Sunday, June 25, 2017

मान्छे मार्ने लाइसन ... ! मात्र रु.१० लाख ।

सुन्दा वा पढ्दा, अचम्म लाग्ला ! तर कुरा सत्य हो, तपाई अहिले जो कोहि मान्छेलाई मार्न सक्नु हुन्छ। तर त्यसकोलागि नेपाली दश लाख रुपैया सम्म चाहि आफुसंग हुनुपर्छ । अनि तपाई मान्छे मर्ने लाइसन प्राप्त गर्न सक्नु हुने छ। हजुर, मान्छे मार्ने लाइसन नै हो, र तपाई मान्छे नै मार्न सक्नुहुने छ। यसमा प्रहरी प्रसाशनको समेत बैधानिक अनुमति प्राप्त हुनेछ। यो कुरा बिलकुलै सत्य हो, तर तपाईसँग तुरुन्त दिनलाई बढीमा नेपाली १० लाख रुपैया चाही हुनै पर्छ । माथिको वाक्यहरु पढेर अचम्म लाग्यो होला ? पत्याउनु भएन होला ? मनमा गालीगलौच समेत फुर्यो होला यस्तो नचाहिने कुरा पनि गर्ने भन्दै केहि अपशब्द समेत उच्चारण गर्नु भयो होला। यस्तो वाहियात हुनै नसक्ने कुरा पनि लेख्ने भन्ने लग्यो होला ? फेरी कतै प्रहरी प्रसाशनले पनि नागरिक मार्ने अनुमति दिन्छ त् ? कस्तो अपत्यारिलो कुरा ? आदि कुराहरु हाई भोल्टेजको साथ जो कोहीको मन मष्तिस्क आउन सक्छ प्रश्न बनेर, तर यसमा अचम्म मान्नु पर्दैन, रिसाउनु पनि पर्दैन कुरा एकदम सत्य हो र वास्तविक कुरो बुझेपछि सायद तपाईहरुलाई पनि यस्तै लाग्न सक्छ।
यहाँ उल्लेख गरेझै मान्छे मर्ने अनुमति प्राप्त गर्न तपाईलाई केहि कुराहरुको चाहि अत्यावश्यक नै हुन्छ:
१. ड्राइभिङ्ग लाइसन ।
२. भाडाको माइक्रो बस, मिनिबस, बस, समान बोक्ने वा समान ढुवानी गर्ने ट्रीपर, ट्रक, मिनिट्रक जस्ता सवारीसाधनको          चालक हुनु पर्छ ।
३. सवारी चालकहरुको समिति वा  भाडाको गाडी व्यवशायी समितिको सदस्य हुँदा चाहि अत्युतम हुन्छ।
४. कुनै राष्ट्रिय स्तरको राजनीतिक दलको भात्रिसंगठनको सदस्य हुनुभयो भनेत कसैले छुनै सक्तैनन्।
माथि उल्लेख गरिएका ति सामान्य कुराहरु सबै तपाईले पुरा गर्नु भएको छ भने तपाई निर्धक्क सँग मान्छे मार्न सक्नु हुन्छ।माथिका सबै कुराहरु तपाई सँग छन् भने तपाइसँग पैसा नभए पनि फरक चाही पर्दैन। तपाइले मान्छे मारेपनि तपाई आबद्ध संगठनले तपाईको जिम्मेवारी लिएर पिडितको आफन्तलाई तपाइको तर्फबाट दिनुपर्ने रकम समेत दिन्छ र तपाइले मान्छे मारेको दोषबाट मुक्ति दिलाई दिन्छ।
फेरी भन्नु भयो होला, …! तपाइको दिमागमा झ्वाट्ट आउन सक्छ, …! तपाइको मुख पनि फतफतायो होला,…! गालीगलौच निस्किन पनि सक्छ,…! तर जे भएनी कुरो चाही सहि नै हो है।
हो, तपाई सजिलै जोकोहीलाई मार्न सक्नुहुने छ। अझै पत्याउनु भएको छैन वा अचम्म लागिरहेछ ? कि कुरा प्रष्टसँग बुझिसक्नु भएन ? बुझिसक्नु भएको भए ठिकै छ, होइन भने, अलिक कुरालाई सरल पर्छु। तपाई हामी सबै मध्ये कतिले प्रत्यक्ष देख्नु भएको समेत होला, कतिले पत्र पत्रिका तथा समाचार आदी पढेर सुनेर वा हेरेर थाहा पाउनु भएको होला, अझ कतिले त् आफन्त साथीभाई र इष्टमित्रले भनेर समेत थाहा पाउनु भएको होला।
कुरा केहि दिन अगाडीको हो, भरखरै सवारी चालकहरुले  सवारीसाधन चलाउदा कडाईका साथ् ट्राफिक नियम पालन गर्नु पर्ने कुरा लागु गरेसंगै यात्रुहरुले पनि बाटोमा हिड्दा ट्राफिक नियको उल्लङ्घन गर्न नपाइने र उल्लङ्घन गरेको भेटिएमा जरिवाना तिराउनाका साथै कैदको सजाय पनि व्यहोर्नु पर्ने नियम लागु भएको लगत्तै जेब्रा क्रसिङ्गबाट बाटो काटिरहेकी युवतीलाई यात्रुवाहक बसले ठक्कर दिएर मारिदियो। अझ प्रत्यक्ष दर्सिका अनुसार त् बसले त्यसरी ठक्कर दिएपछि पनि नारोक्कीयी बिच सडक मा बज्रिन पुगेकी युवतीलाई कुल्चियेरै बस अगाडी बढेको थियो रे। यसरी युवतीको घटना स्थलमै मृत्यु भएको थियो। त्यस्तै बालाजु माछापोखरी एरिया छेउछाउमै एकजना उपसचिव ज्यु श्रीमती सहित बिहान हिडिरहेको समयमा गाडीले ठक्कर दिएर लडाई दियो बिचार त्यस्तो चोट लागेको थिएन श्रीमती ज्युले केहि भएको छैन भन्दा भन्दै त्यो गाडीले ब्याक गरेर आएर किचेर मारिदियो भने श्रीमतीलाई समेत गम्भीर अवस्थामा पुरयाई दियो। यस्तै काभ्रेको बनेपा बजारमा पनि ट्रीपरले मोटरसाईकल चालकलाई टाउको मै किचेर मारिदियो। त्यस्तै यी दुर्घटनाहरु भएको केहि महिना अघि मात्रै दुइ महिलाहरु सवार भएको एउटा स्कुटरलाई मिनी ट्रकले ठक्कर दिदा स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको थियो। यस्ता दुर्घटनाहरु भइ रहन्छन र दुर्घटना कुनै योजना बनाएर हुदैन, यो एक्कासी हुन्छ, यदी सवारी साधन चलाउदा वा यात्रुको रुपमा सडक किनारा हिड्दा अथवा बाटो क्रस गर्दा चनाखो भएर उचितरूपमा ट्राफिक नियम पालन गरेनौ भने। तर कहिले कहिँ आफु सहि हुदाहुदै पनि यस्तो दुर्घटनामा ज्यान समेत धेरैले गुमाएका छन्।  माथिका उल्लेख गरिएका दुर्घटनाहरु यस्तै केहि उदाहरणहरु हुन्। यस्ता धेरै दुर्घटनाहरु छन् जुन यहाँ उल्लेख गर्न लग्यो भने निकै लामो लेख बन्न पुग्छ, त्यसैले यहाँ भर्खरै भएका दुर्घटनाहरु मात्रै उल्लेख गरिएको छ। माथि उल्लेख भएका दुर्घटनाहरुमा स्पष्ट रुपमा गाडी चालकको गल्तीले भएको तथा सानो चोटपटक मात्रै लाग्दा समेत चालकले पछि ब्याक गरेर वा गाडीको ठक्करले लडेकालाई सिधै ज्यानै जानेगरी किचेर मारिदिने गर्छन। त्यसरी मरेपछि चालक पुलिस चौकीमा सरण लिन पुग्छन चालकहरु। अनि त्यहाँ शुरु हुन्छ, दुर्घटनामा मृत्यु हुनेको मोलमोलाई, बढीमा १० लाख घटीमा ५ लाख अझ सके त्योभन्दा पनि कम। यदि मृतकका आफन्तले सके बढ्छ मुल्य, होइन भने घट्छ। यसरी दुवै पक्ष मिलाउने कार्य सम्बन्धित पुलिस चौकीले गरेको हुन्छ। कुरा मिले पछि चालकको तर्फबाट तिर्नु पर्ने क्षति पूर्ति वापतको रकम निज आबद्ध भएको यातायात व्यवसायी संगठनले तिरिदिन्छ। यसरी जानाजानी नियतबस नै  गाडीले किचेर मान्छे मर्दा (Attempt to Murder)समेत बिना कुनै सजाय, बिना कुनै व्यक्तिगत खर्च वाइज्जत छुटकारा पाइन्छ भने, त्यसलाई के भन्ने त् ? होइन त् त्यो मान्छे मर्ने लाइसन ?
के यो ठिक हो त् ? के यसले दुर्घटनालाई झन् प्रोत्साहित गर्दैन र ? यसरी पनि कतै दुर्घटनामा नियन्त्रण हुन्छ त् ?
जानाजानी नियतबस, जो कसैले पनि आफुले चलाएको सवारी साधनले त्यसरी किचेर मान्छे मर्छ भने त्यसलाई सोहि अनुसारको कुनै बिकल्प बिना कडा भन्दा कडा सजाय दिने व्यवस्था मिलाउनु पर्छ, केहि नभएपनि आजिवन सर्वस्व सहितको कारावास सजाय त् हुनुनै पर्छ। तर साँच्चिकै दुर्घटना भएकोमा निष्पक्ष छानबिन गरि कारवाही अगाडी बढाउनु पर्दछ। नत्र अहिले भइरहेको अराजकताले झनै बिकराल रुप लिन सक्ने कुरालाई नकार्न सकिदैन र त्यसले दुर्घटनाको नाममा हत्या जस्तो जघन्य अपराध मौलाउने सम्भावनालाई समेत नकार्न सकिदैन।  अतः यस्तो कुराहरुलाई सम्बन्धित निकायले समेत समयमै बुझेर भएको कानुनलाई अझ प्रभावकारी बनाउनु पर्छ, नभए समयानुकुल नियम कानून बनाउदै सोहि अनुसार प्रभावकारी रुपमा कार्वान्वयन गर्ने र कारवाहीको प्रकृयालाई समेत सोहि रुपमा अगाडी बढाउनु पर्छ।  यस कुरालाई सबै पक्षले सहि रुपमा मनन गरि व्यवहारमा उतार्न सके सायद भविष्यमा कसैको पनि आफन्तले अकालमा मृत्युवरण गर्नु पर्ने थिएन। 
(व्यंग) 





No comments: