Sunday, October 29, 2017

भ्रष्टाचार तथा चरम लापरवाहीको नमुना।

गये राती देशको राजधानी लगायत बिभिन्न स्थानमा असिनाको साथै  भएको भिषण बर्षाले ठाउँ ठाउमा ठुलो नोक्सानी समेत पुर्याएको छ। कति ठाउमा काट्न तयार अवस्थाको धान बालीलाई समेत क्षति पुर्याको खबर छ।
त्यस्तै काठमाडौँको गौशालामा अवस्थित भण्डारखालको पश्चिम पट्टि सडक संगै दुई महिना अगाडी मात्रै निर्माण सम्पन्न गरिएको पर्खाल पनि सोहि बर्षाले भत्किएको खबर आएको छ। भत्किएको पर्खालमा एउटा ट्याक्सी तथा दुइवटा सुमो जीप पुरिएका छन्। त्यो पर्खाल भत्किएको ठाउमा गएर अवलोकन गर्ने हो भने त्यो दुर्घटना कम्जोर तथा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरि मापडण्ड बिपरित निर्माण सम्पन्न गरिएको कारण नै भत्किएको कुरा प्रष्टैसँग बुझ्न सकिन्छ। तर पर्खाल भत्किनुको कारक बन्यो अघिल्लो दिनको असिना सहित परेको भिषण वर्षा।  
पशुपति बिकाश कोषको हातामा रहेको सार्वजनिक जग्गामा पार्क बनाउन भिरालो तथा ढिस्कोलाई जग्गालाई सम्याएर त्यसलाई सुरक्षित पारी छेक्ने कार्यको लागि ठेकेदारलाई बनाउने जिम्मा दिएकोमा दुई महिना अगाडी निर्माण सम्पन्न गरिएको त्यो पर्खाल गएराती परेको असिना पानीले भत्किएको खबर बिभिन्न पत्र पत्रिकामा समेत छापिएका छन्।  यसरी मापडण्ड बिपरित निर्माण सम्पन्न गरिएको दुई महिना नपुग्दै भत्किएको पर्खाल र त्यसबाट भएको क्षतिको जिम्मेवारी कसले लिने ? गाडीको त् इन्सुरेन्स कम्पनीले ब्यहोर्ला, तर निर्माण कार्य लगाएत त्यको सुपरभिजनमा सम्बन्धित निकाय तथा
अधिकारीहरुबाट भएको चरम लापरवाही तथा कमिशनको खेलले गर्दा भएको आर्थिक क्षतिको जिम्मेवारी कसको हो त् ? सरकारी लगानीमा हुने निर्माण कार्यमा हुने लापरवाहीको उदाहरण यो मात्र एउटा होइन। तर भएका त्यस्ता लापरवाही तथा भ्रष्टाचारको घटनामा दोषीमाथि कारवाही नभएकै कारण बारम्बार यस्ता घटनाहरु दोहरिरहने भएकोले समयमै दोषीलाई कडा भन्दा कडा उचित कारवाही तथा दण्ड सजाय हुनुपर्छ, होइन भने भविष्यमा यस्ता घटना तथा दुर्घटना हरु बारम्बार दोहरिरहने छन्।  

Monday, October 9, 2017

नेपाली चलचित्रको इतिहास र छक्क पन्जा २ !

- किशोर खत्री 
नेपाली फिल्मको इतिहास खोतल्दा, खास्सै भन्ने हो भने भारतीय नेपालीहरुले बनाएको नेपाली चलचित्र सत्य हरिशचन्द्र (प्रथम प्रदर्शन १४ सेप्टेम्बर १९५१ मा कोलकत्तामा भएको थियो) लाई छोड्ने हो भने, आमा (प्रथम प्रदर्शन ७ अक्टोबर १९६४) लाई पहिलो नेपाली चलचित्र मान्न सकिन्छ। यो चलचित्रमा कलाकार देखि प्राविधिकहरु सबै प्रायः नेपाली नै थिए। त्यसको झन्डै २ बर्ष पछि (१९६६को अन्त तिर) भारतमा बस्ने नेपालीहरुको  निजी लगानीमा निर्माण भएको बि.एस. थापा द्वारा निर्देशित चलचित्रमाइतीघर  लाई नै पहिलो निजी लगानिमा निर्माण भएको नेपाली चलचित्र मानिन्छ।
यस चलचित्रमा कलाकार लगाएत प्राविधिकहरु समेत प्रायः भारतीयहरु नै थिए। जुन चलचित्र व्यवशायिक रुपमा समेत खुबै सफल भएको थियो। १९७१ मा चलचित्र बिकाश बोर्ड (तत्कालिन शाही नेपाल चलचित्र संस्थान) को स्थापना पश्चात सरकारी लगानिमा सूचना बिभाग, नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) ले स्व. हीरा सिंह खत्रीको निर्देशनमा निर्माण गरेको नेपाली चलचित्र मनको बाँध  १९७३ मा प्रदर्शन भयो। त्यस्तै १९७८ मा नेपाली चलचित्र   कुमारी  को प्रदर्शन भयो। कुमारी नेपाली चलचित्रको इतिहासमा पहिलो रंगीन चलचित्र थियो। त्यस भन्दा अगाडी निर्माण भएका सबै चलचित्रहरु श्याम स्वेत (Black & White) थिए। यसरी नेपाली चलचित्रको इतिहास केलाउदा, सन् १९५१ देखि १९७० सम्म २ दशकमा जम्मा जम्मी ८ वटा मात्रै नेपाली चलचित्रहरु  निर्माण भएको भेटिन्छ।
नेपाली चलचित्रको बिकाशको क्रममा १९८० को दशकलाई नेपाली चलचित्रको स्वर्णिम युग मानिन्छ। त्यस दश बर्षको अवधिमा २२ वटा नेपाली चलचित्रहरु निर्माण भएका थिए र प्रायः सबै चलचित्रहरुलाई नेपाली दर्शकहरुले खुबै मनपराएका पनि थिए। त्यस बेला निर्माण भएका चलचित्रहरुको गीतसंगीत आजको दिनसम्म पनि त्यतिकै लोकप्रिय छन्, भने त्यस समयको नेपाली समाजमा देखिएका घटना परिघटना नै चलचित्रका प्रमुख बिषय भएकोले पनि चलचित्रहरुलाई दर्शकहरुले खुबै रुचाएको कारण  नै  सबै  व्यवसायिक रुपमा पनि सफल भएका हुन् । फरक यति मात्रै थियो, कुनै चलचित्रले अधिक मुनाफा आर्जन गरे, कुनैले केहि कम मुनाफा कमाए। नेपाली चलचित्रको यस अवधिमा निजी निर्माण कम्पनीहरु पनि धमाधम थपिएका थिए, नेपाली चलचित्र उद्ध्योगमा र राम्रा चलचित्रहरु निर्माण गरे।
यसरी नै १९९०को दशकमा राजनैतिक अस्थिरताले गर्दा चलचित्र निर्माण तथा प्रदर्शनमा केहि अप्ठ्याराहरु र समस्याहरुका बाबजुद थुप्रै नेपाली चलचित्रहरु निर्माण तथा प्रदर्शन भएका थिए । साथै यस अवधिमा निर्माण भएका अधिकांस चलचित्रहरु व्यवशायिक रुपमा  असफल पनि भएका थिए। त्यस अवधिमा १७० वटा जति नेपाली चलचित्र निर्माण भएको देखिन्छ।
त्यस्तै सन् २००० को दशकमा पनि अघिल्लो दशकमा जस्तै थुप्रै नेपाली चलचित्रहरु निर्माण भएका थिए भने केहि चलचित्रलाई छोडी प्रायः सबै चलचित्रहरु असफल भएका थिए। सस्ता र C ग्रेडका अश्लिल भारतीय चलचित्रहरुको नक्कल गर्दै थुप्रै नेपाली चलचित्रहरु निर्माण भए, जसले नेपाली चलचित्र प्रेमी दर्शकहरुमा नेपाली चलचित्र प्रति बितृष्णा नै ल्याइदियो। यसले नेपाली
चलचित्र हेर्ने दर्शकहरु स्वाट्टै घटाईदियो  । यहि समयमा ठुला ठुला सपिङ्ग मलहरु निर्माण हुने क्रम बढे संगै स्तरिय लग्जरियस मल्टिप्लेक्स सिनेमा हलहरु थपिदै गए पनि नेपाली चलचित्र हेर्ने दर्शक बढ्न सकेन। तिनै हलहरुमा कुनैपनि भारतीय चलचित्र हेर्ने दर्शकहरुको ठुलो भिड जम्म नहुनेपानी होइन। तर नेपाली चलचित्रहरुले दर्शकहरुलाई आकर्षण गर्नै सकेन। समय समयमा एकाध स्तरिय नेपाली  चलचित्र निर्माण भै प्रदर्शन हुदाँ दर्शकहरुको भीड जम्मा नहुने पनि होइनन। त्यस्ता चलचित्रहरुले व्यवशायिक सफलताका साथै ठुलै मुनाफा पनि  नकामयेका होइनन् । तर त्यस अवधिमा बनेका अधिकांस
चलचित्रहरु स्तरहीन र भारतीय C ग्रेड चलचित्रको फोटो कपी नै जस्तोगरी निर्माण गरेका चलचित्रहरुको कारण हराएका दर्शकहरुलाई नेपाली चलचित्र निर्माता, निर्देशक, प्रमुख कलाकारहरु समेतले नेपाली भएर नेपाली चलचित्र भन्दा भारतीय चलचित्र हेर्छन भन्ने जस्ता कुराहरु फैलाएर नेपालमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाउनु पर्ने जस्ता कुराहरु समेत नल्याएका होइनन्। साथै केहि चलचित्र निर्माता निर्देशकहरुले नेपाली चलचित्र हेरिदिन हारगुहार नगरेका पनि होइनन्। तर नेपाली दर्शकहरु राम्रा र स्तरिय चलचित्र नभई हलमा आउदै आउदैनन थिए। यस्ता कुराहरुले नेपाली चलचित्रसँग सम्बन्धितहरुको मानसिकता कति कम्जोर रहेछ भनेर समेत प्रष्ट्याइ दिएको थियो।
सन् २०१० पछि बिस्तारै नेपाली चलचित्र निर्माणमा चलचित्र सम्बन्धि अध्ययन गरेका प्रतिभाशाली निर्देशक, कलाकार तथा प्राविधिकहरुको प्रवेश हुनाका साथै अत्याधुनिक प्रविधिहरु पनि भित्रिन थाल्यो। त्यसपछि नेपाली चलचित्रको धार पनि बिस्तारै परिवर्तन हुदै यथार्थवादी चलचित्रहरु बन्ने क्रम बढ्न थाले। त्यस पश्चात बनेका केहि चलचित्रहरुले ठुलो सफलताका साथै मुनाफा समेत आर्जन गरे ।
यसरी नेपाली चलचित्र निर्माण बिस्तारै अहिलेको अवस्थामा आइपुगेको छ।  अहिले पनि राम्रा नराम्रा नेपाली चलचित्रहरु निर्माण भैरहेका छन्। नेपालका चलचित्र भवनहरुमा अहिले छक्क पन्जा २ लगाएत अन्य केहि चलचित्रहरु चलिरहेका छन्।
नेपाली चलचित्रको लागी खुसीको कुरा हो अहिले पुनः नेपाली चलचित्र हेर्ने दर्शकहरु ठुलो संख्यामा ह्वात्तै वृद्धि भएको छ। अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्रछक्क पन्जा २ सँग सम्बन्धित सबैलाई हार्दिक बधाई तथा धन्यवाद राम्रो चलचित्र निर्माण गरेको र ठुलो संख्यामा नेपाली दर्शकहरुलाई नेपाली चलचित्र हेर्न हलमा ल्याउनु भएकोमा र चलचित्र निर्माण पक्षमा सर्वसम्पन्न भारतीय चलचित्रलाई समेत व्यवशायिक चुनौती दिदै सफलता हासिल गरेकोमा। यसरी राम्रो र स्तरिय चलचित्र निर्माण हुने हो भने कसैले कसैलाई दोष पनि थुपार्नु पर्दैन र कसैले कसैलाई चलचित्र हेर्न हारगुहार पनि गर्नु पर्दैन।  त्यस्ता राम्रा चलचित्र हेर्न दर्शकहरु आपसे आप हलमा धाउछन् भन्ने कुरा राम्रा नेपाली चलचित्र प्रदर्शन भएको समयमा हामीले देखिरहेका छौं। बरु ध्यान दिनु पर्यो कि यो क्रमलाई निरन्तरता दिन अझ राम्रो र स्तरिय नेपाली चलचित्र निर्माण गरेर निरन्तर अगाडी बढ्न। अनि भोलिको दिनमा अवश्य नेपाली चलचित्रले बिश्व चलचित्र बजारमा पनि धाक जमाउने छ।
अहिले त्यस्ता चलचित्रहरु समेत निर्माण हुन् थालेका छन्, जसले ठुलो बजेट, अत्याधुनिक प्रविधि र विश्व चलचित्र बजारमा आधिपत्य जमाएको भारतीय चलचित्र सँग मुकाविला गरेर व्यापार युद्धमा समेत सफल भएका छन्।  यस्तो चलचित्रको पंक्तिमा अहिले प्रदर्शन भैरहेको नेपाली चलचित्र छक्क पन्जा २ लगाएतका केही नेपाली चलचित्रहरु निर्माण भई प्रदर्शन समेत भैसकेका छन्। अब बस यो क्रमले निरन्तरता पाउनु पर्यो।