Friday, December 8, 2017

निर्वाचन ! कार्यकर्ता अनि नतिजा !

(कथा)                                                                                -किशोर खत्री 
नेता, कार्यकर्ता र हामी जस्ता सर्वसाधारणहरुको बिभिन्न अड्कलबाजी तथा व्यक्त अव्यक्त विचारहरुका बाबजुद हाम्रो देश नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएपछि पहिलोपटक  प्रतिनिधि सभा र प्रदेश सभाको ऐतिहासिक रुपमा सम्पन्न भएको निर्वाचनमा आफुले पनि आफ्नो अमुल्य मत खसाले। त्यसरी मतदान गरेपछि आफुले आफुलाई नै गर्विलो महशूस पनि गरें। मतदान गरिसके पछि अब खुबै खुल्दुली हुन् थाल्यो, कसले जित्ने हो भनेर। त्यसैले यसो नेता कार्यकर्ताहरु जम्मा भएर कुराकानी गरिरहेको स्थानमा पुगेर उनीहरुको गफ सुनेर कुरा बुझ्ने प्रयत्न गरें। सबै आ आफ्नै तर्क खुबै अनुभवका साथ सुनाउदै थिए। कोहि कुन पार्टीका नेताले जित्छ भन्थे भने कोहि अर्कै पार्टीका नेताले जित्ने ठोकुवा गर्थे। आफ्नो एकलौटी अनुसन्धानको डाटा सम्म केलाएर फलानो पार्टी र तिनका नेताले जित्ने कुरा ठोकेरै भन्दै थिए। सबै तिर डुलेर सबैको कुरा सुनी सकेपछि पनि मन शान्त नभएकोले म आफ्नो घर नजिकैको राजनीतिक चौतारोमा गए। 
राजनैतिक चौतारो, यहाँ प्राय सबै राजनैतिक कार्यकर्ता लगाएतका सानातिना नेताहरु जमघट हुन्छन्  र ठुला ठुला राजनैतिक गफ ठोक्छन। यो राजनैतिक चौतारोमा देश विदेशका राजनैतिक देखि ठुला ठुला विकास र देश निर्माण लगाएत व्यापार व्यवसाय देखि देशको प्रशासनिक, शिक्षा स्वास्थ्य लगायत सबै बिषयमा एकआपसमा गहन छलफल हुने गर्छ एकापसमा। आफुले सुनेका पढेका र देखेका कुराहरु एकआपसमा सुनाइन्छ। त्यसैले त्यहाँ अवश्य केहि कुरा थाहा पाइन्छ जस्तो लगेर त्यतैतिर लागे। त्यहाँ आफुले आफुलाई राजनीतिका प्रकाण्ड ज्ञाता सम्झने सुर्य प्रसाद ज्यू आफ्नो वरिपरि केहि अनुयायीहरुलाई चुनावको विश्लेषण गरेर नतिजाको भविष्यवाणी गर्दै थिए। "उसको भोट उसले काट्छ, उसको भोट उसले तान्छ, हाम्रो भोट सबै हामीलाई आउछ, यो हिसाबले हाम्रो पार्टीले कम्तिमा पनि २० / २५ हजार भोट ल्याएर बिजयी हुन्छ।" त्यसै समयमा सुर्य
प्रसादको फोनको घण्टी बज्न थाल्छ। फोन हेरेर, "हाई कमाण्डबाट, हाम्रो नेता ज्युको फोन रहेछ" भन्दै, फोनमा कुरा गर्न थाल्छ। "एकदम राम्रो भएको छ हजुर, अब तिनीहरुको भोट भनेको सबै त्यहि क्षेत्रको हो, त्यहाको भोट सबै तराजुमा गयो, फेरी असन्तुष्ट समेत उठेको छ, खसेको ६७ प्रतिशत भोटमा हाम्रो गठबन्धनका उम्मेदवारलाई आधी झर्छ, बाँकी रहेको आधीमा १५ देखि २० प्रतिशत तराजुमा खस्छ, अनि बाँकि रहेको रुख बहादुर लाई जान्छ।  त्यसैले हाम्रो नेताज्यूले १५ देखि २० हजार भोटले जित्नु हुन्छ हजुर। यो कुरो एकदम कन्फर्म हो। …! उताबाट के जवाफ आयो कुन्नी सुर्य प्रसादले हाँस्दै बोलीमा चिप्लो घस्दै नेतालाई फोनमा भन्न थाल्यो,"हजुर, केटाहरु खुबै खटेका थिए, यसो केही खाने कुरो गर्दै थिए। के गर्ने हजुर, पछिलाई पनि चाहिन्छ।" त्यसपछि नेताको कुरो सुनेर दंग पर्दै हस हस भनेर फोन खल्तीमा राखेर ट्वाल्ल परेर आफैलाई हेरिरहेका आफ्ना अनुयायीहरुलाई भन्न थाल्यो, "ल साथीहो येसो स्टेशन तिर लागौ, जलपान गर्न।" सुर्य प्रसादको कुरा सुनेर सबै अनुयायीहरु दंग पर्दै सुर्य प्रसादको पछि लगेर गए स्टेशन तिर, स्टेशन,याने यिनै कार्यकर्ता देखि छोटे नेताहरुले जांड खाने रेष्टुरेन्ट।

उनीहरु स्टेशन लागेपछि मलाई कता लागौ भयो, किनकी सुर्य प्रसादको कुरा सुनेर मलाई झनै उत्सुकता जागेर आएको थियो। त्यसैले राजनैतिक चौतारोकै अर्को छेउमा आफ्ना चेलाचपेटाहरुका बिचमा उभिएर खुबै दंग परेर भर्खरै सकिएको निर्वाचनको विश्लेषण गरेर सुनाउदै गरेको रुख बहादुर तिर लागे।  
रुख बहादुर जोशिएर दंग पर्दै चेलाचपेटालाई सुनाउदै थियो, "घामको राप रुखले पर्ने भयो सखाप, … त्यो तराजुले भोट काट्छ रे, तराजुले जित्छ रे, …!" त्यसै बेला फोनको घन्टी बज्न थाल्यो, … "ये ये, दाइको फोन आयो, एकै छिन है त्,… जय नेपाल दाई," दाईले के सोध्यो कुन्नी, रुख बहादुरले आफ्नो सुकेको छाती फुकाउदै आफुले गरेको चुनावको काल्पनिक नतिजा सुनाउन थाल्यो "हजुर ढुक्क भए हुन्छ, हाम्रो छेत्रमा जम्मा ६७ प्रतिशत मत खस्यो दाई, त्यसमा तराजुले त्यही ५ / ६ हजार मत ल्याउछ। ७/८ हजार गठबन्धनले ल्याउछ। यसरी अब थोरैमा पनि दाईले १५ हजार भोटले जित्ने निश्चित नै छ दाई। …, होइन होइन दाई, यसमा कुनै यताउता छैन, यो मेरो सबै मतदातालाई व्यक्तिगत भेटेर गरेको विश्लेषण हो दाई, तेसैले यो एकदम निश्चित नै हो।  दाई को जित निश्चित छ" …., हाँसेर, " यो मेरो मात्रै होइन दाई, सबै साथीभाईको मेहनतले यो सम्भब भएको हो दाई।" दाईले के भन्यो, कुरा सुनेर फेरी हाँस्दै भन्न थाल्यो," दाई, हाम्रा भाईहरुले खुबै मेहनत गरेका थिए आज, जिउ दुखेर खुबै थाकेका छन् रे, यसो थकाई मर्नु पर्यो भन्दै थिए,… के गरौँ दाई?"….हाँस्दै,"हस्, हस्, भैहाल्छानी" भन्दै फोन राख्छ र चेलाचपेटालाई सुनाउदै भन्न थाल्यो, "ल, साथी हो, अब लागौ स्टेशन तिर।"
रुख बहादुर पनि आफ्ना चेलाचपेटा सहित स्टेशन तिर लाग्छ। मलाई झन् कौतुहल बढ्छ। सुर्य प्रसाद र रुख बहादुरको कुरा सुनेर।  अझ तराजु वालाको कुरा त् झन् के होला ? दुई थरिको आ आफ्नै विश्लेषण सुनेर झन् कौतुहल बढेर आयो।  दुवै टोली स्टेशनमा गएका छन्।  पक्कै त्यहाँ राम्रै कुरा पत्ता लाग्न सक्छ जस्तो लगेर मैले आफुलाई रोक्नै सकिन स्टेशन भित्र छिर्नबाट। 
अहा ! स्टेशन त् गजबको रहेछ, राम्रा राम्रा भर्खरका चिटिक्क परेका तरुनी केटीहरुले खानेकुराहरु र रक्सी बाढी रहेका थिए। एउटा कुनामा सजिएको स्टेजमा कट्टु मात्रै लगाएर हिन्दी सिनेमाको गीतमा आफ्नो स्तन निचोरेर नाच्दै थिइन् एउटा सुन्दरी। अनि त्यही नाच हेरेर दंग पर्दै बेलाबेलामा आफु बसेको कुर्सीबाट उठेर खुट्टा ठटाएर हात हल्लाउदै नाच्ने प्रयास गर्दै थिए बेलाबेलामा सुर्य प्रसाद र रुख बहादुर, बाहिर अघी कर्के आँखाले पनि एकापसलाई नहेर्नेहरु अहिले एकापसमा अंकमाल गरेर बेलाबेलामा नाच्थे पनि सुर्य प्रसाद र रुख बहादुर। म यो सबै देखेर झन् अलमल्लमा परें। निर्वाचनको नतिजा जान्न आएको, यस्तो दृश्यले त् झन् अकमक्क भए। के गरौ के गरौ भयो। फर्कुकी जस्तो पनि नालाग्य होइन, तर आफ्नो कौतुहलले गर्दा अझै केहि बेर बसेर केहि कुरा बुझ्ने विचार गरें।  सुर्य प्रसाद र रुख बहादुर नाचेर केहि छिनमा एउटा खाली टेबलमा बस्न गए। अनि म पनि उनीहरुको कुरा राम्ररी सुन्ने ठाउमा गएर बंसे। दुवैजना रक्सीले धुत भएर एकआपसलाई अंकमाल गर्दै कुरा गरिरहेका थिए। सुर्य प्रसाद भन्दै थियो,"यार, रुख कस्तो छ तिम्रो अनुमान, कसले जित्छ जस्तो लाग्छ त् ?" रुख बहादुर पनि लारबराउदै भन्दै थियो,"खै कसले जित्छ कसले, जसलाई सोध्यो उसले भोट तपाईलाई नै हाले भन्छन। यहाँ आफुले चाही रुख रुख भन्दा भन्दै तराजुमा पो भोट हलेछु भन्या, हेर न सुर्य।" …,  रुख बहादुरको कुरा सुनेर सुर्य प्रसादले पनि दिल खोलेर हास्दै भन्यो,"त्यही त् भन्या हेरन, मैले पनि तरजुमै भोट हालिदिएछु भन्या।" दुवै जना दिलखोलेर हास्न थाल्छन। म उनीहरुको कुरा सुनेर झन् रनभुल्लमा पर्छु। अघि आफ्ना अनुयायी र चेलाचपेटाहरु संग गरेको एकथरी कुरो अनि पछि नेताहरु संग गरेको कुरा र अहिले रक्सीले मात्तिएर एकापसमा गरेका कुरा सुनेर म चुनावको नतिजा के हुन्छ भनेर बुझ्न हिडेको मान्छे यस्ता कुरा सुनेर अक्क न बक्क भए, फेरी सम्झिए रक्सीले मातेका मानिसहरु सत्य नै बोल्छन। अनि बुझ्ने प्रयास गरे यस्ता कार्यकर्ता भएका नेताहरुको नतिजा अब कस्तो होला? म मनन गर्दै घर जान उनीहरुको स्टेशन बाट निस्किए।  

Wednesday, November 22, 2017

होसियार ! आफ्नो अमुल्य मत दिदै हुनुहुन्छ !

अहिले देश चुनावी माहोलमा रुमल्लिरहेको छ। साना ठुला सबै प्रमुख राजनैतिक दलहरु र उम्मेद्वार लगायत नेताहरु आ-आफ्नो प्रदेश, क्षेत्रहरुमा जनताको घरदैलोमा गई विभन्न बिकाशका कार्यहरु गर्ने बाटो बनाउने शिक्षा स्वास्थ्य सर्वसुलभ बनाउने जस्ता योजनाहरुको प्रलोभन देखाएर आफु र आफ्नो पार्टीबाट उठेका नेताहरुका लागि भोट मागिरहेका छन्।
त्यसरी भोट माग्ने प्रवृत्ति त् परम्परागत चलिआएको राजनैतिक रितिथिति नै भैसक्यो। त्यसरी भोट मागेर जितेका प्रायः सबै नेताहरुले बिकासको नाममा सायद सिन्को भाँचेका छैनन् होला। पहिलेको पंचायती कालको कुरालाई बिर्सिएर २०४७ सालमा प्रजातन्त्र प्राप्ति पछिको
बिभिन्न समयमा भएको चुनावको मात्रै कुरा गर्ने हो भनेपनि नेताहरु भोट माग्न देखि कुनै समय आफ्नो जिल्ल, प्रदेश वा चुनावी क्षेत्रमा जाने त् कुरानै नगरौ सम्झिन सम्म पनि सम्झेको देखिदैन।  तर जब जब देशमा चुनावको चहलपहल चल्न थाल्छन अनि नेताहरुमा देश बिकाशका कुराहरु फुर्न थाल्छन। बिकाशका बिभिन्न योजनाहरु बन्न थाल्छन। घर दैलो कार्यक्रम देखि जुनसुकै स्थानमा हुने राजनैतिक जमघटमा अति दुर्गम क्षेत्रमा समेत बिभिन्न बिकाशका योजनाहरु बन्छन, पिचरोड बन्छन, ठुला ठुला कलकारखाना बन्छन, अस्पताल बन्छ, ठुला राम्रा स्तरीय स्कुल कलेज बन्छन, तर त्यसको लागि पहिले जिताउनु पर्छ सोझा निमुखा नागरिकहरुले आफ्नो अमुल्य मत दिएर उही नेताहरुलाई। अनि चुनावमा त्यसरी जितेको भोलिपल्टबाट त्यस्ता नेताहरुको नाकमुख देखिदैन, अर्को चुनाव नआए सम्म।
हो यही क्रम अहिले सम्म पनि चलिरहेको छ।  अब दुर्गम गाउँघर को त कुरानै छोडौ, यही राजधानिको कुरा सम्झने हो भने पनि स्थानिय चुनावमा कति मेयर, वडा अध्यक्षहरुले आफुले गरेको भनेको कुराहरु एउटा गरेका छैनन्।  जनताको समस्याहरु केहि नबुझ्ने, अनि समाधान गर्ने त् कुरै नगरौ। तर आफ्नो सुबिधा सर्वप्रथम पुरा गर्ने, त्यो पनि उही निर्धो सोझा जनताहरु बाट देश बिकाश गर्न उठाएको कर तथा अन्य शुल्कबाट।  अब त्यस्ता नेताहरुले के गर्लान भन्ने अपेक्षा राख्ने, अनि कुन पार्टीका नेतालाई आफ्नो अमुल्य मत दिएर छनौट गर्ने ? जनताहरु अहिले यही समस्यामा अल्झिरहेका छन्। भने नेताहरु कसरी कुन के कस्ता प्रलोभन बाढेर भोट बटुल्ने भन्ने शुरमा छन्।
अब पहिलेको जस्तो समय यो होइन, पाँच बर्षका लागि उनीहरुलाई हामीले देश बिकाश र बिभिन्न काम गर्न
हाम्रो प्रतिनिधि छानेर पठाएका हौ। त्यसैले त्यस्ता प्रतिनिधि चुन्नु पर्छ हामीले जसले कमसेकम देश र जनताका समस्याहरु बुझेर केहि गर्ने जमर्को गरोस। पार्टीको घोषणा पत्र र आफ्नो भाषणमा हुनै नसक्ने असम्भव खोक्रा र चिप्ला आकर्षक कुराहरु भन्दा केहि गर्ने र गर्छु भन्ने परिचित नेतालाई चिन्ने प्रयास गरौ। अनि त्यस्ता नेता छनौट गरौ जो देश र जनताका लागि आवश्यक योजनाहरु बनाउने मात्रै नभई त्यसमा अमल गर्ने प्रतिनिधि छनौट गरौँ।
केहि दिनमा चुनाव हुदैछ, अतः सबै सचेत हुनु पर्ने समय भएको छ। नेतालाई चिनेर आफ्नो मताधिकार प्रयोग गर्नु पर्ने समय भएको छ। कसलाई र कस्तो नेता छान्ने त्यो हामीमै निर्भर गर्दछ, तर त्यसकोलागी हामीले चुनावमा हाम्रो घरदैलोमा आएर भोट माग्ने अनि चुनाव सकिए पछि बिर्सिएर पनि नफर्कने नेतालाई तिरस्कार गर्नै पर्छ। त्यस्तै कहिले नदेखिएका, बिदेशमा बसोबास गर्ने तर विदेशीकै सल्लाहमा देश भित्रिएर अफ्नो कला संस्कृति तथा राष्ट्रिय पहिचानलाई समेत बेच्न पछि नहट्ने प्रवृत्तिका नेताहरुलाई समेत अहिले देखा परेका छन्। तेसैले त्यस्तालाई समेत हामीले खुट्याउनु परेको छ। किनकी चोर फटाह,गुण्डा अनि देशलाई बिदेशी गुलाम बनाउने नेताहरुलाई पहिचान गरि देशभक्त स्वाभिमानी नेपालीलाई चिनेर आफ्नो प्रतिनिधि छनौट गरि आफ्नो मताधिकारको प्रयोग गरौ नकी केहि रकम, केहिदिन मिठो मसिनो खान दिएको र मिठो सपना मात्रै बाडेर अर्को चुनाव सम्म हराउने नेतालाई चिन्नु पर्छ।
यसरी अब कसलाई किन आफ्नो अमुल्य भोट दिएर बिजयी बनाउने समय मै सोचौ सचेत होऔं, किनकि हामी धेरै पटक झुक्कियी सक्यौ, धेरै चोटी ठगीई सक्यौ। तेसैले अब हाम्रो पालो आएको छ। होस् गरेर सही व्यक्ति नै छनौट गरौ।  सावधान। अब फेरी दुख पाउनु छैन। आफ्नो अमुल्य मत प्रयोग गर्नु पुर्व राम्रोसँग विचार गरौँ। अनि मात्रै आफ्नो अमुल्य मत प्रयोग गर्नुहोस। फेर एकपटक सावधान। तपाई कसलाई आफ्नो मत दिदै हुनुहुन्छ?

Sunday, November 12, 2017

नेपालले क्रिकेट खेलमा भारतलाई पराजित गर्दै इतिहास रच्यो ।

एसियन क्रिकेट परिषद (ACC) को आयोजनामा शुक्रबार, १० नोभेम्बर २०१७ बाट मलेसियामा संचालन भैरहेको यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा जम्मा ८ राष्ट्रका टोलीहरुको सभागिता रहेको छ। जसमा पाँचवटा टेष्ट मान्यता प्राप्त राष्ट्र संगै दुई क्षेत्रीय विजेता राष्ट्र तथा एक आयोजक राष्ट्र सम्मिलित छन्। जसमा नेपाल पूर्वीय क्षेत्र बिजेताको हैसियतमा प्रतियोगितामा प्रतिष्पर्धा सहभागी भएको छ।
नेपाल  भारत लगाएत  बंगलादेश तथा आयोजक राष्ट्र मलेसिया रहेको समूह A मा छ। त्यस्तै यस समूहमा

रहेको भारत गत बर्षको बिजेता राष्ट्र हो र यो सालको प्रतियोगिताको समेत प्रवल दावेदार राष्ट्र भारत नै हो। त्यस्तै बंगलादेश टेष्ट मान्यता प्राप्त राष्ट्र हो र यसले ठुला प्रतियोगितामा क्रिकेटमा शक्तिशाली राष्ट्रहरुलाई समेत हराउदै आएको छ। मलेसिया आयोजक राष्ट्र हो। क्रिकेट नेपालले विगतदेखि हराउदै आएको मध्ये एउटा राष्ट्र हो।
नेपालले आफ्नो पहिलो खेल शनीवार बंगलादेश संग खेलेको थियो र बर्षाले प्रभावित भएको उक्त खेलमा नेपाल सम्मान जनक रुपमा दुई विकेटले हारेको थियो। बंगलादेशले प्रतियोगिता जित्नलाई अन्तिम बल सम्म कडा प्रतिष्पर्धा गर्नु परेको थियो।
त्यस्तै आज नेपालले आफ्नो दोश्रो खेल भारत संग खेलेको थियो। टस जितेको भारतले नेपाललाई पहिलो ब्याटिंग गर्ने निम्तो दिएको थियो र नेपालले पहिलो ब्याटिंग गर्दै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोड्यो। १८६ रनको विजय लक्ष लिएर खेल्न आएको भारतीय U19 क्रिकेट टीम ४८. १ ओभरमा आफ्नो सम्पूर्ण खेलाडी गुमाएर मात्र १६६ रन जोड्न सफल भयो।
यसरी क्रिकेट खेलको महारथी भारतलाई अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक पराजित गर्दै नेपालले क्रिकेट खेलमा इतिहास रचेको छ।

बधाई छ U 19 नेपाली क्रिकेट टीम !     

Sunday, October 29, 2017

भ्रष्टाचार तथा चरम लापरवाहीको नमुना।

गये राती देशको राजधानी लगायत बिभिन्न स्थानमा असिनाको साथै  भएको भिषण बर्षाले ठाउँ ठाउमा ठुलो नोक्सानी समेत पुर्याएको छ। कति ठाउमा काट्न तयार अवस्थाको धान बालीलाई समेत क्षति पुर्याको खबर छ।
त्यस्तै काठमाडौँको गौशालामा अवस्थित भण्डारखालको पश्चिम पट्टि सडक संगै दुई महिना अगाडी मात्रै निर्माण सम्पन्न गरिएको पर्खाल पनि सोहि बर्षाले भत्किएको खबर आएको छ। भत्किएको पर्खालमा एउटा ट्याक्सी तथा दुइवटा सुमो जीप पुरिएका छन्। त्यो पर्खाल भत्किएको ठाउमा गएर अवलोकन गर्ने हो भने त्यो दुर्घटना कम्जोर तथा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरि मापडण्ड बिपरित निर्माण सम्पन्न गरिएको कारण नै भत्किएको कुरा प्रष्टैसँग बुझ्न सकिन्छ। तर पर्खाल भत्किनुको कारक बन्यो अघिल्लो दिनको असिना सहित परेको भिषण वर्षा।  
पशुपति बिकाश कोषको हातामा रहेको सार्वजनिक जग्गामा पार्क बनाउन भिरालो तथा ढिस्कोलाई जग्गालाई सम्याएर त्यसलाई सुरक्षित पारी छेक्ने कार्यको लागि ठेकेदारलाई बनाउने जिम्मा दिएकोमा दुई महिना अगाडी निर्माण सम्पन्न गरिएको त्यो पर्खाल गएराती परेको असिना पानीले भत्किएको खबर बिभिन्न पत्र पत्रिकामा समेत छापिएका छन्।  यसरी मापडण्ड बिपरित निर्माण सम्पन्न गरिएको दुई महिना नपुग्दै भत्किएको पर्खाल र त्यसबाट भएको क्षतिको जिम्मेवारी कसले लिने ? गाडीको त् इन्सुरेन्स कम्पनीले ब्यहोर्ला, तर निर्माण कार्य लगाएत त्यको सुपरभिजनमा सम्बन्धित निकाय तथा
अधिकारीहरुबाट भएको चरम लापरवाही तथा कमिशनको खेलले गर्दा भएको आर्थिक क्षतिको जिम्मेवारी कसको हो त् ? सरकारी लगानीमा हुने निर्माण कार्यमा हुने लापरवाहीको उदाहरण यो मात्र एउटा होइन। तर भएका त्यस्ता लापरवाही तथा भ्रष्टाचारको घटनामा दोषीमाथि कारवाही नभएकै कारण बारम्बार यस्ता घटनाहरु दोहरिरहने भएकोले समयमै दोषीलाई कडा भन्दा कडा उचित कारवाही तथा दण्ड सजाय हुनुपर्छ, होइन भने भविष्यमा यस्ता घटना तथा दुर्घटना हरु बारम्बार दोहरिरहने छन्।  

Monday, October 9, 2017

नेपाली चलचित्रको इतिहास र छक्क पन्जा २ !

- किशोर खत्री 
नेपाली फिल्मको इतिहास खोतल्दा, खास्सै भन्ने हो भने भारतीय नेपालीहरुले बनाएको नेपाली चलचित्र सत्य हरिशचन्द्र (प्रथम प्रदर्शन १४ सेप्टेम्बर १९५१ मा कोलकत्तामा भएको थियो) लाई छोड्ने हो भने, आमा (प्रथम प्रदर्शन ७ अक्टोबर १९६४) लाई पहिलो नेपाली चलचित्र मान्न सकिन्छ। यो चलचित्रमा कलाकार देखि प्राविधिकहरु सबै प्रायः नेपाली नै थिए। त्यसको झन्डै २ बर्ष पछि (१९६६को अन्त तिर) भारतमा बस्ने नेपालीहरुको  निजी लगानीमा निर्माण भएको बि.एस. थापा द्वारा निर्देशित चलचित्रमाइतीघर  लाई नै पहिलो निजी लगानिमा निर्माण भएको नेपाली चलचित्र मानिन्छ।
यस चलचित्रमा कलाकार लगाएत प्राविधिकहरु समेत प्रायः भारतीयहरु नै थिए। जुन चलचित्र व्यवशायिक रुपमा समेत खुबै सफल भएको थियो। १९७१ मा चलचित्र बिकाश बोर्ड (तत्कालिन शाही नेपाल चलचित्र संस्थान) को स्थापना पश्चात सरकारी लगानिमा सूचना बिभाग, नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) ले स्व. हीरा सिंह खत्रीको निर्देशनमा निर्माण गरेको नेपाली चलचित्र मनको बाँध  १९७३ मा प्रदर्शन भयो। त्यस्तै १९७८ मा नेपाली चलचित्र   कुमारी  को प्रदर्शन भयो। कुमारी नेपाली चलचित्रको इतिहासमा पहिलो रंगीन चलचित्र थियो। त्यस भन्दा अगाडी निर्माण भएका सबै चलचित्रहरु श्याम स्वेत (Black & White) थिए। यसरी नेपाली चलचित्रको इतिहास केलाउदा, सन् १९५१ देखि १९७० सम्म २ दशकमा जम्मा जम्मी ८ वटा मात्रै नेपाली चलचित्रहरु  निर्माण भएको भेटिन्छ।
नेपाली चलचित्रको बिकाशको क्रममा १९८० को दशकलाई नेपाली चलचित्रको स्वर्णिम युग मानिन्छ। त्यस दश बर्षको अवधिमा २२ वटा नेपाली चलचित्रहरु निर्माण भएका थिए र प्रायः सबै चलचित्रहरुलाई नेपाली दर्शकहरुले खुबै मनपराएका पनि थिए। त्यस बेला निर्माण भएका चलचित्रहरुको गीतसंगीत आजको दिनसम्म पनि त्यतिकै लोकप्रिय छन्, भने त्यस समयको नेपाली समाजमा देखिएका घटना परिघटना नै चलचित्रका प्रमुख बिषय भएकोले पनि चलचित्रहरुलाई दर्शकहरुले खुबै रुचाएको कारण  नै  सबै  व्यवसायिक रुपमा पनि सफल भएका हुन् । फरक यति मात्रै थियो, कुनै चलचित्रले अधिक मुनाफा आर्जन गरे, कुनैले केहि कम मुनाफा कमाए। नेपाली चलचित्रको यस अवधिमा निजी निर्माण कम्पनीहरु पनि धमाधम थपिएका थिए, नेपाली चलचित्र उद्ध्योगमा र राम्रा चलचित्रहरु निर्माण गरे।
यसरी नै १९९०को दशकमा राजनैतिक अस्थिरताले गर्दा चलचित्र निर्माण तथा प्रदर्शनमा केहि अप्ठ्याराहरु र समस्याहरुका बाबजुद थुप्रै नेपाली चलचित्रहरु निर्माण तथा प्रदर्शन भएका थिए । साथै यस अवधिमा निर्माण भएका अधिकांस चलचित्रहरु व्यवशायिक रुपमा  असफल पनि भएका थिए। त्यस अवधिमा १७० वटा जति नेपाली चलचित्र निर्माण भएको देखिन्छ।
त्यस्तै सन् २००० को दशकमा पनि अघिल्लो दशकमा जस्तै थुप्रै नेपाली चलचित्रहरु निर्माण भएका थिए भने केहि चलचित्रलाई छोडी प्रायः सबै चलचित्रहरु असफल भएका थिए। सस्ता र C ग्रेडका अश्लिल भारतीय चलचित्रहरुको नक्कल गर्दै थुप्रै नेपाली चलचित्रहरु निर्माण भए, जसले नेपाली चलचित्र प्रेमी दर्शकहरुमा नेपाली चलचित्र प्रति बितृष्णा नै ल्याइदियो। यसले नेपाली
चलचित्र हेर्ने दर्शकहरु स्वाट्टै घटाईदियो  । यहि समयमा ठुला ठुला सपिङ्ग मलहरु निर्माण हुने क्रम बढे संगै स्तरिय लग्जरियस मल्टिप्लेक्स सिनेमा हलहरु थपिदै गए पनि नेपाली चलचित्र हेर्ने दर्शक बढ्न सकेन। तिनै हलहरुमा कुनैपनि भारतीय चलचित्र हेर्ने दर्शकहरुको ठुलो भिड जम्म नहुनेपानी होइन। तर नेपाली चलचित्रहरुले दर्शकहरुलाई आकर्षण गर्नै सकेन। समय समयमा एकाध स्तरिय नेपाली  चलचित्र निर्माण भै प्रदर्शन हुदाँ दर्शकहरुको भीड जम्मा नहुने पनि होइनन। त्यस्ता चलचित्रहरुले व्यवशायिक सफलताका साथै ठुलै मुनाफा पनि  नकामयेका होइनन् । तर त्यस अवधिमा बनेका अधिकांस
चलचित्रहरु स्तरहीन र भारतीय C ग्रेड चलचित्रको फोटो कपी नै जस्तोगरी निर्माण गरेका चलचित्रहरुको कारण हराएका दर्शकहरुलाई नेपाली चलचित्र निर्माता, निर्देशक, प्रमुख कलाकारहरु समेतले नेपाली भएर नेपाली चलचित्र भन्दा भारतीय चलचित्र हेर्छन भन्ने जस्ता कुराहरु फैलाएर नेपालमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाउनु पर्ने जस्ता कुराहरु समेत नल्याएका होइनन्। साथै केहि चलचित्र निर्माता निर्देशकहरुले नेपाली चलचित्र हेरिदिन हारगुहार नगरेका पनि होइनन्। तर नेपाली दर्शकहरु राम्रा र स्तरिय चलचित्र नभई हलमा आउदै आउदैनन थिए। यस्ता कुराहरुले नेपाली चलचित्रसँग सम्बन्धितहरुको मानसिकता कति कम्जोर रहेछ भनेर समेत प्रष्ट्याइ दिएको थियो।
सन् २०१० पछि बिस्तारै नेपाली चलचित्र निर्माणमा चलचित्र सम्बन्धि अध्ययन गरेका प्रतिभाशाली निर्देशक, कलाकार तथा प्राविधिकहरुको प्रवेश हुनाका साथै अत्याधुनिक प्रविधिहरु पनि भित्रिन थाल्यो। त्यसपछि नेपाली चलचित्रको धार पनि बिस्तारै परिवर्तन हुदै यथार्थवादी चलचित्रहरु बन्ने क्रम बढ्न थाले। त्यस पश्चात बनेका केहि चलचित्रहरुले ठुलो सफलताका साथै मुनाफा समेत आर्जन गरे ।
यसरी नेपाली चलचित्र निर्माण बिस्तारै अहिलेको अवस्थामा आइपुगेको छ।  अहिले पनि राम्रा नराम्रा नेपाली चलचित्रहरु निर्माण भैरहेका छन्। नेपालका चलचित्र भवनहरुमा अहिले छक्क पन्जा २ लगाएत अन्य केहि चलचित्रहरु चलिरहेका छन्।
नेपाली चलचित्रको लागी खुसीको कुरा हो अहिले पुनः नेपाली चलचित्र हेर्ने दर्शकहरु ठुलो संख्यामा ह्वात्तै वृद्धि भएको छ। अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्रछक्क पन्जा २ सँग सम्बन्धित सबैलाई हार्दिक बधाई तथा धन्यवाद राम्रो चलचित्र निर्माण गरेको र ठुलो संख्यामा नेपाली दर्शकहरुलाई नेपाली चलचित्र हेर्न हलमा ल्याउनु भएकोमा र चलचित्र निर्माण पक्षमा सर्वसम्पन्न भारतीय चलचित्रलाई समेत व्यवशायिक चुनौती दिदै सफलता हासिल गरेकोमा। यसरी राम्रो र स्तरिय चलचित्र निर्माण हुने हो भने कसैले कसैलाई दोष पनि थुपार्नु पर्दैन र कसैले कसैलाई चलचित्र हेर्न हारगुहार पनि गर्नु पर्दैन।  त्यस्ता राम्रा चलचित्र हेर्न दर्शकहरु आपसे आप हलमा धाउछन् भन्ने कुरा राम्रा नेपाली चलचित्र प्रदर्शन भएको समयमा हामीले देखिरहेका छौं। बरु ध्यान दिनु पर्यो कि यो क्रमलाई निरन्तरता दिन अझ राम्रो र स्तरिय नेपाली चलचित्र निर्माण गरेर निरन्तर अगाडी बढ्न। अनि भोलिको दिनमा अवश्य नेपाली चलचित्रले बिश्व चलचित्र बजारमा पनि धाक जमाउने छ।
अहिले त्यस्ता चलचित्रहरु समेत निर्माण हुन् थालेका छन्, जसले ठुलो बजेट, अत्याधुनिक प्रविधि र विश्व चलचित्र बजारमा आधिपत्य जमाएको भारतीय चलचित्र सँग मुकाविला गरेर व्यापार युद्धमा समेत सफल भएका छन्।  यस्तो चलचित्रको पंक्तिमा अहिले प्रदर्शन भैरहेको नेपाली चलचित्र छक्क पन्जा २ लगाएतका केही नेपाली चलचित्रहरु निर्माण भई प्रदर्शन समेत भैसकेका छन्। अब बस यो क्रमले निरन्तरता पाउनु पर्यो।
        

Friday, September 22, 2017

स्वास्थ्य रहन औषधि र भिटामिन भन्दा खानेकुरामा विचार गरौँ ।

बिभिन्न अंगहरुले गर्ने काम तथा प्रकृतिको आधारमा हाम्रो शरीरलाई बिभिन्न भिटामिनहरुको आवश्यकता पर्दछ। त्यसरी शरीरलाई आवश्यक पर्ने सबै भिटामिनहरु हामीले दैनिक उपभोग गर्ने तथा खाने भोजन अनि खानेकुराहरुबाट नै उपलब्ध हुन्छ। यो कुरा सबैलाई थाहा भएपनि हामी नै अनुसरण गर्दैनौ। साथै हाम्रो स्वास्थ्यलाई हानी पर्याउने रेडिमेड तथा जंक फुडहरु बढी खान रुचाउदछौँ। यस्ता खानेकुरहरु मिठो र सर्वसुलभ भएपनि
स्वास्थ्यलाई भने बढी हानी पुर्याउछ। त्यस्तै हामीले दैनिक उपभोग गर्ने भोजन तथा खानेकुराहरुमा पौष्टिक तत्वयुक्त आहारहरुलाई  मिलाएर खाएनौ भने हाम्रो शरीरले अत्यावश्यक भिटामिनहरु प्राप्त गर्न सक्दैन र बिभिन्न रोगहरुले हामीलाई दुख दिन थाल्छ। त्यसैले हामीले आफ्नो खानपानमा बिशेष ध्यान दिनुपर्छ। यिनै कारणहरुलाई मध्यनजरमा राख्दै कुन खानेकुरा के को लागि उपयुक्त हुन्छ र त्यसमा के कस्ता भिटामिनहरु पाइन्छ र के कस्तो अवस्थामा हामीले के कस्तो खानेकुरा खादा उपयुक्त हुन्छ त्यस सम्बन्धमा छोटो जानकारी प्रस्तुत गरिएको छ जुन सबैको लागि उपयोगि हुनेछ ।  
  

खुट्टाको मसल्स दुख्ने वा तन्किएमा 

हाम्रो खुट्टाको मसल्स तन्किएर वा फर्किएर अथवा बौडिएर दुखेको प्रायः सबैले सुनेको देखेको वा भोगेको
हुनु पर्छ। त्यस्तो शरीरमा क्याल्सियम तथा पोटासियमको कमीले गर्दा हुन्छ। हामीले दैनिक उपभोग गर्ने केरा, बदाम, फर्सी, स्याउ तथा हरियो तरकारीहरुमा प्रसस्त मात्रामा क्याल्सियम तथा पोटासियम पाइन्छ।  त्यसैले भोजनमा यी खानेकुरा एवम् फलको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ।

ओठ फुट्न थालेमा 

जाडोको मौसम वा धुलो उड्ने समयमा प्रायः ओठ फुट्ने समस्यले सबैलाई सताएको हुन्छ।  त्यसरी ओठ फुट्ने कारण जाडो तथा धुलोले भन्दापनि हाम्रो शरीरमा आइरन, जिंक र भिटामिन B-12 को कमी भएर हो । यो कुरा सबैलाई थाहा नहुन सक्छ । यदि तपाईहरुको पनि समय समयमा ओठ फुटी रहन्छ भने हुन् सक्छ तपाईहरुमा पनि आइरन, जिंक र भिटामिन B-12 को कमी भएको हुनसक्छ। अतः त्यसको समाधानको लागि आइरन, जिंक र भिटामिन B-12 तत्व प्रसस्त पाइने खानेकुराहरु जस्तै: अण्डा, भेडे खुर्सानी, बन्दाकोबी र दलहरु प्रसस्त मात्रामा उपभोग गर्ने गर्नु पर्दछ। 

अनुहार चौरी परेमा 

भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएमा हाम्रो अनुहारको छाला पहेलो देखिने, फुस्रो हुने, चाया पोतो देखापर्ने र छालामा बिभिन्न खराबीहरु समेत देखा पर्न सक्छ। अतः यस्तो लक्षण तपाइको अनुहारमा देखिएको छ भने बुझ्नुहोस् तपाईको शरीरमा भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएको छ र त्यसकोलागी तपाईले आफ्नो भोजनमा उसिनेको अण्डा, बन्दाकोबी, Dry Fruits, सुन्तला र केराहरु प्रसस्त मात्रामा समावेश गर्नु पर्ने हुन्छ । 
टाउको दुख्ने, थाक्ने समस्य भएमा  

आलश्य वा थाकेको जस्तो हुने, टाउको दुख्ने समस्या प्रायः हामीले देखेका सुनेका छौ र तपाईलाई पनि
त्यस्तो अल्छि लाग्ने, थाकेको जस्तो हुने तथा टाउको दुख्ने समस्याले सताई रहन्छ भने कतै भिटामिन 'B', म्याग्नेसियमको कमी भएको छैन ? समयमै विचार गर्नुहोला। किनकी हाम्रो शरीरमा भिटामिन 'B' र म्याग्नेसियमको कमी भयो भने शरीर थाक्ने तथा टाउको दुख्ने हुन्छ। अतः भिटामिन 'B' र म्याग्नेसियम प्रसस्त मात्रामा हुने केरा, पालुंगो, बदाम, सिमी, जस्ता फल तथा तरकारीहरू आफ्नो खानामा समावेश गर्ने गर्नुहोस। 

हात खुट्टा सुन्निने समस्या छ भने  

शरीरमा भिटामिन 'B-6, B-9 र B-12 को कमी भएमा नर्वस सिस्टममा असर गर्छ र त्यसले हाम्रो हात खुट्टा सुन्निन्छ। यदि तपाईमा पनि यस्तो समस्या छ भने त्यसको समाधानको लागि आफ्नो भोजनमा पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरलाई दैनिक रुपमा समावेश गर्न थाल्नुहोस। किनकी पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरमा प्रसस्त मात्रामा भिटामिन 'B-6, B-9 र B-12 पाइन्छ। 

कपाल झर्छ भने 

यदी तपाईको कपाल झर्न थालेको छ, मुलायम र चम्किलो पनि देखिदैन भने होस् गर्नुहोस, तपाईको शरीरमा  भिटामिन 'B-7', जिंक र प्रोटिनको कमी भएको कारण यस्तो भएको हुनसक्छ । यस्तो भएको खण्डमा भिटामिन 'B-7', जिंक र प्रोटिन प्राप्त गर्न आफ्नो खानाको साथमा अण्डा, गेडागुडी, दाल, बदाम, चना, Dry Fruits (नट्स) तथा फर्सीको बियाँ आदीको समेत प्रयोग गर्नुहोस। किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'B-7', जिंक र प्रोटिन पाइन्छ। 
वजन घट्नु 
बिना कारण तपाईको तौल धेरै नै घटीरहेको छ र ढाड, कम्मर, हात खुट्टाको जोर्नीहरू दुख्छ भने तपाईको शरीरमा भिटामिन 'D' को कमी भएको हुनसक्छ। यदि त्यसो हो भने तपाई आफ्नो खानोको साथमा माछा, अण्डा, चीज, च्याउ आदी समेत खान थाल्नुहोस।  किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'D' पाइन्छ र साथै सुर्यको किरणबाट समेत हामी भिटामिन 'D' प्राप्त गर्न सक्छौ। घाम  अझै बिहानी पाखाको पहेलो घाम भिटामिन 'D' को प्रमुख प्राकृतिक श्रोत हो। 
तेसैले विचार गर्नुहोला आफुमा के कस्तो लक्षण देखापरेको छ, माथि लेखिए अनुसारका लक्षण देखियो भने घरैमा एकपटक आफ्नो आहारमा ध्यान पुर्याउदा समेत ठुलो फाइदा पुग्न सक्छ। साथै रोग लागेर उपाय अपनाउनु भन्दा प्रत्यक दिन आफ्नो खानामा उपरोक्त अनुसारका खानेकुराहरु समावेस गरेर भोजन गर्दा रोगबाट सदा सुरक्षित रहन सकिन्छ।  विचार गरौँ। 
स्वास्थ्य खाना खाऔँ, अनि स्वास्थ्य रहौं।   


Sunday, September 10, 2017

लाटीको छोरो ! एउटा उत्कृष्ठ नाटक ।

(नाटक समिक्षा)
धेरै लामो अन्तरल पछि रंगमंचमा गएर नाटक हेर्ने मौका जुरेकोले मण्डला थिएटर अनामनगरमा गएर शनीवार नाटक हेरियो। । श्याम शाहको मुख्य कथालाई सुलक्षण भारतीले नाट्य लेखन(रुपान्तर) तथा निर्देशन गरेर एउटा सुन्दर अनि नाटक प्रेमी दर्शकहरुको हरर्र भएको आँतलाई तृप्त पार्ने गरी नाटक लाटीको छोरो लाई पस्केका छन् भन्दा अत्युक्ति नहोला ।
एउटा पिछडिएको समाजमा बस्ने सोझा बोल्न नसक्ने निरही नगरिकहरु र त्यहि समाजमा बस्ने गन्यमान्य उच्च घराना तथा ठुला ब्यापारी र नेताहरु बिचको विभेद अझ यसलाई समाजमा रहेका उच्च स्तर र निम्न स्तरका मानिसहरु बिचको विभेद, साथै समाजमा बस्ने त्यस्ता तल्लो स्तरका समूदाय माथि समाजका माथिल्लो बर्गले हेर्ने दृष्टिकोण र उनलाई गर्ने असमान व्यवहारलाई प्रस्तुत गरिएको छ नाटक लाटीको छोरोमा ।
नाटकको पृष्ठ भूमिमा देखाईएको परापूर्व काल देखिको एउटा डोम बस्ती जसलाई पछि सुन्दरपुर नामाकरण गरिन्छ। नाम परिवर्तनगरी सुन्दरपुर राखिए पनि त्यस बस्तीमा असुन्दर रहनसहन, असहाय गरिब निमुखा र तल्लो जाती माथि हुने थिचोमिचो अनि सामाजिक, राजनैतिक तथा प्रशासनीक चलखेल नै नाटकको प्रमुख बिषय हो। कथा अनुसार डोम बस्तीबाट पछि बनेको सुन्दरपुर बस्तीमा सुष्तमनस्थिती भएकी लाटी बलात्कारको शिकार हुन्छिन् । कसले बलात्कार गर्यो ? (थाहा पाउन अवश्य नाटक हेर्नुहोला),
लाटी गर्भवती हुन्छे। त्यसपछि प्रशासनिक र राजनैतिक चलखेल पनि सुरुहुन थाल्छ। एक अर्कालाई शंकाको नजरले हेर्न थालिन्छ। समय बित्दै जादा बिस्तारै बलात्कार कसले गर्यो भन्ने रहश्य पनि खुल्दै जान्छ । समय पुगेपछि लाटीले छोरो जन्माउछिन् । छोरो ठ्याक्कै, …. सँग अनुहार मिल्छ । को सँग मिल्छ ? (नाटक हेर्नु पर्छ थाहा पाउन), यसरी लाटी लाई कसले बलात्कार गर्यो ? वास्तविक दोषि को हो ? रहस्य खुलेपछि के हुन्छ ? थाहा पाउन उत्सुक हुनुहुन्छ भने मण्डला थिएटरमा गएर अवश्य हेर्नुहोला, नाटक लाटीको छोरो .नाटक निकै राम्रोसँग उनिएको छ, साथै रोचक प्रस्तुतिले नाटक अवधिभरी दर्शकहरुको ओठमा मन्दमुस्कन रोकिन पाउदैन 
नाटकमा सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ । निर्देशकले पनि समाजको एउटा साधारण तर गम्भिर बिषयलाई हलुका हास्य रसमा घोलेर उत्कृष्ट नाटक
दर्शक माझ पस्किएको कुरा कुनै कन्चुस्याई नगरी स्विकार्न सकिन्छ ।
नाटकको अर्को आकर्षक पक्ष हो बरिष्ठ कलाकार टिका पहारीको यसै नाटक मार्फत ३०औ बर्ष पछि रंगमंचमा Comeback हुनु पनि हो । नाटक लाटीको छोरो मा बरिष्ठ कलाकार टिका पहारीले एउटा प्रमुख अनि महत्वपूर्ण भूमिकामा उत्कृष्ठ अभिनय गर्नु भएको छ । साथै  अन्य कलाकारहरुमा हुनु हुन्छ,  पशुपति राई, रामप्रसाद शर्मा, सन्दिप पौडेल, कुन्दन थारु, कुशल पाण्डे, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले लगायतको भूमिका रहेको छ। नाटक ’लाटीको छोरो’ असोज
८ गते सम्म हरेक दिन साझ ५ः३० बजे मञ्चन भैरहेको छ (प्रत्यक सोमबार बाहेक)  

Friday, September 8, 2017

जो चोर उसैको ठुलो स्वर !

दशैं अफरको सहुलियत तथा ठुलो छुट दिने भन्दै प्रचार गर्ने तर उपभोक्तालाई भने अत्याधिक मूल्य लिएर राजधानीका अधिकांश पसलहरुले वास्तविक मुल्य भन्दा अत्यधिक मुल्य वृद्धि गरेर पछि ठुलो छुट दिएर Sale को नाममा सामानहरु बिक्रि गर्ने गरेको छ ।यसरी ठुलो चाड पर्वहरुमा व्यापारीहरुले अत्याधिक छुट दिईने प्रचार गरेर समान बिक्रि गरेर सर्व साधारणलाई धेरै पहिले देखिनै ठगी गर्दै आइरहेका छन्।   
यस्तै राजधानीको दरवार मार्गमा अवस्थित केहि ठुला ब्रान्डेड तथा अन्तराष्ट्रिय
ब्राण्डका सामानहरु मात्रै बिक्रि गर्ने पसलहरुले छुट तथा Sale को नाममा उपभोक्ताहरुलाई ठगी गरेको आरोप विगतमा पनि लग्ने गरेको थियो र त्यो तेसै सेलाएर जान्थ्यो । तर अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले त्यस्तो कालोबजारी गरिरहेको सूचना पाएको आधारमा आफ्नो नेतृत्वमा आकस्मिक अनुगमन गरेर उपभोक्ता ठगी गरेको प्रमाण भेटिएका पसलहरुलाई शिलबन्दी गरेका थिए। त्यसरी सामानहरुको वास्तविक मुल्य
भन्दा अत्यधिक बढी मुल्य असुलेर ठगी गर्नेमा राजधानीको दरवारमार्गमा खुलेका अन्तरराष्ट्रिय ब्राण्डका सामानहरु बेच्ने पसलहरु स्टोर-वान, ब्रेन्टली, पुमा र नाइके सिहितका पसलहरु हुन्। ति पसलहरुमा मन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता ठगी गरेको प्रमाण सहित फेला पारेपछि  शिलबन्दी गरेका थिए।
कुनै पनि सामानको वास्तविक खरिद मूल्यमा २० प्रतिशत सम्म नाफा लिएर समान
बिक्रि गर्न पाइने कानूनी व्यवस्था रहेको भएता पनि ती पसलहरुले वास्तविक मूल्यको ११ औँ गुणा भन्दा बढी मूल्य लिएर समान बिक्रि गरेको भेटिएको, अनुगमन टोलीका अनुसार ती पसलहरुमा बिल बीजक नभएको, वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको हो । ती पसलले ४ हजार ७ सय रुपैँयामा खरिद गरेको जुत्ता २६ हजार ९ सय ९० रुपैँयामा बिक्री गरेको र दुई हजार ६ सयको सामान २६ हजारमा बिक्री
गरेको फेला पारेको थियो ।ले आपूर्ति मन्त्रि मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले शिलबन्दी गरेको थियो। ती पसलहरुले रु.४७००/ पर्ने जुत्ताको रु. २६९९०/ मूल्य राखेर बेचेको भेटिएको थियो।  
त्यसरी छापा मारेको विरोधमा दरबारमार्गको ब्यापारीहरुको संघ दरबारमार्ग बिकाश समिति बोर्डले दशैंको मुखमा पसल बन्द गरेर सरकारको कार्यको विरोध गरेका  छन् । अझ यसलाई बिरोध भन्दा पनि ठग्न पाउनु पर्छ, ठग्नु हाम्रो अधिकार हो भन्ने कुरा सरकारलाई सुझाउन खोजेका होलान। यस्तै हो भने त् संबिधान मै ब्यापारीले उपभोक्ताहरुलाई ठग्न पाउने कुराको व्यवस्था गर्दा सबै भन्दा उचित हुन्थ्यो। कि कसो ?   
हामी नेपालीहरुको कस्तो बिडम्वना, ठगी गर्ने, भ्रष्टाचार गर्ने, चोरी गर्ने, लुटपाट गर्ने कुरा मौलिक अधिकार जस्तै ठान्छन, त्यस्ता कुकृत गर्ने व्यक्ति, अझ टोलीहरू भन्दा बेश होला। के यो सहि हो त्? के ब्यापारीहरुले आम उपभोक्ताहरुलाई ठग्न पाउनु पर्ने नै हो त्? 
आम नागरिक तथा उपभोक्ताहरु यस कुरालाई स्विकार्छन त्? आपूर्ति मन्त्रि ज्युले गर्नुभएको कार्य सहि हो कि होइन त् ? सरकारले अब के गर्नु पर्यो त् ? कि ब्यापारीलाई त्यसरी नै ठग्न दिनु पर्यो त्?
पाठक बृन्दहरुले पनि यस सम्बन्धमा आफ्नो अमुल्य विचार उल्लेख गरिदिनु होला? 


Friday, August 11, 2017

एउटा गम्भिर प्रश्न ?

डाक्टर गोविन्द के.सी. अहिले सम्म ११ औँ पटक आमरण अनसन बसिसके, किन? बिगत देखिनै जनस्वास्थ्य संग सम्बन्धित बिभिन्न मागहरु राखेर उनि अनसन बस्दै आएका छन्। त्यस्तै सरकारले पनि सोहि अनुसार माग पुरा गरिदिने बचन दिदै उनको अनसनलाई तोड्दै आएको छ। अहिले सम्मको ११ औँ पटकको अनसनमा पुगिसक्दा सरकारले जनस्वास्थ्यको क्षेत्रमा के कति सुधार गर्यो त् ? डाक्टर गोबिन्द के.सी.को माग पुरा गर्नबाट सरकार किन पछि हट्छ? किन आफुले कमिटमेन्ट गरेको कुरा पुरा गर्दैन ?
के उनले अनसन बसेर बिश्व रेकर्ड राख्दै गिनिज बुकमा नेपालको तर्फबाट आमरण अनसन बस्ने पहिलो व्यक्ति भनेर नाम लेखाउनको लागि यसरी अनसन बसेका हुन् त् ? कि डाक्टर के.सी. ले आफ्नो कुनै व्यक्तिगत स्वार्थपूर्ति गर्न त्यसरी आमरण अनसन बसेका हुन् ? होइन भने के कारणले डाक्टर के.सी. यसरी बारम्बार आमरण अनसन बस्न बाध्य भएका छन त् ? अनि किन सरकार डाक्टर के.सी.को माग पुरा गर्न हच्किन्छ त् ?
डाक्टर के.सी.को प्रमुख माग के हो त् ? उनको प्रमुख माग हो, -चिकित्सा शिक्षाको सुधार र स्वास्थ्य सेवामा सर्वसाधारणको भरपर्दो सरल र प्रभावशाली पहुँच हुनुपर्छ भन्ने छ। त्यस्तै अर्को उनको मागको सार छ, -ठुलो धनरासी बुझाएको भर तथा राजनैतिक पहुँचको भरमा नभई योग्यताको आधारमा बिध्यार्थिले MBBS (डाक्टरी) मा अध्ययन गर्न पाउनुपर्छ। त्यस्तै, -चिकित्सा शिक्षाको शुल्क सरकारले तय गर्नुपर्यो, न की निजी शिक्षण संस्थाले र यो कुरा सबैमा कडाईका साथ् लागुहुनु पर्यो। तोकिएको भन्दा धेरै शुल्क निजी मेडिकल कलेजहरुले लिनु भएन। ठुलो धनरासी बुझाएर मात्रै कोही स्तरिय चिकित्सक बन्दैनन्। त्यसकोलागी प्रमुख कुरा योग्यतानै हो। फेरी त्यसरी ठुलो धनरासी खर्चेर बनेका चिकित्सकहरुको पहिलो उद्देश्य आफ्नो लगानी उठाउने हुन्छ, नकी रोगीको सेवा गर्ने।  अतः त्यस्ता
डाक्टरहरुबाट के अपेक्षा गर्न सकिन्छ त् ? त्यसैले चिकित्सा शिक्षा नियमानुसार Affordable (सस्तो) हुनुपर्यो। मेडिकल कलेजहरुमा पर्याप्त योग्य शिक्षक तथा अावश्यक भौतिक पूर्वाधार पुगेको हुनुपर्यो। फेरी बिध्यार्थीहरु को प्रयोगात्मक शिक्षा(अभ्यास)को लागि मेडिकल कलेजहरुमा बिरामीहरुको संख्या पनि पर्याप्त हुनुपर्यो।नागरिकहरुलाई राम्रो र सर्वसुलभ स्वास्थ्य सेवा दिन मेडिकल शिक्षाको गुणस्तर पनि राम्रो हुनुपर्यो भन्ने डाक्टर केसीको प्रमुख मागको सारांश हुन्। 
त्यस्तै, मेडिकल कलेजहरु सबै नाफामुखी भएर देशको प्रमुख शहरहरु र राजधानीमा मात्रै खुल्न थाले। त्यसैले पिछडिएका क्षेत्र तथा जिल्लाहरुका गरीब र निमुखा जनताहरुले पनि स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन् नपरोस भनेर अब राजधानी र मुख्य सहरहरुमा नयाँ मेडिकल कलेज खोल्न रोक्ने र जहाँ अावश्यक छ, त्यस क्षेत्रमा खोल्न प्रोत्साहित गरौं भन्ने पनि डाक्टर के.सी.को माग रहेको छ। त्यसको लागि सरकार अाफैंले प्रत्येक प्रदेशमा एकएक वटा पूर्णरुपमा सरकारी स्वामित्व भएको मेडिकल कलेज खोलोस् भन्ने राय समेत डाक्टर के.सी.को छ भने, के यो नाजायज माग हो त् ? यदि डाक्टर के.सी.को माग जायज हो भने किन माग पूरा हुदैन त् ? कानुन बनाउने ठाउँमा पुगेका नेताहरुले जायज माग किन बुझ्दैनन् वा किन बुझ पचाउँछन्? डाक्टर केसीले जनहितका यस्ता माग पूरा गराउन एघारौं पटक सम्म अनसन बस्दा पनि किन माग पुरा हुदैन त् ? कुरो गम्भिर नभए पनि गम्भिर बनाउदै लागिएको छ।  किन यसो भयो त् ? किन भने प्रायः सबै प्रमुख राजनैतिक दलका नेताहरु स्वयम् मेडिकल शिक्षाको नाफाखोरी व्यापारमा संलग्न छन्। यो व्यवसायमा संलग्न अन्य ब्यापारीहरुको पनि ठुला दलका ठुला नेताहरुसंगको सिधा पहुँच भएको  उनीहरुसँगभएको पैसाको शक्ति नै प्रमुख कारण हो। किनकि राजनीति र राजनीतिक दलहरुका लागि हिजो आज र भोली त्यस्ता ब्यापारीहरुले लगानी गरेका छन् र उनीहरुको पैसा चाहिरहन्छ भन्ने नेताहरुलाई पनि अनुभव छ। डा. केसीका माग र मेडिकल शिक्षाको सुधारका लागि संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक यिनै कारणले अड्किँरहेको छ र त्यसैलाई लागुगर्नु पर्यो भन्ने माग डाक्टर के.सी.को रहेको छ। तर सबै प्रमुख ठुला दलका 
प्रमुख नेताहरुको स्वार्थ समेत यसमा जोडिएको कारण नै डाक्टर के.सी.को जायज मागहरु पुरा भएका छैनन।कसरी जोडिएको, किन जोडिए तिर नलागौँ किनकी त्यस सम्बन्धमा धेरै कुराहरु पत्र पत्रिकामा छापिईसकेक छन्। तर हस्पिटलहरुमा उपचारको क्रममा अहिले देखिएका, भेटिएका र सुनिएका घटना, दुर्घटनाहरु किन हुन्छन, अनि एकै प्रकृतिका दुर्घटनाहरु किन दोहरी रहन्छन त् ? किनकी त्यो सबै चिकित्सकहरु दक्ष नभएर नै हो, त्यो पनि सजिलैसँग पुष्टि हुन्छ। कसरी भन्ने प्रश्न ठडिन सक्छ, त्यसको सही उत्तरको लागि यताउता नगरी MBBS उतिर्ण गरेर चिकित्सक पेशामा लाग्नलाई आवश्यक लाईसन परिक्षाको नतिजाले नै प्रष्ट पारिदिन्छ, डाक्टर सापहरुले कसरी आफ्नो अध्ययन पुरा गरेका रहेछन भन्ने। अनि हस्पिटल, त्यो पनि राजधानीमा अवस्थित ठुला ठुला हस्पिटलहरुमा सानोतिनो रोग लागेर जचाउन मात्र आएका साधारण रोगीको समेत ज्यान नगए कसको जान्छ त् ? फेरी यस्ता दुर्घटना एक दुई पटक आक्कल झुक्कल मात्रै नभएर बारम्बार दोहरी रहेको छ, अनि यसैले पुष्टि गर्छ, डाक्टर सापले कसरी र कुन तरीकाबाट आफ्नो अध्ययन पुरा गर्नु भयो भनेर। यस्तो डाक्टर उत्पादन गर्ने Teaching Hospital जस्तो हस्पिटल भविष्यमा पुनः कसैले नखोलुन भनेर डाक्टर के.सी.ले अनसन बसेका हुन् के यो नाजायज हो त् ?
कसैलाई हृदयघात भएर हस्पिटल उपचार गराउन लग्दा चिकित्सकले Streptokinase इन्जेक्शन ल्याऊ भनेर लेखिदिन्छ, एक हजार देखि एघार सय वास्तविक मूल्य भएको औषधिको चौध हजार तिर्नु पर्छ। के यो जायज हो ?
आफ्नो बालबच्चालाई टाईफाईड़ भएर उपचार गराउन हस्पिटल/नर्सिङ्गहोम पुग्नुभयो भने Monocef इन्जेक्शन लेखिदिन्छ, चालीस रुपैया पर्ने इन्जेक्शनलाई पचासी रुपैयामा किन्नु पर्छ। के यो जायज हो?
किड्नी फेल भएर Dialysis गर्नु पर्ने रोगीले डायलाईसिस गरेपछि एउटा इन्जेक्शन लगाउनु पर्छ,जसको वास्तविक मूल्य आठ सय रुपैया मात्रै हो, तपाइले किन्न खोज्नु भयो भने कही पाउन सक्नुहुन्न,तर २९००/ रुपैया डाक्टरलाई तिर्नासाथ तुरुन्त त्यैको त्यहि आफ्नो अस्पतालमा उपलब्ध गराउछन् डाक्टरहरुले। के यो जायज हो?
कारणबस बच्चालाई इन्फेक्सन भएर उपचार गराउन जानुभयो भने डाक्टरले एन्टीवायोटिक्स लेखिदिन्छ। त्यो औषधिको वास्तविक मुल्य कम्पनि अनुसार ७५ देखि २४० रुपैया पर्छ। तर औषधि पसलमा ८७० रुपैया भन्दा घटीमा पाइदैन, यो होइन भन्यो भने अर्को छैन भन्छन र त्यहि महँगो औषधि किन्न बाध्य बनाइन्छ। के यो जायज हो?
यसरी गम्भिर प्रकृतिको रोगको उपचारमा प्रयोग हुने औषधिको मूल्य त्यसको महत्व अनुसार निर्धारण गरिन्छ, औषधि व्यवशायी, हस्पिटल/नर्सिङ्घहोम र डाक्टर मिलेर। के यो जायज हो?
माथि उल्लेखित त्यस्ता मागहरु पुरा गराउन आफ्नो ज्यानको आहुति दिन अघिबढेका डाक्टर गोबिन्द के.सी. जायज कि नाजायज ? यो नै अहिलेको गम्भिर प्रश्न हो सम्बन्धित सबै र आम देशभक्त नेपालीहरुकालागि


Tuesday, August 8, 2017

गाईजात्रा एक रमाइलो पर्व (सस्कृति) ।

चार जात छत्तिस बर्णका नेपालीहरुले परापूर्वकाल देखिनै आ आफ्नो रहन सहन,रितिरिवाज, संस्कृति, सामाजिक तथा धार्मिक मान्यता अनुसार बिभिन्न चाडपर्व मनाउदै आएका छन्। त्यसै मध्यको गाइजात्र एउटा रमाइलो जात्रा अथवा पर्व हो। 
बितेको वर्ष भित्र आफन्तजनको मृत्यु भई शोकाकूल परिवारका सदस्यहरुलाई मृतकको सम्झना र निकटताको कारण मनमष्तिस्कमा छाउने शोक तथा दुखलाई भुलाउन समाजमा बिध्यमान विसंगती, विकृती, कूरिती र आडम्बरहरुलाई समाजको प्रतिष्ठीत प्रख्यात अथवा कुख्यात व्यक्तित्वहरुसंग जोडेर त्यसमाथि व्यंग प्रहर गर्दै, गाई, जोगीको सृंगार गरी साथै बिभिन्न मुखुण्डोलगाएका नर्तक नर्तकीहरु लगायत झाँकी र थुप्रै रौनकहरु सहित साताभरि गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले चलाए देखि निरन्तर आजसम्म चलिआएको छ। गाईजात्राको अवसरमा गरिने बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला, प्रहर्सनको मध्यमबाट गरिने घोचपेच छेडखानी व्यंग जस्ता रमाइला क्रियाकलापले मृत्यू भएका आफन्तको संझनामा गरिने यस्ता रमाइलो र हाँस्य युक्त कार्यक्रमलाई बिचार गर्ने हो भने गाईजात्राले मृत्यूलाई एउटा सहज प्रक्रियाका रुपमा लिएर जीवनलाई पहिलेको जस्तै निरन्तर अगाडी बढाउन मृतकका
शोकसन्तप्त परिवारलाई आव्हान गरेको कुरालाई समेत बोध गराँउदछ ।

बिशेषगरी गाईजात्रा अर्थात यस दिनमा आमा र धर्तीलाई सम्मान गर्दै  हिन्दू संस्कारमा पूजनीय गाइको जात्रा हो । यस जात्राको सम्बन्धमा इतिहासलाई नियाल्दा र किंवदन्तिहरुलाई केलाउदा, गाईजात्रा मनाउने चलन राजा प्रताप मल्लले चलाएका हुन्। विक्रम संवत् १६४१ देखि १६६४ को समयमा राजा प्रताप मल्लको छोराको निधनले ठूलो वियोग परेको थियो। राजा प्रताप मल्लकी  रानीलाई पुत्र शोकको ठूलो आघात पर्यो।  धेरै समय बितिसक्दा पनि रानीले सामान्य जीवनयापन नगरी राजकाजको कार्यमा चासो नदिएर एक्लै टोलाएर बस्ने गरेकि थिइन । रानीको त्यस्तो अवस्था देखेर राजा प्रताप मल्लले, मृत्यू भनेको कसैको नियन्त्रणमा हुदैन भनेर जति सम्झाए पनि रानीका आँखा रसाउन नछोडेपछि राजा प्रताप मल्लले राज्यमा त्यस बर्षभरि मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाइसहित  दरवार अगाडीबाट  रानीले देख्ने गरि जात्रा निकाल्न भनेका थिए। त्यस दिन अहिलेको हनुमान ढोका परिसरमा अवस्थित बसन्तपुर दरवार क्षेत्रमा (अहिलेको काठमाडौ
दरवार स्क्वाएरमा) गाई तथा अनेक झाँकीहरु सहितको जात्रा निकालिएर प्रदर्शन गरिएको थियो। त्यस समयमा त्यसरी गरिएको नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । बितेको बर्ष भरि आफन्त बितेर जात्रा निकाल्ने परिवारको सदस्यहरु देखेपछि रानीले पनि मृत्यूको शोक आफूलाई मात्र नपरेको वरु आफ्ना जस्ता छोरा, आमा, वुवा लगायतका अन्य परिवारका सदस्य गुमाएको पीडा धेरैले सहन गरेको महसूस गरिन् । राजा प्रताप मल्लले त्यस जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न समेत प्रोत्साहित गरेका थिए।  जुन कुराहरु हेरेर रानीले सम्पूर्ण पीडा विसाएर धक फुकाएर हाँसेकी थिइन्
 भनिन्छ। त्यसरी जात्रामा आएका ब्यक्तिहरुले झाँकी ठट्टा र व्यंगहरुको  माध्यमबाट गण्यमान्य धनी व्यक्तिहरुले समाजमा भए गरेका आडम्बर, कुरिती, थिचोमिचोको बिरुद्धमा र गरिबका पीडालाई सांकेतिक रूपमा पनि प्रतिबिम्बित गरेर व्यंग गरेका थिए । यसरी त्यस बेलादेखि यो गाइजात्रा एउटा सामाजिक स्वरूपको समनतालार्इ वकालत गर्ने चाड पनि भएको छ ।  त्यस समयमा गाइजात्रामा शुरुवात गरिएको त्यस प्रकारको ब्यङ्गको चलन पुस्तौपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित गण्यमान्य ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई व्यंग हान्ने चलन निरन्तर चलिआएको छ र नेपालका ख्यातिप्राप्त कलाकारहरु सम्मिलित भएर हास्यव्यंग कार्यक्रमको रुपमा आजका दिन सम्म एक साता भारी मनाउदै आइरहेका छन्। यस्तो कार्यक्रमको माध्यमबाट गण्यमान्य व्यक्तिहरु जस्तै, मन्त्री,नेता, कर्मचरी, सिपाही प्रहरी, ब्यापारी तथा कुनै पनि व्यवसायीहरु लगाएत चियापसले देखि ठेला ब्यापारी सम्मलाई व्यंग गर्दै पेच हानिन्छ । समाजका विकृती, कुरिती, घटना, परिघटनाको हास्यास्पद साराशं पनि हो गाईजात्रा ।त्यस्तो कार्यक्रम हेर्न ठुलो समूहमा दर्शकहरु पनि लालायत भएका हुन्छन। यो गाईजात्रा कार्यक्रममा गरिएको व्यंग प्रति कसैले पनि रिसइवि र इख राख्न मिल्दैन ।  

धार्मिक प्रचलन अनुसार आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएको हुदा यस दिनमा काठमाडौ उपत्यकाका बासिन्दाहरूले यम् (यमराज) अर्थात् मृत्यूका देवताको पूजा गर्दछन्र। गाइजात्रा निकाल्दा गाइलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गार्इ जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रंगीचंगी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाइजात्रा काठमाडौ उपत्यकाको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ तथा शहरहरुमा समेत यो गाइजात्रा मनाउदै आइएको देखिन्छ।  
त्यस्तै सामाजिक मान्यता अनुसार गाईजात्रा सुस्तरि कम हुँदै गएको वर्षा तथा नजिकदै आएको चाडपर्वहरुको सूचक पनि हो भन्ने भनाइ समेत प्रचलित छ। मौसममा समेत देखिने चहकिलो घाम तथा दिनहरु, त्यस्तै हल्का बहने सितल बतास र खेतमा रोपाँई सकिएको अवस्थामा भएको फुर्सदिलो दिनहरुमा ठट्टा गर्दै एकापसमा घोचपेच गरि जिस्कदै दिलखोलेर रमाइलो गर्ने र मुक्तकण्ठले हास्नलाई नै यो गाईजात्रा मनाउने चलन थालिएको हो र त्यहि नै आजका दिनसम्म पनि चलिआएको छ। 

Tuesday, August 1, 2017

म त् लाज पचेको, नकचरो !

(धन्यवाद ! त्यस साथीलाई जसले मलाई कबि बनाएर यो कविता फुरायो) 
                                          (कविता) 
साथीभाईले आफु उभिएको
धरातललाई पनि बिर्सिदिंदा,
म त यस्तै हुँ  भन्दै आफ्नो
अतितलाई समेत भुलिदिंदा,
अनि अहिलेको अवस्थामा
कसरी र के गरी पुगेँ भन्ने
वास्तविकतालाई पनि बिर्सिदिंदा,
साथै खादा पाउँदा आफुले
सबै थोक उचित र सहि देख्ने,
तर त्यही अवस्थामा कतै केहि
कमि भए आफुलाई,
अनि सबै कुरा बैरी र गलत देख्ने
र मनको तुस पोख्दै केही बढाई चडाई
त्यसैलाई सम्प्रेसण गरिदिने,
फेरी केहि नबुझी आफुले
हो मा हो मिलाउदै गाली गलौच गर्दै     
न्वारन समेत गरिदिने प्रवृतिले,
बुद्धिमान र समझदार सम्झिएको
मानिस त समय संगै आफै
विवेकहीन तथा अबुझ भइदिने,
कस्तो प्रवृति हो मान्छेको?
कोहि बेला आफैलाई बैरी देख्ने !
कसले के गर्यो कसो गर्यो
भनि नसोध्नु साथी,
कतै तिम्रै नाम
गरिदिउल उच्चारण,
किनकी,
म त् लाज पचेको, नकचरो पो हुँ।