Friday, September 22, 2017

स्वास्थ्य रहन औषधि र भिटामिन भन्दा खानेकुरामा विचार गरौँ ।

बिभिन्न अंगहरुले गर्ने काम तथा प्रकृतिको आधारमा हाम्रो शरीरलाई बिभिन्न भिटामिनहरुको आवश्यकता पर्दछ। त्यसरी शरीरलाई आवश्यक पर्ने सबै भिटामिनहरु हामीले दैनिक उपभोग गर्ने तथा खाने भोजन अनि खानेकुराहरुबाट नै उपलब्ध हुन्छ। यो कुरा सबैलाई थाहा भएपनि हामी नै अनुसरण गर्दैनौ। साथै हाम्रो स्वास्थ्यलाई हानी पर्याउने रेडिमेड तथा जंक फुडहरु बढी खान रुचाउदछौँ। यस्ता खानेकुरहरु मिठो र सर्वसुलभ भएपनि
स्वास्थ्यलाई भने बढी हानी पुर्याउछ। त्यस्तै हामीले दैनिक उपभोग गर्ने भोजन तथा खानेकुराहरुमा पौष्टिक तत्वयुक्त आहारहरुलाई  मिलाएर खाएनौ भने हाम्रो शरीरले अत्यावश्यक भिटामिनहरु प्राप्त गर्न सक्दैन र बिभिन्न रोगहरुले हामीलाई दुख दिन थाल्छ। त्यसैले हामीले आफ्नो खानपानमा बिशेष ध्यान दिनुपर्छ। यिनै कारणहरुलाई मध्यनजरमा राख्दै कुन खानेकुरा के को लागि उपयुक्त हुन्छ र त्यसमा के कस्ता भिटामिनहरु पाइन्छ र के कस्तो अवस्थामा हामीले के कस्तो खानेकुरा खादा उपयुक्त हुन्छ त्यस सम्बन्धमा छोटो जानकारी प्रस्तुत गरिएको छ जुन सबैको लागि उपयोगि हुनेछ ।  
  

खुट्टाको मसल्स दुख्ने वा तन्किएमा 

हाम्रो खुट्टाको मसल्स तन्किएर वा फर्किएर अथवा बौडिएर दुखेको प्रायः सबैले सुनेको देखेको वा भोगेको
हुनु पर्छ। त्यस्तो शरीरमा क्याल्सियम तथा पोटासियमको कमीले गर्दा हुन्छ। हामीले दैनिक उपभोग गर्ने केरा, बदाम, फर्सी, स्याउ तथा हरियो तरकारीहरुमा प्रसस्त मात्रामा क्याल्सियम तथा पोटासियम पाइन्छ।  त्यसैले भोजनमा यी खानेकुरा एवम् फलको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ।

ओठ फुट्न थालेमा 

जाडोको मौसम वा धुलो उड्ने समयमा प्रायः ओठ फुट्ने समस्यले सबैलाई सताएको हुन्छ।  त्यसरी ओठ फुट्ने कारण जाडो तथा धुलोले भन्दापनि हाम्रो शरीरमा आइरन, जिंक र भिटामिन B-12 को कमी भएर हो । यो कुरा सबैलाई थाहा नहुन सक्छ । यदि तपाईहरुको पनि समय समयमा ओठ फुटी रहन्छ भने हुन् सक्छ तपाईहरुमा पनि आइरन, जिंक र भिटामिन B-12 को कमी भएको हुनसक्छ। अतः त्यसको समाधानको लागि आइरन, जिंक र भिटामिन B-12 तत्व प्रसस्त पाइने खानेकुराहरु जस्तै: अण्डा, भेडे खुर्सानी, बन्दाकोबी र दलहरु प्रसस्त मात्रामा उपभोग गर्ने गर्नु पर्दछ। 

अनुहार चौरी परेमा 

भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएमा हाम्रो अनुहारको छाला पहेलो देखिने, फुस्रो हुने, चाया पोतो देखापर्ने र छालामा बिभिन्न खराबीहरु समेत देखा पर्न सक्छ। अतः यस्तो लक्षण तपाइको अनुहारमा देखिएको छ भने बुझ्नुहोस् तपाईको शरीरमा भिटामिन 'A' तथा भिटामिन 'C' को कमी भएको छ र त्यसकोलागी तपाईले आफ्नो भोजनमा उसिनेको अण्डा, बन्दाकोबी, Dry Fruits, सुन्तला र केराहरु प्रसस्त मात्रामा समावेश गर्नु पर्ने हुन्छ । 
टाउको दुख्ने, थाक्ने समस्य भएमा  

आलश्य वा थाकेको जस्तो हुने, टाउको दुख्ने समस्या प्रायः हामीले देखेका सुनेका छौ र तपाईलाई पनि
त्यस्तो अल्छि लाग्ने, थाकेको जस्तो हुने तथा टाउको दुख्ने समस्याले सताई रहन्छ भने कतै भिटामिन 'B', म्याग्नेसियमको कमी भएको छैन ? समयमै विचार गर्नुहोला। किनकी हाम्रो शरीरमा भिटामिन 'B' र म्याग्नेसियमको कमी भयो भने शरीर थाक्ने तथा टाउको दुख्ने हुन्छ। अतः भिटामिन 'B' र म्याग्नेसियम प्रसस्त मात्रामा हुने केरा, पालुंगो, बदाम, सिमी, जस्ता फल तथा तरकारीहरू आफ्नो खानामा समावेश गर्ने गर्नुहोस। 

हात खुट्टा सुन्निने समस्या छ भने  

शरीरमा भिटामिन 'B-6, B-9 र B-12 को कमी भएमा नर्वस सिस्टममा असर गर्छ र त्यसले हाम्रो हात खुट्टा सुन्निन्छ। यदि तपाईमा पनि यस्तो समस्या छ भने त्यसको समाधानको लागि आफ्नो भोजनमा पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरलाई दैनिक रुपमा समावेश गर्न थाल्नुहोस। किनकी पालुंगो, अण्डा, सिमी बोडी तथा चुकुंदरमा प्रसस्त मात्रामा भिटामिन 'B-6, B-9 र B-12 पाइन्छ। 

कपाल झर्छ भने 

यदी तपाईको कपाल झर्न थालेको छ, मुलायम र चम्किलो पनि देखिदैन भने होस् गर्नुहोस, तपाईको शरीरमा  भिटामिन 'B-7', जिंक र प्रोटिनको कमी भएको कारण यस्तो भएको हुनसक्छ । यस्तो भएको खण्डमा भिटामिन 'B-7', जिंक र प्रोटिन प्राप्त गर्न आफ्नो खानाको साथमा अण्डा, गेडागुडी, दाल, बदाम, चना, Dry Fruits (नट्स) तथा फर्सीको बियाँ आदीको समेत प्रयोग गर्नुहोस। किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'B-7', जिंक र प्रोटिन पाइन्छ। 
वजन घट्नु 
बिना कारण तपाईको तौल धेरै नै घटीरहेको छ र ढाड, कम्मर, हात खुट्टाको जोर्नीहरू दुख्छ भने तपाईको शरीरमा भिटामिन 'D' को कमी भएको हुनसक्छ। यदि त्यसो हो भने तपाई आफ्नो खानोको साथमा माछा, अण्डा, चीज, च्याउ आदी समेत खान थाल्नुहोस।  किनकी यी खानेकुराहरुमा प्रसस्त मात्रामा भिटामिन 'D' पाइन्छ र साथै सुर्यको किरणबाट समेत हामी भिटामिन 'D' प्राप्त गर्न सक्छौ। घाम  अझै बिहानी पाखाको पहेलो घाम भिटामिन 'D' को प्रमुख प्राकृतिक श्रोत हो। 
तेसैले विचार गर्नुहोला आफुमा के कस्तो लक्षण देखापरेको छ, माथि लेखिए अनुसारका लक्षण देखियो भने घरैमा एकपटक आफ्नो आहारमा ध्यान पुर्याउदा समेत ठुलो फाइदा पुग्न सक्छ। साथै रोग लागेर उपाय अपनाउनु भन्दा प्रत्यक दिन आफ्नो खानामा उपरोक्त अनुसारका खानेकुराहरु समावेस गरेर भोजन गर्दा रोगबाट सदा सुरक्षित रहन सकिन्छ।  विचार गरौँ। 
स्वास्थ्य खाना खाऔँ, अनि स्वास्थ्य रहौं।   


Sunday, September 10, 2017

लाटीको छोरो ! एउटा उत्कृष्ठ नाटक ।

(नाटक समिक्षा)
धेरै लामो अन्तरल पछि रंगमंचमा गएर नाटक हेर्ने मौका जुरेकोले मण्डला थिएटर अनामनगरमा गएर शनीवार नाटक हेरियो। । श्याम शाहको मुख्य कथालाई सुलक्षण भारतीले नाट्य लेखन(रुपान्तर) तथा निर्देशन गरेर एउटा सुन्दर अनि नाटक प्रेमी दर्शकहरुको हरर्र भएको आँतलाई तृप्त पार्ने गरी नाटक लाटीको छोरो लाई पस्केका छन् भन्दा अत्युक्ति नहोला ।
एउटा पिछडिएको समाजमा बस्ने सोझा बोल्न नसक्ने निरही नगरिकहरु र त्यहि समाजमा बस्ने गन्यमान्य उच्च घराना तथा ठुला ब्यापारी र नेताहरु बिचको विभेद अझ यसलाई समाजमा रहेका उच्च स्तर र निम्न स्तरका मानिसहरु बिचको विभेद, साथै समाजमा बस्ने त्यस्ता तल्लो स्तरका समूदाय माथि समाजका माथिल्लो बर्गले हेर्ने दृष्टिकोण र उनलाई गर्ने असमान व्यवहारलाई प्रस्तुत गरिएको छ नाटक लाटीको छोरोमा ।
नाटकको पृष्ठ भूमिमा देखाईएको परापूर्व काल देखिको एउटा डोम बस्ती जसलाई पछि सुन्दरपुर नामाकरण गरिन्छ। नाम परिवर्तनगरी सुन्दरपुर राखिए पनि त्यस बस्तीमा असुन्दर रहनसहन, असहाय गरिब निमुखा र तल्लो जाती माथि हुने थिचोमिचो अनि सामाजिक, राजनैतिक तथा प्रशासनीक चलखेल नै नाटकको प्रमुख बिषय हो। कथा अनुसार डोम बस्तीबाट पछि बनेको सुन्दरपुर बस्तीमा सुष्तमनस्थिती भएकी लाटी बलात्कारको शिकार हुन्छिन् । कसले बलात्कार गर्यो ? (थाहा पाउन अवश्य नाटक हेर्नुहोला),
लाटी गर्भवती हुन्छे। त्यसपछि प्रशासनिक र राजनैतिक चलखेल पनि सुरुहुन थाल्छ। एक अर्कालाई शंकाको नजरले हेर्न थालिन्छ। समय बित्दै जादा बिस्तारै बलात्कार कसले गर्यो भन्ने रहश्य पनि खुल्दै जान्छ । समय पुगेपछि लाटीले छोरो जन्माउछिन् । छोरो ठ्याक्कै, …. सँग अनुहार मिल्छ । को सँग मिल्छ ? (नाटक हेर्नु पर्छ थाहा पाउन), यसरी लाटी लाई कसले बलात्कार गर्यो ? वास्तविक दोषि को हो ? रहस्य खुलेपछि के हुन्छ ? थाहा पाउन उत्सुक हुनुहुन्छ भने मण्डला थिएटरमा गएर अवश्य हेर्नुहोला, नाटक लाटीको छोरो .नाटक निकै राम्रोसँग उनिएको छ, साथै रोचक प्रस्तुतिले नाटक अवधिभरी दर्शकहरुको ओठमा मन्दमुस्कन रोकिन पाउदैन 
नाटकमा सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ । निर्देशकले पनि समाजको एउटा साधारण तर गम्भिर बिषयलाई हलुका हास्य रसमा घोलेर उत्कृष्ट नाटक
दर्शक माझ पस्किएको कुरा कुनै कन्चुस्याई नगरी स्विकार्न सकिन्छ ।
नाटकको अर्को आकर्षक पक्ष हो बरिष्ठ कलाकार टिका पहारीको यसै नाटक मार्फत ३०औ बर्ष पछि रंगमंचमा Comeback हुनु पनि हो । नाटक लाटीको छोरो मा बरिष्ठ कलाकार टिका पहारीले एउटा प्रमुख अनि महत्वपूर्ण भूमिकामा उत्कृष्ठ अभिनय गर्नु भएको छ । साथै  अन्य कलाकारहरुमा हुनु हुन्छ,  पशुपति राई, रामप्रसाद शर्मा, सन्दिप पौडेल, कुन्दन थारु, कुशल पाण्डे, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले लगायतको भूमिका रहेको छ। नाटक ’लाटीको छोरो’ असोज
८ गते सम्म हरेक दिन साझ ५ः३० बजे मञ्चन भैरहेको छ (प्रत्यक सोमबार बाहेक)  

Friday, September 8, 2017

जो चोर उसैको ठुलो स्वर !

दशैं अफरको सहुलियत तथा ठुलो छुट दिने भन्दै प्रचार गर्ने तर उपभोक्तालाई भने अत्याधिक मूल्य लिएर राजधानीका अधिकांश पसलहरुले वास्तविक मुल्य भन्दा अत्यधिक मुल्य वृद्धि गरेर पछि ठुलो छुट दिएर Sale को नाममा सामानहरु बिक्रि गर्ने गरेको छ ।यसरी ठुलो चाड पर्वहरुमा व्यापारीहरुले अत्याधिक छुट दिईने प्रचार गरेर समान बिक्रि गरेर सर्व साधारणलाई धेरै पहिले देखिनै ठगी गर्दै आइरहेका छन्।   
यस्तै राजधानीको दरवार मार्गमा अवस्थित केहि ठुला ब्रान्डेड तथा अन्तराष्ट्रिय
ब्राण्डका सामानहरु मात्रै बिक्रि गर्ने पसलहरुले छुट तथा Sale को नाममा उपभोक्ताहरुलाई ठगी गरेको आरोप विगतमा पनि लग्ने गरेको थियो र त्यो तेसै सेलाएर जान्थ्यो । तर अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले त्यस्तो कालोबजारी गरिरहेको सूचना पाएको आधारमा आफ्नो नेतृत्वमा आकस्मिक अनुगमन गरेर उपभोक्ता ठगी गरेको प्रमाण भेटिएका पसलहरुलाई शिलबन्दी गरेका थिए। त्यसरी सामानहरुको वास्तविक मुल्य
भन्दा अत्यधिक बढी मुल्य असुलेर ठगी गर्नेमा राजधानीको दरवारमार्गमा खुलेका अन्तरराष्ट्रिय ब्राण्डका सामानहरु बेच्ने पसलहरु स्टोर-वान, ब्रेन्टली, पुमा र नाइके सिहितका पसलहरु हुन्। ति पसलहरुमा मन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता ठगी गरेको प्रमाण सहित फेला पारेपछि  शिलबन्दी गरेका थिए।
कुनै पनि सामानको वास्तविक खरिद मूल्यमा २० प्रतिशत सम्म नाफा लिएर समान
बिक्रि गर्न पाइने कानूनी व्यवस्था रहेको भएता पनि ती पसलहरुले वास्तविक मूल्यको ११ औँ गुणा भन्दा बढी मूल्य लिएर समान बिक्रि गरेको भेटिएको, अनुगमन टोलीका अनुसार ती पसलहरुमा बिल बीजक नभएको, वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको हो । ती पसलले ४ हजार ७ सय रुपैँयामा खरिद गरेको जुत्ता २६ हजार ९ सय ९० रुपैँयामा बिक्री गरेको र दुई हजार ६ सयको सामान २६ हजारमा बिक्री
गरेको फेला पारेको थियो ।ले आपूर्ति मन्त्रि मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले शिलबन्दी गरेको थियो। ती पसलहरुले रु.४७००/ पर्ने जुत्ताको रु. २६९९०/ मूल्य राखेर बेचेको भेटिएको थियो।  
त्यसरी छापा मारेको विरोधमा दरबारमार्गको ब्यापारीहरुको संघ दरबारमार्ग बिकाश समिति बोर्डले दशैंको मुखमा पसल बन्द गरेर सरकारको कार्यको विरोध गरेका  छन् । अझ यसलाई बिरोध भन्दा पनि ठग्न पाउनु पर्छ, ठग्नु हाम्रो अधिकार हो भन्ने कुरा सरकारलाई सुझाउन खोजेका होलान। यस्तै हो भने त् संबिधान मै ब्यापारीले उपभोक्ताहरुलाई ठग्न पाउने कुराको व्यवस्था गर्दा सबै भन्दा उचित हुन्थ्यो। कि कसो ?   
हामी नेपालीहरुको कस्तो बिडम्वना, ठगी गर्ने, भ्रष्टाचार गर्ने, चोरी गर्ने, लुटपाट गर्ने कुरा मौलिक अधिकार जस्तै ठान्छन, त्यस्ता कुकृत गर्ने व्यक्ति, अझ टोलीहरू भन्दा बेश होला। के यो सहि हो त्? के ब्यापारीहरुले आम उपभोक्ताहरुलाई ठग्न पाउनु पर्ने नै हो त्? 
आम नागरिक तथा उपभोक्ताहरु यस कुरालाई स्विकार्छन त्? आपूर्ति मन्त्रि ज्युले गर्नुभएको कार्य सहि हो कि होइन त् ? सरकारले अब के गर्नु पर्यो त् ? कि ब्यापारीलाई त्यसरी नै ठग्न दिनु पर्यो त्?
पाठक बृन्दहरुले पनि यस सम्बन्धमा आफ्नो अमुल्य विचार उल्लेख गरिदिनु होला?