Thursday, November 1, 2018

तनाव रहित , स्वास्थ्य जीवन - दैनिक १५/२० मिनेट हिडडुल !

हीजोआजको जीवनशैली तथा खानपानको कारण हामीमा अनेकौ रोगहरु देखा पर्न थालेका छन्। अहिलेको ब्यस्त जिन्दगीमा हामीले आफ्नै स्वास्थ्यको राम्रोसँग देखभाल गर्न सकेका छैनौ अझ भन्दा देखभाल गर्दैनौ। यसैको कारण सानो उमेरमै बिभिन्न किसिमका गम्भिर प्रकृतिका रोगहरु लाग्न थालेको छ, जस्तै: अनावश्यक रुपमा मोटाउनु, डायबेटिज,अस्थामा,स्टोन,क्यान्सर तथा मुटु सम्बन्धि बिभिन्न रोगहरु । यदि दैनिक योग अभ्यास गर्ने, दैनिक एक्सरसाइज गर्ने अथवा दैनिक हिड्डुल गर्ने हो भनेपनि तेस्त रोगहरुबाट जोगिन सकिन्छ। तर त्यसको लागि पनि समय दिन सकिदैन भने, कमसेकम, खाना खाई सकेपछि १५/२० मिनेट जति हिड्यौ भने पनि यस्ता गम्भिर रोगहरुबाट बच्न सकिन्छ । त्यसरी स्वास्थ्य हुनुका साथै चुस्त तन्दुरुस्त हुने र फिट एण्ड फाइन रहन सकिन्छ।  भोजन गरिसकेपछि  दैनिक १५/२० मिनेट जति हिड्डुल गर्दा निम्न फाइदाहरु हुन्छन्:   
शरीर मोटाउने तथा तौल नियन्त्रण गर्छ : 
यदि खाना खाएपछि केही समय हिड्डुल गरिन्छ भने त्यसले अनावश्यक रुपमा शरीर मोटाउने कार्यलाई नियन्त्रण गरेर शरीरलाई चुस्त तथा फिट बनाउन सहयोग गर्दछ। यसरी हिड्दुल गर्दा हामीले खाएको खान सजिलो सँग चाडैनै डाईजेष्ट हुन्छ । यसो हुदा शरीरले आवश्यक उर्जा तुरुन्तै प्राप्त गर्छ र शारीरका हरेक अंगले आ-आफ्नो कार्य सुचारु रुपले गर्न थाल्छन। तर खाना खान साथ त्यतिकै बस्ने वा सुत्ने मानिसहरुको शरीरमा बोसो लाग्ने र अनावश्यक रुपमा तौल समेत बृद्धि हुन्छ। त्यसैले खानाखाई सकेपछि केही समय १५/२० मिनेट जति हिड्डुल गर्ने बानी बसालौं।  
तनाव हटाउछ : 
खाना खानेबितिकै काम गर्न थाल्दा शरीर तथा दिमाग दुवैमा प्रतिकुल प्रभाव पर्न जान्छ र कामको
बोझले गर्दा अनावश्यक रुपमा रिस उठ्ने, तनाव बढ्ने तथा निराश हुने (डिप्रेशन) जस्तो समस्या देखिन्छ। तर खाना खाएर केही समय हिड्डुल गर्ने गर्दा, अनावश्यक रुपमा रिस पनि उठ्दैन, रिस माथि नियन्त्रण गर्न सकिन्छ र अनावश्यक तनाव समेत हुन् दिदैन। त्यसैले काम गर्ने क्रममा कुनै कारण बस रिस उठेको खण्डमा गरिरहेको काम छोडेर केहि समय हिड्डुल गर्नाले उठेको रिस नियन्त्रण हुनुको साथै मस्तिष्क शान्त हुन्छ र पुनः सम्पूर्ण उर्जा लगाएर काम गर्न सकिन्छ। 
निन्द्रा राम्रोसँग लाग्छ :
राती खाना खानासाथ सुत्ने बानी स्वास्थ्यको लागि एकदमै हानीकारक हुन्छ। खाना खाएको कम्तिमा दुई घण्टा पछि मात्रै सुत्नु पर्छ र सकिन्छ भने खाना खाएर १५/२० मिनेट हिड्डुल गर्ने बानी बसालौ,  यसले राती राम्रोसँग निन्द्रा लाग्छ। 
खाना राम्रोसँग पचाउन मदत गर्दछ :
खाना खाने बितिकै सुत्ने, बसेर TV हेर्ने बानीले खाएको खाना राम्रोसँग पच्न पाउदैन र त्यसले पेटमा अनावश्यक ग्यास बन्न थाल्छ। पाचन क्षमत कमजोर वा ठिक नभएका व्यक्तिहरुमा मुख भित्र घाऊ उछ्रिने, अपच भएर पेट ढुस्स हुने, कब्जियत हुने, उल्टी हुने आदी शारीरिक समस्या देखिन्छ। त्यसैले यस्ता समस्याहरुको अचुक तथा उत्तम उपाय वा औषधि भनेको नै खाना खाएर केहि समय १५/२० मिनेट जति हिड्डुल गर्नु हो। 
हृदय तथा सुगर रोगमा फाइदा :
खाना खाने बितिकै हिड्डुल गर्नाले शरीर मात्रै  तन्दुरुस्त हुने नभई हाम्रो शरीरको प्रमुख अंग मुटु (हृदय) समेत स्वास्थ्य र तन्दुरुस्त रहन्छ। यसरी खाना खाएपछि हिड्डुल गर्दा ब्लडप्रेसर तथा कोलस्ट्रोल समेत नियन्त्रण हुन्छ। अझ सुगरका रोगीहरुले यसरी खाना खाएर अनिवार्य रुपमा केही समय हिड्डुल गर्नु पर्छ र यसरी हिड्दा हातहरु झट्काल्दै हिड्ने गर्दा बढी फाइदा हुन्छ। यस्तो गर्नाले शरीरले क्यालोरी बर्न गर्ने र खाना समेत सजिलै पच्दछ। 
अतः विचार गरौं, खाना खाने बितिकै सुत्ने बानी छ वा खाएर TV हेर्ने बानी छ भने सावधान ! आफ्नो बानीलाई केहि परिवर्तन गर्ने प्रयास गरौँ, यसले हाम्रो स्वास्थ्यलाई निकै फाइदा हुन्छ। त्यसैले आउनुहोस, खाना खाएर केहि समय १५/२० मिनेट जति हिड्डुल गर्ने बानी बसालौं र स्वास्थ्य रहौं। 


Friday, October 26, 2018

मेलम्ची ! आयो कि क्या हो ?

(ब्यङ्ग) - किशोर खत्री 
यो लेख सँगै चारवटा(मात्रै) फोटोहरु पनि छन्। लेख पढ्नु भन्दा अगाडी तिनै फोटोहरु राम्रो सँग हेर्नुहोला। … हेर्नु भयो ? अब भन्नुहोस् कस्तो लग्यो ?… सायद, उत्तर दिनुहोला, राम्रो वा नराम्रो भनेर। तर मैले सुन्न चाहेको वा सबैलाई सुनाउन चाहेको उत्तर चाँही त्यो होइन। यो फोटोमा देखाइएको दृश्य त्यस्तो अमूल्य वा दुर्लभ चाही होइन है, यस्ता  दृश्यहरु काठमाडौँको बिभिन्न स्थानहरुमा जताततै देख्न सकिन्छ। तपाईहरु पनि फोटो खिच्न सौकिन हुनुहुन्छ भने काठमाडौँको कुनै पनि प्रमुख मार्गहरुमा नै सजिलै यस्ता फोटो खिच्ने दृश्य भेटाईन्छन्।
आर्को मुख्य झुक्किन नहुने कुरा पनि छ, त्यो हो यो फोटोहरु वर्षा ऋतुमा खिचिएको होइन नि, फेरी फोटो हेरेर झुक्किनु होला। यो बिशुद्ध अहिले भर्खर खिचिएका फोटोहरु हुन्। यी फोटोहरु देखेर कतिले हिलाम्मे बाटो तथा खोला, नदीनाला,  ताल हो कि सडक हो छुट्याउन नसकेर आफ्नो मोटरसाइकल वा स्कुटरबाट झ्वाम्म हाम्फालेर(लडेर) पछि उठ्दा आफैले आफुलाई नचिन्ने अवस्थामा देखिएर वरिपरिका बटुवाहरु समेत गलल्ल हासेको पनि सम्झिनु भयो होला। आफ्नो कुनै काम बिशेषले निस्कदा बचेखुचेको सानो यसो टेकेर हिड्न सम्म मिल्ने फुटपाथमा समेत हाम्रै सहर/समाज तथा छर छिमेकमा रातारात उम्रिएका स्वघोषित सम्भ्रान्त व्यक्तिहरुले हिलो लाग्लाकी भनेर आफ्नो मुल्यवान सवारी साधनहरु(गाडीको त् कुरै छोडौ मोटर साइकल समेत) पार्क गरेर राख्दा हतारमा हिड्न नसकेर यसो हिलो छल्दै हिड्ने प्रयास गर्दा ल्वात्त हिलोमा खुट्टा गाडिदा होस् वा हिलोमा टेक्न खोज्दा प्लित्त चिप्लेर लड्दा अनि आफ्नो अवस्था देखेर वरिपरिका पदयात्रीहरु गलल्ल हासेको पनि त् सम्झनु भयो होला। हजुर हो, यो तपाई हाम्रो वरिपरिकै बटोहरुको फोटोहरु हुन्।
आहा ! यस्तो रमाइलो, शरद ऋतुको मध्यमा, हिलो धुलो केहि नदेखिनु पर्ने मौसममा, फेरी आकाशबाट पानी समेत नपरेको अवस्थामा, सहरको प्रमुख बाटोहरुमा ताल सरी पानी जमेको, वास्तविक खोलानालाहरु ढलमा परिणत भएको वर्तमान समयमा मोटर गाडी कुद्ने सडक बाटोमा खोला नदीनालामा जस्तै सङ्ग्लो पानी बगिरहेको र रोपाई गर्न मिल्ने हिलाम्मे बाटो देख्दा कसको मन नरमाऊला र ? त्यो दृश्यले त्, लाग्छ अब चाही मेलम्चीको पानी राजधानी छिरेको जस्तो, अनि उ बेलामा काठमाडौँको सडक पखाल्ने कुरो भएको अब साकार भएको महसुस हुन्छ। हास्नु त् भएन नी, अब अरुलाई गालीगलौच गर्नु भन्दा त् यसरी पनि हास्दा उचित नै होला नि होइन र ?    ,
हामी सानो सानो कुरामा पनि खुब रमाउछौँ, खुसी हुन्छौ, किनकी हामी नेपाली हौँ, जोसुकैले जेसुकै गरेपनि हामीलाई मतलब छैन, हामी आफुमाथि भएको थिचोमिचो, अन्याय सबै सहन सक्छौं, अनि हामीलाई त्यस्ता सबै कुराको ज्ञान छ, एकापसमा कुरा गर्न सक्छौ, एकापसमा बसेर खुब बिरोध पनि गर्छौ, तर सम्बन्धित निकाय र अधिकारीहरु तथा नेताहरुलाई के भन्न सक्दैनौ किनकि हामी स्वाभिमानी नेपाली हौँ। हामी नेता अभिनेता सबैले जेसुकै भनेपनि वास्ता गर्दैनौ किनकि हामी स्वावलम्बी नेपाली हौँ। तेसैले त् एउटा छिमेकी देखि जोसुकैले जेसुकै जसरि जे गरेपनि जस्तो सुकै थिचोमिचो गरेपनि  हामी सहन सक्छौं, किनकी हामी सहनशिल लगनशिल इमान्दार नेपाली हौँ।
तेसैले त्, राजधानीको बिभिन्न स्थानहरुमा खानेपानीको पाइप लीक भएर प्रमुख स्थानको सडक बाटोहरु पोखरीमा परिणत हुँदा तथा खोला बगेको जस्तरी पानी बगेर खेर जाँदा समेत कसैलाई मतलब छैन। कतै नागरिकहरुले दैनिक उपभोग गर्ने पानी बगेर खेर गैरहेको छ भने कतै खाने पानीको पाइप लीक भएर सडक बाटो धान रोप्न मिल्ने खेत जस्तो भएको छ। यस्तो अवस्था भैसक्दा समेत सम्बन्धित निकाय लाई कुनै चासो छैन। न खानेपानीले त्यसरी खेर गैरहेको पानी नियन्त्रण गर्ने प्रयास गरेको भेटिन्छ, न स्थानीय निकायले त्यसलाई व्यवस्थित गर्न चासो लिएको भेटिन्छ, ननै स्थानि नागरिकहरु लागिपरेको देखिन्छ। तेसैले अब प्रश्न तेर्सिन्छ कसले के गर्ने भन्ने? उत्तर पनि सजिलै आउँछ,सम्बन्धित निकायले गर्ने। सम्बन्धित निकाय कुन भनेर सोधखोज गर्दै जादा उसले उसलाई, उसले उसलाई दोसारोपण गर्दै आफ्नो जिम्मेवारी अरुलाई मात्रै थोपर्छन र समस्या जस्ताको तस्तै।
केहि समय अगाडी सडक बाटोमा भएका त्यस्ता खाल्डा खुल्डीको कारण धेरै दुर्घटनाहरु भएको हुँदा सडक बाटोको खाल्डा खुल्डी पुर्ने सम्याउने जस्तो उर्दी समेत जारी नभएको चाही होइन, तर समस्या ज्युका त्युँ।
के भयो ? कसरी भयो ? के गर्ने ? कसले गर्ने ? किन गर्ने ? सबैलाई सबै कुरा थाहा छ र पनि सबै चेतनहिन, विवेकहीन झैँ मौन छन्। … भने, अब म मात्रै कति कम्पुटरको कि-बोर्डको कि-हरु औलाहरुले थिचेर दुख गरीरहने ? म पनि रोक्छु अब दुख गर्न, व्यर्थको मलाई मात्रै के को टन टन ……. !!

Wednesday, June 27, 2018

World Cup फुटबल प्रतियोगिता - बिगत र वर्तमान !

World Cup याने बिश्वकप फुटबल प्रतियोगिता हुने दिनहरुको हरेक संस्करणमा बिश्व भरीका फुटबल प्रेमीहरुको कौतुहल, उत्सुकता अनि व्यग्रताको साथ पर्खाई हुने गर्दछ।  प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुने बिश्व कप फुटबल प्रतियोगिता बिश्व भरिका मनिषहरुको प्रिय प्रतियोगिता भन्दा फरक नपर्ला । के बालक के बृद्ध सबैले उत्तिकै उत्साहको साथ हेर्ने खेल हो यो बिश्व कप फुटबल प्रतियोगिता। हुनत, टेक्नोलोजीको  बिकाश संगै अहिले घर घरमा बसेर यूरोप लगायतको मुलुकहरुमा आयोजना हुने उच्च क्लब स्तरीय लिग फुटबल प्रतियोगिताहरु हेर्ने गरेका छौ। यूरोपका केहि राष्ट्रहरुमा हुने बिश्व स्तरिय लिग फुटबल प्रतियोगिता हरुमा  English Premiere League, Spainish Liga, Germany Bundesliga त्यस्तै Serie A निकै चर्चित र उच्च स्तरीय तथा निकै ठुलो धनराशीको लेनदेन हुने प्रतियोगिता हो। यी राष्ट्रहरुको लिग फुटबलमा बिश्व भरिका नामचलेका स्टार खेलाडीहरु सम्मिलित भएका हुन्छन। यस्तो उच्चस्तरिय फुटबल खेलहरु टेलिभिजन मार्फत प्रत्यक्ष रुपमा हेर्ने गरेको भएता पनि प्रत्येक चार बर्षमा आयोजना हुने बिश्व कप फुटबल प्रतियोगिताको छुट्टै बिशेष महत्व तथा आकर्षण ब्याप्त छ बिश्व भरिका फुटबल प्रेमीहरु बिचमा।
फ्रान्सका नागरिक, French Football Federation का प्रेसिडेन्ट तथा FIFA को तेस्रो प्रेसिडेन्ट Jules Rimet,को बिशेष सक्रियतामा World Cup फुटबल प्रतियोगिता सन् १९३० को जुलाई १३ देखि ३० सम्म 
पहिलो पल्ट उरुग्वेमा आयोजना भएको थियो। १३ राष्ट्रहरु प्रतिष्पर्धी रहेको सो पहिलो बिश्व कप फुटबल प्रतियोगिताको फाइनल खेल अर्जेन्टिना र उरुग्वे बिच सम्पन्न भएको थियो। बिश्व कपको त्यस ऐतिहासिक प्रतियोगितामा ४ - २ गोलको अन्तरले उरुग्वेले पहिलो ऐतिहासिक बिजय हासिल गरेर प्रतियोगितामा बिजयी भएको थियो।
सन् १९३० देखि १९७० सम्मको बिश्व कप फुटबल प्रतियोगिताको बिजयी राष्ट्रिय टीमलाई प्रदान गरिने Trophy को नाम नै Jules Rimet Trophy राखिएको थियो।  पछि सन् १९७४ देखि बिजयी राष्ट्रलाई प्रदान गरिने Trophy को FIFA World Cup Trophy नामकरण गरिएको थियो।
दोस्रो बिश्व कप फुटबल प्रतियोगिता १९३४ को २७ मे देखि १० जुन सम्म इटाली मा आयोजना गरिएको थियो। यसपाली प्रतियोगितामा १६ राष्ट्रका टिमहरु सहभागी भएका थिए। जुन प्रतियोगितामा इटालीले चेकोस्लाभिया लाई २ - १ गोल अन्तरले प्रतियोगितामा बिजयी भएको थियो।
तेस्रो बिश्व कप फुटबल प्रतियोगिता १९३८ को ४ जुन देखि १९ जुन सम्म फ्रान्समा आयोजना गरिएको थियो। यस प्रतियोगितामा पनि १६ राष्ट्रका टिमहरु सहभागी भएका थिए। जुन प्रतियोगितामा इटालीले हंगेरीलाई ४ - २ गोल अन्तरले प्रतियोगितामा बिजयी भएको थियो।
चौथो बिश्व कप फुटबल प्रतियोगिता १९५० को २४ जुन देखि १६ जुलाई सम्म ब्राजिलमा आयोजना
भएको थियो। सन् १९४२ र १९४६ मा दोस्रो बिश्व युद्धको कारण बिश्व कप फुटबल प्रतियोगिता हुनसकेको थिएन। ब्राजिलमा आयोजित यस प्रतियोगितामा पनि १६ राष्ट्रका टिमहरु सहभागी भएका थिए। जुन प्रतियोगितामा पहिलो बिश्व कप बिजेयता उरुग्वेले आयोजक राष्ट्र ब्राजिललाई २ - १ गोल अन्तरले प्रतियोगितामा बिजयी भएको थियो।
पाचौं बिश्व कप फुटबल प्रतियोगिता १९५४ को १६ जुन देखि ४ जुलाई सम्म स्विटजरल्याण्डमा आयोजना भएको थियो। यस प्रतियोगितामा १६ राष्ट्रका टिमहरु सहभागी भएका थिए। पश्चिम जर्मनीले हंगेरीलाई ३ - २ गोल अन्तरले जितेर बिजयी भएको थियो। तर समूह चरणको खेलमा हंगेरीले पश्चिम जर्मनीलाई ८ गोल गरेको थियो भने ३ गोल खाएको थियो। त्यस्तै क्वाटर फाइनल खेलमा ब्राजीललाई ४ - २ गोलले जितेको थियो भने सोही  गोल अन्तरले सेमी-फाइनलमा उरुग्वेलाई समेत जितेर फाइनल पुगेको थियो।
छैठौ बिश्व कप फुटबल प्रतियोगिता १९५८ को ८ देखि २९ जुन सम्म स्विडेनमा आयोजना भएको थियो। यस
प्रतियोगितामा १६ राष्ट्रका टिमहरु सहभागी भएका थिए। यसै बिश्व कप फुटबल प्रतियोगिताबाट त्यस समय देखि हाल सम्म पनि उत्तिकै चर्चित, फुटबल खेलका लिजेण्ड खेलाडी १७ बर्षको सानो उमेरमै पेलेको उदय भएको थियो। जसको नाममा बिश्व कप फुटबल खेलसंग सम्बन्धित थुप्रै रेकर्डहरु रहेको छ। ब्राजिलले आयोजक राष्ट्र स्विडेनलाई ५ - २ गोल अन्तरले हराएर फाइनल खेल जितेको थियो। यस प्रतियोगितामा पेलेले ६ गोल गरेका थिए। ग्रुप खेलमा सोभियतसंघ संगको अन्तिम खेलमा मात्रै खेल्न पाएका पेलेले त्यस खेलमा कुनै गोल गर्न सकेका थिएनन्, तर उसको बल कन्ट्रोल र ड्रीबिलिंग पावर निकै उत्कृष्ट थियो। त्यसैले गर्दा  Wales बिरुद्ध क्वाटर-फाइनल खेलमा उनलाई खेलाईएको थियो र त्यस खेलमा ब्राजिलको लागि पेलेले नै एक मात्र बिजयी
गोल समेत गरे। त्यस खेल पछि पेलेको खेल कौशलको चौतर्फि तारिफ हुन थाल्यो। पेलेले आफ्नो खेल कौशलको तरिफलाई त्यसै खेरजान दिएनन्। फ्रान्स बिरुद्ध खेलिएको सेमी-फाइनल खेलमा समेत पेलेले ३ गोल गरेर ह्याट्रिक गरेका थिए र सो प्रतियोगितामा ५ - २ गोल अन्तरले ब्राजिल बिजयी भएको थियो। त्यस्तै फाइनल खेल आयोजक स्विडेन संग भएको थियो र पेलेले २ गोल गरेका थिए। 
सातौं बिश्व कप फुटबल प्रतियोगिता १९६२ को ३० मे देखि १७ जुन सम्म चिलिमा आयोजना भएको थियो। यो सातौं बिश्व कप फुटबल प्रतियोगिता हिम्सात्मक तथा खराब Atmosphere को कारण ठुलो बदनाम भएको थियो। ब्राजिलले चेकोस्कोलोभाकियालाई ३ - १ गोल अन्तरले जितेर लगातार दोस्रोपटक बिजयी भएको थियो।
आठौँ बिश्व कप फुटबल प्रतियोगिता १९६६ को ११ देखि ३० जुलाई सम्म England मा आयोजना भएको थियो। यस बिश्व कप फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक राष्ट्र England ले पश्चिम जर्मनीलाई ४ - २ गोल अन्तरले हराएको थियो। त्यस्तै यो प्रतियोगितामा दुई नवप्रवेशी राष्ट्रहरु यूरोपबाट पोर्चुगल तथा एशियाबाट उतर कोरिया सहभागी भएका थिए।  पोर्चुगल सेमी-फाइनलमा पुगेर England संग पराजित भएको थियो। त्यस बिश्व कप प्रतियोगितामा तेस्रो भएको थियो। त्यस्तै एशिया महादेशको प्रतिनिधित्व गर्दै बिश्व कपमा पहिलो चोटी सहभागी भएको उतर कोरिया आफ्नो समूह चरणको खेलमा इटाली जस्तो शक्तिशाली टिमलाई जितेर क्वाटर-फाइनल सम्म पुग्न सफल भएको थियो। यसै बिश्व कपमा ब्राजिल समूह चरणबाट अगाडी बढ्न सकेको थिएन । यो बिश्व कपको सबैभन्दा महत्वपूर्ण घटना हो बिश्व कप ट्रफी चोरी हुनु, ट्रफी प्रदर्शनी गर्ने क्रममा चोरी भएको थियो। पछि खोजीको क्रममा Pickles भन्ने कुकुरले मार्च १९६६ मा लण्डनको झाडीमा पत्रिकाले बेरेर राखेको अवस्थामा भेटाएको थियो।
नवौं बिश्व कप फुटबल प्रतियोगिता १९७० को ३१ मे देखि २१ जुन सम्म मेक्सिकोमा आयोजना भएको थियो।
आफ्नो सबै खेलमा बिजयी हुदै फाइनल पुगेको ब्राजिलले २ पटक प्रतियोगिता जितिसकेको इटालीलाई ४ - १ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक प्रतियोगिता जितेर ब्राजिलले बिश्व कप फुटबल प्रतियोगिताको  Jules Rimet Trophy स्थाई रुपमा जितेको थियो।  तर पछि फेरी यो ट्रफी १९ डिसेम्बर १९८३ मा चोरी भएको थियो र आजको मिति सम्म पनि यो भेटिएको छैन। धेरै पछि ओरिजिनल ट्रफीको ओरिजिनल बेस मात्रै भेटिएको थियो।
दशौँ बिश्व कप फुटबल प्रतियोगिता १९७४ को १३ जुन देखि ७ जुलाई सम्म पश्चिम जर्मनीमा आयोजना
भएको थियो। यस बिश्व कप फुटबल प्रतियोगितामा पहिलो पटक दोस्रो चरणको खेलहरु समुहगत रुपमा खेलाइएको थियो। पहिलो चरणमा प्रत्येक समूहको बिजेता र उपविजेता ८ राष्ट्रको टोलीहरुलाई दुई समूहमा विभाजान गरि लीग खेल खेलाइएको थियो र दुवै समूहका बिजयी टोलीहरु फाइनल खेलका लागि छनौट भएका थिए। सोही आधारमा पश्चिम जर्मनी र नेदरल्याण्ड बीच ७ जुलाई १९७४ का  दिन खेलिएको फाइनल खेलमा पश्चिम जर्मनीले नेदरल्याण्डलाई २ - १ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक बिश्व कप फुटबल प्रतियोगिता जितेको थियो। यसै बिश्व कप प्रतियोगितामा पहिलो पटक  FIFA World Cup Trophy प्रतियोगिताको बिजयी राष्ट्रिय टोलीलाई प्रदान गरिन थालेको हो। अहिले सम्म पनि निरन्तर बिश्व कप फुटबल प्रतियोगिताको बिजयी राष्ट्रलाई सोहि Trophy प्रदान गरिदै आएको छ।
एघारौं बिश्व कप फुटबल प्रतियोगिता १९७८ को १ देखि
२५ जुन सम्म अर्जेन्टिनामा आयोजना भएको थियो। यो बिश्व कप फुटबल प्रतियोगितामा पनि दसौं बिश्व कपमा जस्तै दोस्रो चरणको खेलहरु समुहगत रुपमा लीग खेलाइएको थियो।  त्यसै अनुसार आयोजक राष्ट्र अर्जेन्टिना र नेदरल्याण्ड बीच २५ जुन १९७८ का  दिन फाइनल भएको थियो र त्यसमा अर्जेन्टिनाले नेदरल्याण्डलाई ३ - १ गोल अन्तरले पराजित गर्दै पहिलो पटक बिश्व कप फुटबल प्रतियोगिता जितेको थियो।
बाह्रौ बिश्व कप फुटबल प्रतियोगिता १९८२ को १३ जुन देखि ११ जुलाई सम्म स्पेनमा आयोजना भएको थियो। यस बिश्व कप फुटबल प्रतियोगिता देखि फाइनल राउन्डमा २४ राष्ट्रका टोलीहरु सहभागी भएका थिए। २४ टोलीलाई ४ राष्ट्र सम्मिलित ६ वटा ग्रुप बनाएर पहिलो चरणको लीग खेल खेलाइएको थियो। पहिलो चरणको खेलमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने १२ वटा टिमहरुलाई दोस्रो चरणको खेलमा सहभागी गराइयो।  १२ टोलीलाई ३ राष्ट्र समिलित ४ समूह बनाएर लीग खेल खेलाइयो र प्रत्येक समूहबाट प्रथम हुने ४ राष्ट्रहरु बिच सेमी-फाइनल खेलाएर सेमी-फाइनलका बिजयी दुई टिमहरु बीच फाइनल खेल  ११ जुलाई १९८२ मा सम्पन्न भएको थियो। जसमा इटालीले पश्चिम जर्मनीलाई ३ - १ गोल अन्तरले जितेर  कुल तीन पटक बिश्व कप प्रतियोगितामा बिजयी भएको थियो।
तेह्रौ बिश्व कप फुटबल प्रतियोगिता १९८६ को ३१ मे देखि २९ जुन सम्म मेक्सिकोमा आयोजना भएको थियो।
हुन् त् यो प्रतियोगिता कोलम्बियाले आयोजना गर्ने मौका पाएको थियो।  आर्थिक कारणले गर्दा  कोलम्बियाले प्रतियोगिता आयोजना गर्न नसक्ने भएपछि मेक्सिकोले प्रतियोगिता आयोजना गर्ने मौका पाएको थियो। यस बिश्व कप फुटबल प्रतियोगितामा फाइनल राउन्डमा सहभागी २४ राष्ट्रका टोलीहरु ४ राष्ट्र सम्मिलित ६ वटा ग्रुप बनाएर पहिलो चरणको लीग खेल खेलाइएको थियो। यसरी पहिलो चरणको खेलबाट प्रत्येक समूहको पहिलो र दोस्रो हुने १२ वटा टिमहरु तथा ६ टोली मध्ये तेस्रो हुने उत्कृष्ट ४ टोलीलाई समेत सम्मिलित गराई १६ टोलीलाई नक्आउटको आधारमा प्रि - क्वाटर फाइनल खेल खेलाइएको थियो। यसरी प्रि-क्वाटर फाइनल, क्वाटर फाइनल, सेमि-फाइनल र फाइनल खेल खेलाइएको थियो।  जसमा अर्जेन्टिनाले
पश्चिम जर्मनीलाई ३ - २ गोल अन्तरले जितेर  दोस्रो पटक बिश्व कप प्रतियोगितामा बिजयी भएको थियो। यसै बिश्व कप प्रतियोगितामा अर्जेन्टिनाका डिएगो माराडोनाले आफ्नो राष्ट्रको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। England संग भएको क्वाटर फाइनल खेलमा माराडोनाले हाफ-टाइम पछिको खेलमा दुई गोल गरेका थिए, पहिलो गोल, जुन वास्तबमा माराडोनाले हातले गोल गरेका थिए। रेफ्रिले ह्याण्ड नदेख्दा त्यस गोललाई इतिहासमै Hand of God को नामले प्रख्यात हुनपुगेको थियो, जुन अहिले सम्म कायमै छ। त्यस्तै सोहि खेलमा माराडोनाले खेल मैदानको सेन्टरबाट England का पाँच खेलाडीहरुलाई छलाऊदै गरेको दोस्रो गोल,जसलाई सन् २००२ मा FIFA Website द्वारा गरिएको Votingसर्वेक्षणबाट  Goal of the Century को उपनाम समेत दिइएको थियो। यसै प्रतियोगिताबाट माराडोना बिश्व विख्यात भएका थिए।
चौधौं बिश्व कप फुटबल प्रतियोगिता १९९० को ८ जुन देखि ८ जुलाई सम्म इटालीमा आयोजना भएको थियो। यस बिश्व कप फुटबल प्रतियोगिता देखि फाइनल राउन्डमा सम्मिलित २४ राष्ट्रका टोलीहरु बीच ४ राष्ट्र सम्मिलित ६ वटा ग्रुप बनाएर पहिलो चरणको लीग खेल खेलाइएको थियो। त्यस्तै प्रत्येक समूहको पहिलो र दोस्रो हुने १२ वटा टिमहरु तथा तेस्रो हुने उत्कृष्ट ४ राष्ट्रका टोलीलाई समिलित गराई १६ राष्ट्रका टोलीहरु बीच १९८६ को बिश्व कप झैँ प्रि - क्वाटर फाइनल खेल खेलाइएको थियो। यसरी नै बिजयी राष्ट्रको टोलीहरुलाई
क्वाटर फाइनल, सेमि-फाइनल खेल हुदै फाइनल खेला पश्चिम जर्मनी र अर्जेन्टिनाको बीच भएको थियो।जसमा अर्जेन्टिनालाई पश्चिम जर्मनीले १ - ० गोल अन्तरले जितेर  तेस्रो पटक बिश्व कप प्रतियोगितामा  बिजयी भएको थियो।
पन्ध्रौ बिश्व कप फुटबल प्रतियोगिता १९९४ को १७ जुन देखि १७ जुलाई सम्म अमेरिकामा आयोजना भएको  थियो। यस बिश्व कप फुटबल प्रतियोगिता पनि चौधौँ बिश्व कप फुटबल प्रतियोगिताको जस्तै खेलाइएको थियो । बिश्व कप प्रतियोगिताको इतिहासमा सबै भन्दा धेरै दर्शकहरुले हेरेको प्रतियोगिता नै यही भएको छ, आजसम्म पनि, यस प्रतियोगिता अवधिमा औसत दर्शक संख्या ६९००० रहेको छ। यस बिश्व कप प्रतियोगिताको फाइनल खेल ब्राजिल र इटाली बीच भएको थियो। ९० मिनेटको पुरा खेल अवधि र ३० मिनेटको थप खेल अवधिमा समेत गोलरहित बराबरी भएपछि पेनाल्टी हानिएको थियो। जसमा ब्राजिलले ३ - २ गोल अन्तरले इटालीलाई हराएर चौंथो पटक बिजयी भएको थियो।
सोह्रौँ बिश्व कप फुटबल प्रतियोगिता १९९८  को १० जुन देखि १२ जुलाई सम्म दोस्रो पटक फ्रान्समा आयोजना भएको  थियो। यस बिश्व कप फुटबल प्रतियोगिताबाट ३२ राष्ट्रका टोलीहरुले फाइनल राउण्डमा प्रतिष्पर्धा
गरेका थिए। आयोजक राष्ट्र फ्रान्स तथा अघिल्लो बिश्व कप फुटबल प्रतियोगिताको बिजयी राष्ट्र बीच फाइनल खेल सम्पन्न भएको थियो। जसमा ३ - ० गोल अन्तरले आयोजक राष्ट्र फ्रान्स पहिलो पटक बिश्व कप फुटबल प्रतियोगितामा बिजयी भएको थियो।
सत्रौँ बिश्व कप फुटबल प्रतियोगिता पहिलो पल्ट एसिया महादेशमा सम्पन्न भएको थियो। ब्राजिलले आफुले खेलेका सबै खेलहरुमा बिजयी हुदै, ३० जुन २००२ मा जापानमा सम्पन्न भएको फाइनल खेलमा पनि २ - ० गोल अन्तरले जर्मनीलाई पराजित गर्दै ब्राजिल ५ औँ पल्ट बिश्व कप फुटबल प्रतियोगितामा बिजयी भएको थियो।  २००२ को ३१ में  देखि ३० जुन सम्म दक्षिण कोरिया र जापानले बिश्व कप फुटबल प्रतियोगिता सफलता पूर्वक आयोजना गरेका थिए। यस बिश्व कप फुटबल प्रतियोगितामा इतिहासमै पहिलो पल्ट कुनै एसियाली राष्ट्र सेमी-फाइनल सम्म पुगेको थियो। दुवै आयोजक राष्ट्रहरु जापान र दक्षिण कोरिया समूह बिजयी भएर दोस्रो चरणको प्रि-क्वाटर फाइनलमा पुगेका थिए। जापान प्रि-क्वाटर फाइनलमा टर्की सँग १ - ० गोल अन्तरले पराजित भएर प्रतियोगिताबाट बाहिरियो भने दक्षिण कोरियाले चमत्कारीक खेलको प्रदर्शन गर्दै प्रि-क्वाटर फाइनलमा इटाली जस्तो फुटबल खेलको महाशक्ति राष्ट्रलाई २ - १ गोल अन्तरले पराजित गरेको थियो। ९० मिनेटसम्म १ - १ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको खेलको १७औं मिनेटमा १ गोल थपेको थियो। त्यस्तै क्वाटर-फाइनलमा यूरोप महादेशको अर्को फुटबल खेलको महाशक्ति राष्ट्र स्पेनलाई पेनाल्टी सूट आउटमा ५ - ३ गोल अन्तरले पराजित गरेको थियो। पहिलो ९० मिनेटसम्म कुनै गोल हुन् नसकेकोले थपिएको अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै गोल नभए पछि खेल ट्राई-बेकारमा पुगेको थियो।  जसमा दक्षिण कोरिया ५ गोल गर्न सफल भयो भने स्पेनले ३ गोल मात्र गर्न सक्यो। आफ्नो चमत्कारी खेल प्रदर्शन गर्दै सेमी-फाइनलमा जर्मनीलाई समेत आच्छु आच्छु परेको थियो दक्षिण कोरियाले। ठुलो संघर्ष पछि जर्मनीले ७५ औँ मिनेटमा गरेको गोलबाट पराजित भएको थियो, त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा टर्की संग ३ - २ गोल अन्तरले पराजित भएको थियो दक्षिण कोरिया।
अठारौँ बिश्व कप फुटबल प्रतियोगिता २००६ को ९ जुन देखि ९ जुलाई सम्म जर्मनीमा आयोजना भएको  थियो।
यस बिश्व कप फुटबल प्रतियोगितामा सम्मिलित ३२ राष्ट्रका टोलीहरु मध्ये इटाली र फ्रान्स बीच ९ जुलाई २००६ मा फाइनल खेल सम्पन्न भएको थियो।  पहिलो ९० मिनेटको खेल १ - १ गोलको बराबरीमा समाप्त भएकोले अतिरिक्त थप गरिएको ३० मिनेटको खेलमा कुनै गोल हुन् नसकी हारजितको निर्णय हुन् नसकेको कारण खेलको निर्णय पेनाल्टी सूट-आउटबाट भएको थियो। जसमा इटालीले ५ गोल र फ्रान्सले ३ गोल मात्रै गरेको थियो। यसरी इटाली अठारौँ बिश्व कप फुटबल प्रतियोगिता समेत गरी चौंथो पटक प्रतियोगितामा बिजयी भएको थियो।
उन्नाइसौं बिश्व कप फुटबल प्रतियोगिता २०१० को ११ जुन देखि ११ जुलाई सम्म दक्षिण अफ्रिकामा  आयोजना भएको  थियो। यस बिश्व कप फुटबल प्रतियोगितामा स्पेन र नेदरल्याण्ड बीच ११ जुलाई २०१० मा  फाइनल खेल सम्पन्न भएको थियो। फाइनल खेलको पहिलो ९० मिनेट सम्म दुवै तर्फबाट कुनै गोल हुन् नसकेकोले थप गरिएको ३० मिनेट अतिरिक्त समयको ११६ मिनेटको खेलमा गोल गर्दै स्पेन उन्नाइसौं बिश्व कप फुटबल प्रतियोगितामा बिजयी भएको थियो।
बिसौं बिश्व कप फुटबल प्रतियोगिता २०१४ को १२ जुन देखि १३ जुलाई सम्म ब्राजिलमा आयोजना भएको  थियो। १३ जुलाई २०१४ मा जर्मनी र अर्जेन्टिना बीच फाइनल खेल सम्पन्न भएको थियो। फाइनल खेलमा   पहिलो ९० मिनेट सम्म दुवै तर्फबाट कुनै गोल नभएकोले थप गरिएको अतिरिक्त ३० मिनेट समयको ११३  औँ मिनेटमा गोल गर्दै जर्मनीले बिसौं बिश्व कप फुटबल प्रतियोगितामा बिजयी भएको थियो। यस विजय संगै जर्मनीले चौंथो पटक बिश्व कप फुटबल प्रतियोगिता जितेको थियो।
एक्काईसौं बिश्व कप फुटबल प्रतियोगिता २०१८ को १४ जुन देखि १५ जुलाई सम्म रुसमा आयोजना भइरहेको छ । १५ जुलाई २०१८ मा फाइनल खेल सम्पन्न हुने छ । यस बिश्व कप फुटबल प्रतियोगितामा 14.२ Billion US$  खर्च हुने अनुमान गरिएको छ। 

Saturday, June 23, 2018

SEE 2074/2075 को नतिजा (Result)Grade Sheet सहित हेर्नुहोस ।

आज शनीबार, साँझ SEE 2074 को नतिजा (Result) प्रकाशित भएको छ। बिहानै देखि नतिजा प्रकाशित हुने खबरले नतिजा कुरेर बसेका सम्पूर्ण विध्यार्थीहरु लगाएत उनीहरुका अभिभावकहरु कतिबेला प्रकाशित हुने भनि निकै ब्याकुलताको साथ् प्रतिक्षारत थिए। तर प्राविधिक समस्याले गर्दा आज शनीवार साँझ मात्रै नतिजा सार्वजनिक हुन् सक्यो।
SEE रेगुलर परिक्षामा ४५१५३२ बिध्यार्थीहरु सामेल भएका थिए। त्यसमध्ये निम्न अनुशरको संख्यामा बिध्यार्थीहरु उतिर्ण भएका छन्।
Grade               No. of Success Students
A+                     14,243
A                       46,130
B+                     59,037
B                       70,512
C+                     61,870
C                       100,043
D+                    35,000
D                      58,688
SEE को रिजल्ट ग्रेड सिट सहित हेर्नको लागि तल दिइएको कुनै Website मा गएर click गर्नुहोस र दिएको निर्देशन अनुसार आफ्नो ग्रेड सिट सहितको रिजल्ट हेर्नुहोला।
www.soce.gov.np  (Education Controller Office).

Friday, March 23, 2018

यहाँ किन यस्तै भै रहन्छ त?

२०७२ सालको महाभूकम्प पछि, भएपनि नभएपनि पुनर्निर्माणको कुरा खुब भैरहेको छ। यो हामी सबै
नेपालीहरुलाई विदितै भएको हुनुपर्दछ। तर, कहाँ के कति पुनर्निमार्णको कार्यहरु भए भैरहेका छन् वा भएकै छैन यो कुराको ज्ञान पनि हामी सबैलाई भएकै हुनुपर्छ ।
त्यस्तै देशको राजधानि लगाएतका बिभिन्न शहर तथा ठाउंहरुका सडक/बाटहरु साँघुरो भयो भनेर सडक बाटोहरु ठुलो बनाउने कार्य समेत बिगत लामो समय देखि भैरहेको छ। यसरी सडक बाटोको स्तर बृद्धि लगायत फराकिलो बनाउने र देश बिकाशको नाममा कसले के गरे, कसले कति दुखः कष्ट भोगे त्यो पनि हामी सबैलाई थाहानै छ। यसरी सडक बाटो बनाउने शिलशिलामा काठमाडौँको नाम नै बदलिएर धुलोमान्डू समेत नामकरण हुनगएको सर्वविदित नै छ।  धुलोले शहर बजार लगाएत जनस्वास्थ्य (बिशेष गरी श्वासप्रश्वास क्रिया) मा कति नराम्रो असर परेको छ भन्ने तथ्य देखिन थालेको छ भने भविष्यमा अझ त्यसको बिकराल रुपमा प्रकोप देखिने कुरालाई हामी सबै नगरबासीहरु
व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौ भन्दा अत्युक्ति नहोला ? नगरबासीहरु ले यसरी आफ्नो अमुल्य स्वास्थ्यको आहुती दिएको अवस्थामा समेत सडक बाटो निर्माण सम्पन्न हुन अझै कति समय कुर्नु पर्ने हो ? त्यस कुराको समेत हामी सबैलाई ज्ञान भएकै हुनुपर्दछ।    
यसरीनै, राष्ट्रिय गौरबको आयोजना मध्येको एउटा प्रमुख हो मेलम्चीको पनि काठमाडौँमा ल्याएर काठमाडौँ बासीलाई बितरण गर्ने। यो झन्डै दुई दशक अगाडीको आयोजना पनि अब भर्खर पुरा होला होला जस्तो सम्म भएको कुरा पनि सबैलाई विदितै छ। यस कार्यमा कति बजेट सकियो भन्दा पनि सर्वसाधारण जनताले कति धुलो र सास्ति खानु परिरहेको छ, त्यो पनि सबैलाई छार्लंगई भएको छ।  अझै पनि काकाकूल काठमाडौँ बासीहरु कहिले मेलाम्चिको पानी आउला भनेर कुरिरहेका छन्, भने सरकार काम फत्ते गर्न लागिपरेको छ र आजै आउछ भोली आउछ, कहिले आउछ भन्न सकिरहेको छैन। अहिले, के कति आवश्यक काम बाँकी छ ? कहिले सम्ममा काम सम्पन्न हुन्छ, त्यस बारे हामी सबै जान्न ब्याकुल भैरहेका छौ भन्दा केहि अत्युक्ति नहोला ?
पहिले सडक बाटो मात्रै सानो/साँघुरो भएको थियो रे, अहिले घरघरबाट निस्कने ढलको निकास समेत सानो
भएको छ, के यसकुरको हेक्का सडक बाटोको स्तर उन्नति गर्ने  क्रममा हुनसक्दैन थियो र? अब फेरी ढल सुध्रीढीकारण/क्षमता विस्तार गर्ने निहुमा  पुनः फेरी नागरिकहरुले दुख पाइरहेका छन।
पहिले सडक विस्तार गर्ने क्रममा फराकिलो बनाइ तयार भएपछिको चउडा सडकमा रहर पुग्नेगरी हिडेको, गाडी गुडेको पनि थिएन, मेलम्चिको पाइप विक्षाउन, करोडौ खर्च गरेर बनाएको सडक खनेर पाइप राख्ने काम सुरु भयो। मेलम्चिको पाइप राख्ने काम
पुरा हुनपनि पाएको थिएन, ढल सुध्रिढीकारण तथा स्तर उन्नति गर्ने निहुमा फेरी करोडौ खर्च गरेर हालेको मेलम्चिको पाइप ठाउँ ठाउमा टुटाउने फुटाउने कार्य भयो।यति मात्र नभएर महिनौ अगाडी देखि ढलको स्तर उन्नति गर्ने निहुमा स्थानीयहरुको घर घरमा पुग्ने खाने पानीको पाइप टुटाउने फुटाउने चुडाउने कार्य समेत भएको छ र त्यस्तो ठाउमा पानी ढलमा बगेर खेर गैरहेको छ, भने स्थानीय बासीहरु अहिलेको सुख्खा याममा सातामा एकपटक आउने खानेपानीबाट समेत बन्चित हुन पुगेका छन् र यो क्रम कहिले सम्म निरन्तर हुने हो कुनै ठेगाना समेत कसै
संग छैन, दैनिक भैरहेको कामको गति देख्दा । यसको साथै पुनः करोडौ खर्च गरेर मेलम्चिको पाइप फेर्नुको बिकल्प छैन। यसरी अब मेलम्चिको पानी खान पाइने भयो भन्ने बेलामा फेरी पाइप हाल्ने काम दोहराउनु  पर्ने अवस्था आइपरेको छ, भने कति स्थानियहरुको जोड़ीराखेको खानेपानीको पाइप समेत तहस नहस भएकोले त्यो समेत पुनः जडान गराउनु पर्ने भएको छ ।
 दैनिक उपभोगको लागि अतिआवश्यक पानी समेत खान, उपभोग गर्न पाएक छैनन् र अझै कति दिन सम्म नपाउने हुन् अत्तो पत्तो छैन। यसको साथै काममा भएको ढिलासुस्तीले गर्दा स्थानीय बासीहरुलाई दैनिक आवत जावत गर्न समेत अप्ठ्यारो भैरहेको छ, भने बेला बेलामा ढल हाल्न खनेको खाडलमा मान्छेनै खस्ने, कहिले कही मोटरबाइक सहित चालक समेत खस्ने जस्तो दुर्घटना समेत दैनिक भैरहेको छ। यसरी ज्यूज्यान लगाएत धनजनको समेत क्षति भइरहेको छ।
माथि उल्लेख गरिएका काम कुराहरु पूर्व योजना बिना कार्यान्वयन  गरिएकोले नै घटेका हुन्। अतः कसैले पनि

केहि कार्य शुरु गर्नु पूर्व, के गर्ने, केको लागि गर्ने, किन गर्ने र कसरी गर्ने यो कुराको राम्रो ज्ञान हुनै पर्दछ र यसको लागि सम्बन्धित बिषय, त्यससँग सम्बन्धित पक्षहरुमा समेत राम्रो अध्ययन पनि गर्नु पर्ने हुन्छ। यसले काम गर्दा त्यसबाट हुने सकारात्मक नकारात्मक दुवै पक्षको जानकारी हुन्छ, के कस्तो असर पर्छ र त्यसको तत्काल समाधान कसरी गर्ने, के गरि गर्ने जस्ता कुराको समेत ज्ञान हुने भएकोले काम गर्दा हुनसक्ने हानी नोक्सानीको जोखिम समेत न्यूनिकरण गर्न सकिन्छ। अब यस्ता कुराहरुको ज्ञान सबैलाई नै छ, तर पनि, किन सधै हामी कहाँ  जहिले पनि गैर जिम्मेवारी काम मात्रै भईरहन्छ ? उपरोक्त कुराहरुलाई  देशको कुन निकायको, कुन ओहदाका अधिकारीहरुले हेर्ने, बुझ्ने हो ? अनि हामी सर्वसाधारण नागरिकहरुले यस्ता कुराहरुको कुनै चिन्ता नलिई आनन्दसँग कहिले बस्न पाउने हो त् ? सुधार हुन्छ कि हुदैन, कि यहाँ संधै यस्तै भै रहन्छ त ?