परेमा 

भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएमा हाम्रो अनुहारको छाला पहेलो देखिने, फुस्रो हुने, चाया पोतो देखापर्ने र छालामा बिभिन्न खराबीहरु समेत देखा पर्न सक्छ। अतः यस्तो लक्षण तपाइको अनुहारमा देखिएको छ भने बुझ्नुहोस् तपाईको शरीरमा भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएको छ र त्यसकोलागी तपाईले आफ्नो भोजनमा उसिनेको अण्डा, बन्दाकोबी, Dry Fruits, सुन्तला र केराहरु प्रसस्त मात्रामा समावेश गर्नु पर्ने हुन्छ । 
टाउको दुख्ने, थाक्ने समस्य भएमा  

आलश्य वा थाकेको जस्तो हुने, टाउको दुख्ने समस्या प्रायः हामीले देखेका सुनेका छौ र तपाईलाई पनि
त्यस्तो अल्छि लाग्ने, थाकेको जस्तो हुने तथा टाउको दुख्ने समस्याले सताई रहन्छ भने कतै भिटामिन 'B', म्याग्नेसियमको कमी भएको छैन ? समयमै विचार गर्नुहोला। किनकी हाम्रो शरीरमा भिटामिन 'B' र म्याग्नेसियमको कमी भयो भने शरीर थाक्ने तथा टाउको दुख्ने हुन्छ। अतः भिटामिन 'B' र म्याग्नेसियम प्रसस्त मात्रामा हुने केरा, पालुंगो, बदाम, सिमी, जस्ता फल तथा तरकारीहरू आफ्नो खानामा समावेश गर्ने गर्नुहोस। 

हात खुट्टा सुन्निने समस्या छ भने  

शरीरमा भिटामिन 'B-6, B-9 र B-12 को कमी भएमा नर्वस सिस्टममा असर गर्छ र त्यसले हाम्रो हात खुट्टा सुन्निन्छ। यदि तपाईमा पनि यस्तो समस्या छ भने त्यसको समाधानको लागि आफ्नो भोजनमा पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरलाई दैनिक रुपमा समावेश गर्न थाल्नुहोस। किनकी पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरमा प्रसस्त मात्रामा भिटामिन 'B-6, B-9 र B-12 पाइन्छ। 

कपाल झर्छ भने 

यदी तपाईको कपाल झर्न थालेको छ, मुलायम र चम्किलो पनि देखिदैन भने होस् गर्नुहोस, तपाईको शरीरमा  भिटामिन 'B-7', जिंक र प्रोटिनको कमी भएको कारण यस्तो भएको हुनसक्छ । यस्तो भएको खण्डमा भिटामिन 'B-7', जिंक र प्रोटिन प्राप्त गर्न आफ्नो खानाको साथमा अण्डा, गेडागुडी, दाल, बदाम, चना, Dry Fruits (नट्स) तथा फर्सीको बियाँ आदीको समेत प्रयोग गर्नुहोस। किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'B-7', जिंक र प्रोटिन पाइन्छ। 
वजन घट्नु 
बिना कारण तपाईको तौल धेरै नै घटीरहेको छ र ढाड, कम्मर, हात खुट्टाको जोर्नीहरू दुख्छ भने तपाईको शरीरमा भिटामिन 'D' को कमी भएको हुनसक्छ। यदि त्यसो हो भने तपाई आफ्नो खानोको साथमा माछा, अण्डा, चीज, च्याउ आदी समेत खान थाल्नुहोस।  किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'D' पाइन्छ र साथै सुर्यको किरणबाट समेत हामी भिटामिन 'D' प्राप्त गर्न सक्छौ। घाम  अझै बिहानी पाखाको पहेलो घाम भिटामिन 'D' को प्रमुख प्राकृतिक श्रोत हो। 
तेसैले विचार गर्नुहोला आफुमा के कस्तो लक्षण देखापरेको छ, माथि लेखिए अनुसारका लक्षण देखियो भने घरैमा एकपटक आफ्नो आहारमा ध्यान पुर्याउदा समेत ठुलो फाइदा पुग्न सक्छ। साथै रोग लागेर उपाय अपनाउनु भन्दा प्रत्यक दिन आफ्नो खानामा उपरोक्त अनुसारका खानेकुराहरु समावेस गरेर भोजन गर्दा रोगबाट सदा सुरक्षित रहन सकिन्छ।  विचार गरौँ। 
स्वास्थ्य खाना खाऔँ, अनि स्वास्थ्य रहौं।   


Sunday, September 10, 2017

लाटीको छोरो ! एउटा उत्कृष्ठ नाटक ।

(नाटक समिक्षा)
धेरै लामो अन्तरल पछि रंगमंचमा गएर नाटक हेर्ने मौका जुरेकोले मण्डला थिएटर अनामनगरमा गएर शनीवार नाटक हेरियो। । श्याम शाहको मुख्य कथालाई सुलक्षण भारतीले नाट्य लेखन(रुपान्तर) तथा निर्देशन गरेर एउटा सुन्दर अनि नाटक प्रेमी दर्शकहरुको हरर्र भएको आँतलाई तृप्त पार्ने गरी नाटक लाटीको छोरो लाई पस्केका छन् भन्दा अत्युक्ति नहोला ।
एउटा पिछडिएको समाजमा बस्ने सोझा बोल्न नसक्ने निरही नगरिकहरु र त्यहि समाजमा बस्ने गन्यमान्य उच्च घराना तथा ठुला ब्यापारी र नेताहरु बिचको विभेद अझ यसलाई समाजमा रहेका उच्च स्तर र निम्न स्तरका मानिसहरु बिचको विभेद, साथै समाजमा बस्ने त्यस्ता तल्लो स्तरका समूदाय माथि समाजका माथिल्लो बर्गले हेर्ने दृष्टिकोण र उनलाई गर्ने असमान व्यवहारलाई प्रस्तुत गरिएको छ नाटक लाटीको छोरोमा ।
नाटकको पृष्ठ भूमिमा देखाईएको परापूर्व काल देखिको एउटा डोम बस्ती जसलाई पछि सुन्दरपुर नामाकरण गरिन्छ। नाम परिवर्तनगरी सुन्दरपुर राखिए पनि त्यस बस्तीमा असुन्दर रहनसहन, असहाय गरिब निमुखा र तल्लो जाती माथि हुने थिचोमिचो अनि सामाजिक, राजनैतिक तथा प्रशासनीक चलखेल नै नाटकको प्रमुख बिषय हो। कथा अनुसार डोम बस्तीबाट पछि बनेको सुन्दरपुर बस्तीमा सुष्तमनस्थिती भएकी लाटी बलात्कारको शिकार हुन्छिन् । कसले बलात्कार गर्यो ? (थाहा पाउन अवश्य नाटक हेर्नुहोला),
लाटी गर्भवती हुन्छे। त्यसपछि प्रशासनिक र राजनैतिक चलखेल पनि सुरुहुन थाल्छ। एक अर्कालाई शंकाको नजरले हेर्न थालिन्छ। समय बित्दै जादा बिस्तारै बलात्कार कसले गर्यो भन्ने रहश्य पनि खुल्दै जान्छ । समय पुगेपछि लाटीले छोरो जन्माउछिन् । छोरो ठ्याक्कै, …. सँग अनुहार मिल्छ । को सँग मिल्छ ? (नाटक हेर्नु पर्छ थाहा पाउन), यसरी लाटी लाई कसले बलात्कार गर्यो ? वास्तविक दोषि को हो ? रहस्य खुलेपछि के हुन्छ ? थाहा पाउन उत्सुक हुनुहुन्छ भने मण्डला थिएटरमा गएर अवश्य हेर्नुहोला, नाटक लाटीको छोरो .नाटक निकै राम्रोसँग उनिएको छ, साथै रोचक प्रस्तुतिले नाटक अवधिभरी दर्शकहरुको ओठमा मन्दमुस्कन रोकिन पाउदैन 
नाटकमा सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ । निर्देशकले पनि समाजको एउटा साधारण तर गम्भिर बिषयलाई हलुका हास्य रसमा घोलेर उत्कृष्ट नाटक
दर्शक माझ पस्किएको कुरा कुनै कन्चुस्याई नगरी स्विकार्न सकिन्छ ।
नाटकको अर्को आकर्षक पक्ष हो बरिष्ठ कलाकार टिका पहारीको यसै नाटक मार्फत ३०औ बर्ष पछि रंगमंचमा Comeback हुनु पनि हो । नाटक लाटीको छोरो मा बरिष्ठ कलाकार टिका पहारीले एउटा प्रमुख अनि महत्वपूर्ण भूमिकामा उत्कृष्ठ अभिनय गर्नु भएको छ । साथै  अन्य कलाकारहरुमा हुनु हुन्छ,  पशुपति राई, रामप्रसाद शर्मा, सन्दिप पौडेल, कुन्दन थारु, कुशल पाण्डे, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले लगायतको भूमिका रहेको छ। नाटक ’लाटीको छोरो’ असोज
८ गते सम्म हरेक दिन साझ ५ः३० बजे मञ्चन भैरहेको छ (प्रत्यक सोमबार बाहेक)  

Friday, September 8, 2017

जो चोर उसैको ठुलो स्वर !

दशैं अफरको सहुलियत तथा ठुलो छुट दिने भन्दै प्रचार गर्ने तर उपभोक्तालाई भने अत्याधिक मूल्य लिएर राजधानीका अधिकांश पसलहरुले वास्तविक मुल्य भन्दा अत्यधिक मुल्य वृद्धि गरेर पछि ठुलो छुट दिएर Sale को नाममा सामानहरु बिक्रि गर्ने गरेको छ ।यसरी ठुलो चाड पर्वहरुमा व्यापारीहरुले अत्याधिक छुट दिईने प्रचार गरेर समान बिक्रि गरेर सर्व साधारणलाई धेरै पहिले देखिनै ठगी गर्दै आइरहेका छन्।   
यस्तै राजधानीको दरवार मार्गमा अवस्थित केहि ठुला ब्रान्डेड तथा अन्तराष्ट्रिय
ब्राण्डका सामानहरु मात्रै बिक्रि गर्ने पसलहरुले छुट तथा Sale को नाममा उपभोक्ताहरुलाई ठगी गरेको आरोप विगतमा पनि लग्ने गरेको थियो र त्यो तेसै सेलाएर जान्थ्यो । तर अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले त्यस्तो कालोबजारी गरिरहेको सूचना पाएको आधारमा आफ्नो नेतृत्वमा आकस्मिक अनुगमन गरेर उपभोक्ता ठगी गरेको प्रमाण भेटिएका पसलहरुलाई शिलबन्दी गरेका थिए। त्यसरी सामानहरुको वास्तविक मुल्य
भन्दा अत्यधिक बढी मुल्य असुलेर ठगी गर्नेमा राजधानीको दरवारमार्गमा खुलेका अन्तरराष्ट्रिय ब्राण्डका सामानहरु बेच्ने पसलहरु स्टोर-वान, ब्रेन्टली, पुमा र नाइके सिहितका पसलहरु हुन्। ति पसलहरुमा मन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता ठगी गरेको प्रमाण सहित फेला पारेपछि  शिलबन्दी गरेका थिए।
कुनै पनि सामानको वास्तविक खरिद मूल्यमा २० प्रतिशत सम्म नाफा लिएर समान
बिक्रि गर्न पाइने कानूनी व्यवस्था रहेको भएता पनि ती पसलहरुले वास्तविक मूल्यको ११ औँ गुणा भन्दा बढी मूल्य लिएर समान बिक्रि गरेको भेटिएको, अनुगमन टोलीका अनुसार ती पसलहरुमा बिल बीजक नभएको, वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको हो । ती पसलले ४ हजार ७ सय रुपैँयामा खरिद गरेको जुत्ता २६ हजार ९ सय ९० रुपैँयामा बिक्री गरेको र दुई हजार ६ सयको सामान २६ हजारमा बिक्री
गरेको फेला पारेको थियो ।ले आपूर्ति मन्त्रि मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले शिलबन्दी गरेको थियो। ती पसलहरुले रु.४७००/ पर्ने जुत्ताको रु. २६९९०/ मूल्य राखेर बेचेको भेटिएको थियो।  
त्यसरी छापा मारेको विरोधमा दरबारमार्गको ब्यापारीहरुको संघ दरबारमार्ग बिकाश समिति बोर्डले दशैंको मुखमा पसल बन्द गरेर सरकारको कार्यको विरोध गरेका  छन् । अझ यसलाई बिरोध भन्दा पनि ठग्न पाउनु पर्छ, ठग्नु हाम्रो अधिकार हो भन्ने कुरा सरकारलाई सुझाउन खोजेका होलान। यस्तै हो भने त् संबिधान मै ब्यापारीले उपभोक्ताहरुलाई ठग्न पाउने कुराको व्यवस्था गर्दा सबै भन्दा उचित हुन्थ्यो। कि कसो ?   
हामी नेपालीहरुको कस्तो बिडम्वना, ठगी गर्ने, भ्रष्टाचार गर्ने, चोरी गर्ने, लुटपाट गर्ने कुरा मौलिक अधिकार जस्तै ठान्छन, त्यस्ता कुकृत गर्ने व्यक्ति, अझ टोलीहरू भन्दा बेश होला। के यो सहि हो त्? के ब्यापारीहरुले आम उपभोक्ताहरुलाई ठग्न पाउनु पर्ने नै हो त्? 
आम नागरिक तथा उपभोक्ताहरु यस कुरालाई स्विकार्छन त्? आपूर्ति मन्त्रि ज्युले गर्नुभएको कार्य सहि हो कि होइन त् ? सरकारले अब के गर्नु पर्यो त् ? कि ब्यापारीलाई त्यसरी नै ठग्न दिनु पर्यो त्?
पाठक बृन्दहरुले पनि यस सम्बन्धमा आफ्नो अमुल्य विचार उल्लेख गरिदिनु होला?