Saturday, August 29, 2015

मानिसको दिमागले यसरी काम गर्छ।

कोही मान्छे तीक्ष्ण बुद्धि भएको र कोही बोधो दिमागको हुन्छ भन्ने कुरा विज्ञानले झुटो साबित गरिदिएको छ । टाउको ठूलो भएको अथवा तालुखुइले बुद्धिमानी हुन्छ भन्ने कुरा पनि गलत हो ।
मान्छेअनुसार गिदीको वजन अलिअलि थोरै वा धेरै हुन सक्छ । तर, गिदीको वजनले पनि बुद्धिमत्ता र कम बुद्धिको निर्धारण गर्दैन । वास्तवमा कोही पनि मान्छे बढी बुद्धि भएको अथवा कम बुद्धि भएको हुँदैन । फरक यति मात्र हुन्छ कि दिमागलाई सही माध्यमले बढी प्रयोग गरे जो पनि बढी जान्ने हुन्छ, कम प्रयोग गरे कम जान्ने हुन्छ । र, प्रयोग नै नगर्ने मानिस नजान्ने वा बोधो मस्तिष्कको हुन्छ ।
मानव मस्तिष्क निकै शक्तिशाली छ, हामीले सामान्य किसिमले सोचेभन्दा धेरै कुरा मानव मस्तिष्कले गर्न सक्छ । हालसम्मका अनुसन्धानले संसारका ठूलाठूला विद्वान तथा वैज्ञानिकको पनि मुस्किलले १० प्रतिशत मात्र दिमाग प्रयोग भएको देखाएको छ ।

स्मिथसोनियन नामक साइन्स जर्नलमा जैविक रसायनशास्त्रका ज्ञाता डा. आइज्याक एसिमोभ लेख्छन्, ‘यो ब्रह्माण्डमा रहेका र हामीले थाहा पाएका सम्पूर्ण वस्तुमध्ये मानवको खोपडीभित्र हुने करिब तीन पाउन्ड (एक पाउन्ड बराबर झन्डै चार सय ५४ ग्राम्स्) गिदी नै संसारमा सबैभन्दा जटिल र व्यवस्थित छ होला ।’
मानव मस्तिष्कमा झन्डै एक खर्ब (टेन थाउजेन्ड मिलियन) स्नायु कोष हुन्छन् । ती हरेकले अन्य स्नायु कोषसँग सम्पर्क स्थापित गर्नका लागि १० हजारदेखि एक लाखसम्मका सूक्ष्म तन्तु (कनेक्टिङ फाइबर्स) उत्पन्न गर्छन् । यी सबैको योग हाम्रा क्यालकुलेटरले निकाल्न सक्दैनन् ।
औसत मानव मस्तिष्कमा न्युरोन भन्ने करिब ८६ अर्ब (८६ बिलियन) मस्तिष्क कोष हुन्छन् । तिनीहरू सबैले मस्तिष्कबाट शरीरका अन्य भागमा सूचना लैजान्छन् । त्यति मात्र होइन, यी ८६ अर्ब न्युरोन सबैको मस्तिष्कभित्रै पनि अरू करिब ५० हजार मस्तिष्क कोषसँग अन्य डेन्ड्राइटस् भन्ने सूक्ष्म फाइबर्सको माध्यमले विद्युतीय सञ्चार सम्बन्ध स्थापित हुन्छ ।
मस्तिष्कका आन्तरिक र बाह्य गरी दुई प्रकारका सञ्जाल हुन्छन् । हुन त मस्तिष्क तथा अन्य स्नायु प्रणाली धेरै प्रकारका कोषले बनेका हुन्छन् । तर, मस्तिष्क र शरीरका अन्य भागसँग सञ्चार सम्पर्क गराउने प्रमुख भूमिका न्युरोन भन्ने कोषहरूको हुन्छ । विभिन्न न्युरोनले अर्काथरी न्युरोनमा पठाउने विविध प्रकारका विद्युतीय संकेतअनुसार नै हामीले अनुभूति गर्ने, स्मरण गर्ने, विचार गर्ने, कुनै कुराको अनुभव गर्ने गर्दछौं ।
मस्तिष्क कोषले बढी काम गर्ने हुनाले खानाबाट प्राप्त शक्तिमध्ये २० देखि २५ प्रतिशत शक्ति मस्तिष्कलाई आवश्यक हुन्छ । मस्तिष्कमा शरीरका अन्य अंगसँग एकदमै छिटो सम्पर्क गर्न सक्ने र निर्देशन दिन सक्ने अकल्पनीय शक्ति हुन्छ ।
मानौँ, तपाईं र तपाईंको साथी एकजनाले बल हान्ने र अर्कोले समात्ने खेल खेलिरहनुभएको छ । बलको वेग करिब ५० किलोमिटर प्रतिघन्टा छ । यदि हान्ने व्यक्तिले झुक्याएर बलको कोण परिवर्तन गर्छ भने समात्ने व्यक्तिको मस्तिष्कले उसका हातखुट्टाका मांसपेशीलाई करिब पाँच सय किलोमिटर प्रतिसेकेन्डको गतिमा निर्देशन दिई बलको कोणअनुरूप उसको पोजिसन बदल्न निर्देशन दिन सक्छ ।
यहाँनिर बल समात्ने मान्छेले किन कहिलेकाहीँ बल समाउन सक्दैन त ? प्रश्न उठ्न सक्छ । किन त्यस्तो हुन्छ भने, शरीरका मांसपेशीले सधैँ नै मस्तिष्कले दिएको समय र गतिअनुसार काम गर्न सक्दैनन् । हाम्रो दैनिक जीवनमा कुनै जानेकै कुरा लेख्दा कतै अक्षर छुट्ने अथवा कुनै वस्तु समाउन खोज्दा सजिलै समाउन सकिने वस्तु पनि खस्ने हुनुको कारण पनि मस्तिष्कको निर्देशन र निर्देशन पाउने शरीरका मांसपेशी बीचमा समय र गति नमिल्नु हो ।
मानव मस्तिष्कको बनोट र कामको विस्तृत रूपमा चर्चा गर्ने हो भने २० भन्दा बढी खण्डमा बाँडेर अध्ययन गर्नुपर्ने हुन्छ, जुन यहाँ सम्भव छैन । त्यसैले यहाँ मुख्य तीन भागको मोटामोटी चर्चा गरौँ ।
मेरुदण्डको माथिल्लो भागसँग घुच्चुक जोडिने ठाउँमा हुने सेरेबिलम भन्ने मस्तिष्कको भाग अर्थात् गिदीलाई हिन्डबे्रन भनिन्छ । यसले श्वासप्रश्वास र मुटुको गति आदिलाई सञ्चालन वा नियन्त्रण गर्छ । सेरेबिलमले अभ्यासबाट सिक्ने सीप सिक्न मद्दत गर्छ ।
हिन्डब्रेनको ठीकमाथि रहेको मस्तिष्कको अलिकति भागलाई मिडब्रेन भनिन्छ । यसले दृश्यसम्बन्धी कुरा, आँखाको चाल र अन्य ऐच्छिक कुरा नियन्त्रण गर्छ ।
हिन्डब्रेन तथा मिडब्रेनबाहेक सम्पूर्ण मस्तिष्कको मुख्य भागलाई फोरब्रेन भनिन्छ । यसले हाम्रो सोच, धारणा, संवेग, स्मरण, चिन्न सक्ने क्षमता, व्यक्तित्व आदिलाई निर्देशन तथा नियन्त्रण गर्छ ।
खप्परभित्र दायाँ र बायाँ गरी मुख्य दुई भागमा गिदी बाँडिएको हुन्छ । दुवै भागको एकापसमा जोडिने भाग, एउटा बाक्लो स्नायु तन्तु (नर्व फाइबर्स)ले बनेको हुन्छ । त्यही स्नायुतन्तुको माध्यमले दुवै भागले एकापसमा सञ्चार स्थापना गर्छन् ।
यी दुई भाग देख्दा उस्तै देखिए पनि यिनीहरूको काम एकदमै फरक हुन्छ । जस्तो, हामीले कुनै शब्द सिक्दै छौँ भने मस्तिष्कको देव्रे भागले काम गर्छ भने कल्पना गर्दा, धारणा बनाउँदा, हाम्रो सोचमा अमूर्त चित्र आदि बनाउँदा दाहिने
भागले काम गर्छ ।
तर, आश्चर्यलाग्दो कुरा के छ भने मस्तिष्कको दायाँ भागले शरीरको बायाँ भागलाई नियन्त्रण गर्छ भने बायाँ भागले दायाँ भागलाई । मानौं, मस्तिष्कको दायाँ भागमा ठूलो क्षति पुग्यो भने बायाँतर्फका अंग, जस्तै हातखुट्टा, नचल्ने हुन्छन् ।
(रातोपाटीमा प्रकाशित लेखको आधारमा।)

No comments: